न्यूज अपडेट

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिकल सामग्री खरिदका जिम्मा अब नेपाली सेनालाई दिने भएको छ।
स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्कयक मेडिकल सामग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो।
सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने बताइएको छ।
के-के सामान किन्ने भन्नेबारेमा अहिले स्वाथ्य मन्त्रालयसँग छलफल भइरहेको सैनिक स्रोतले जानकारी दियो।
सरकारले हालै चीनबाट खरिद गरि ल्याएको मेडिकल सामग्रीमा अनियमतिता भएको भन्दै व्यापक आलोचना भएपछि सेनालाई अघि सारिएको हो।
सम्झौतामा उल्लेख गरेजति सामाग्री नल्याएको र ल्याउने सम्भावना नरहेको भन्दै सरकारले बुधबार ओम्नी ग्रुपको ओबिसिआईसँग सम्झौता रद्ध गरेको थियो।
सम्झौताको सर्वत्र विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिने मिडिया ब्रिफिङमा जानकारी गराएका थिए।
ओम्नी अहिलेसम्म जम्मा १० प्रतिशत सामान सरकारलाई बुझाएको छ।
सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।
सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् ओबिसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो।