कोरोनाको आशंकामा हालसम्म २८९५ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोनाको आशंकामा नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको परीक्षण भएको छ। २ हजार ३ सय ८२ जनाको काठमाडौंमा र ५ सय १३ जनाको उपत्यका बाहिर परीक्षण भएको हो।

कोरोनाको आशंकामा अहिले १ सय ९३ जनाको नमूना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नदेखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

मुलुकभर हाल ७ हजार ९ सय ४० जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। काठमाडौंमा १८ र उपत्यका बाहिर ९९ जनाको आइसोलेसनमा भर्ना भई उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

कैलाली र कञ्चनपुरबाट संकलन गरिएको नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ। हालसम्म परीक्षण भएका ६६ जनाको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले बताए। डडेल्धुरा र बैतडीमा पनि नमूना संकलनका लागि मन्त्रालयले टोली खटाएको छ। मन्त्रालयका अनुसार त्यहाँबाट ४ सय बढीको नमूना संकलन गरिनेछ।

कोरोना परीक्षणका लागि मन्त्रालयले प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) पठाएको छ। बागलुङ, म्याग्दी र पर्वतमा आरडीटी सम्बन्धी तालिम दिएर परीक्षण सुरु गरिएको मन्त्रालयले जनाएको छ।

विराटनगर, जनकपुर, बुटवल, पाटन लगायतमा रियल टाइम पिसिआरको ठुलो मेसिन जडान गर्ने तयारी सुरु भइसकेको प्रवक्ता देवकोटाले  बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *