३ हजार ६ सयको स्वास्थ्य परीक्षण औद्योगिक क्षेत्र प्रवेश गर्ने सबैको नियमित ज्वरो परीक्षण गरिने

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
हेटौंडा, ९ चैत


उद्योग संघ मकवानपुरले हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत श्रमिक, उद्योगी, स्थानीयलगायत करिब ३ हजार ६ सय जनाको स्वास्थ्य परीक्षण गरेको छ । कोरोना भाइरसको सम्भाव्य संक्रमण न्यूनीकरण गर्न उद्योग संघ मकवानपुरले तीन दिने स्वास्थ्य परीक्षण शिविर गरेको हो । शिविरका क्रममा सामान्य ज्वरोका ८ जना बिरामीलाई अस्पताल भर्ना गर्न सिफारिश गरिएको थियो भने ८ सय जनाभन्दा बढीमा उच्च रक्तचाप भेटिएको थियो ।
अति उच्चरक्तचाप भेटिएका १६ जना बिरामीलाई तत्काल अस्पताल पठाएर आवश्यक उपचार गरिएको शिविरमा सहभागी डा. सागर काफ्लेले जानकारी दिए । शिविरका क्रममा कोरोनाका शंकास्पद् बिरामी नभेटिएको उनले बताए । शिविरमा औद्योगिक क्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई हातधुने तरिका सिकाइ हातधुने, मास्क वितरणका साथै निःशुल्क ज्वरो जाँच, मुटुको पल्स जाँच र प्रेसर जाँच गरिएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताए ।
बीएनपी सपोर्ट सर्भिस प्रालि, हेटौंडा औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालय र सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बलको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा आउनेलाई कोरोनाको संक्रमणबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो । भीडभाड नहुने गरी औद्योगिक क्षेत्रका उद्योगलाई तीन भागमा विभाजन गरी पालैपालो श्रमिक र उद्योगीलाई स्वास्थ्य जाँच गरिएको अध्यक्ष पोखरेलले बताए । शिविरको पहिलो दिन ९ सय, दोस्रो दिन एक हजार १ सय र तेस्रो दिन १ हजार ६ सय जनाको स्वास्थ्य परीक्षण गरिएको पोखरेलले जानकारी दिए ।
हेटौंडा औद्योगिक क्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई शनिवारदेखि ज्वरो परीक्षण गरिएको छ । औद्योगिक क्षेत्र छिर्ने दुई नाकामा सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बलले ज्वरो जाँच गरेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक बिनोद खतिवडाले बताए ।
ज्वरो नापको लागि बीएनपी सपोर्ट सर्भिस प्रालिले सशस्त्र प्रहरीलाई दुई वटा डिजिटल थर्मोमिटर निःशुल्क सहयोग गरेको छ । स्वास्थ्य शिविर सकिएपछि प्रालिका प्रवन्धक पल्लव घिमिरेले सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडालाई थर्मोमिटर हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *