बनेपा, १९ मङ्सिर
सुन्तला राम्रोसँग नफलेको भन्दै काभ्रेपलाञ्चोकका सुन्तला खेती गर्ने किसान चिन्तित भएका छन् । सुन्तलाको फूल फुलेर फल लाग्ने बेलामा झरी पर्नुका साथै असिनाले फल झारेका कारण राम्रो दाना नबसेको किसान बताउँछन् ।
पनौती नगरपालिका–१० शङ्खु थापागाउँका किसान केदारबहादुर थापाले गत वर्षभन्दा यसवर्ष कम फलेको बताए । २०३८ सालदेखि नै सुन्तलाखेती गर्दै आएका उनले वार्षिक पाँच र सात लाखसम्मको सुन्तला बेच्ने गरेको बताए ।
स्याङजाबाट सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक खेती गर्न थालेको उनले २१ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएको छ । गतवर्ष साढे तीन लाखको सुन्तला विक्री गरेको उनले बताए । तीन वर्षअघि साढे छ लाखमा विक्री भएको थियो । यसवर्ष बढी सुन्तला फल्ने वर्ष भए पनि फूल फुलेर दाना लाग्ने बेलामा झरी परेर झारेका कारण कम फलेको बताए ।
उनका अनुसार भूकम्प गएदेखि कम फल्न थालेको सुन्तला कहिले सिँचाइको कमी त कहिले अन्य समस्याले कम फल्न थालेको छ । धेरै जमीनमा खेती गर्नुपरेकाले उनले खेताला लगाएर सुन्तला खेती गरेको छ । फलेको सुन्तला व्यापारीलाई हचुवाको भरमा बोटमा नै बेच्ने गर्दै आएको छ । “यसपाली बेचेको छैन, अब व्यापारी आउने बेला भयो”, उनले भने, “भनेजस्तो भाउ आयो भने व्यापारीलाई दिने हो, नभए आफैँले लानुपर्ला ।”
शङ्खु दाहालटारका अर्का किसान देवमाया दाहालले सुन्तला कम फलेका कारण आम्दानी कम हुने बताए । “यसपाली भाउ कति आउँछ थाहा छैन, तर सुन्तला नै कम फलेका कारण आम्दानी कम हुनेभयो” दाहालले भने । उनले एक रोपनी जग्गामा सुन्तला खेती गरेको छ । पहिला–पहिला ४० र ५० हजारमा बेच्ने गरेको सुन्तला भूकम्पपछि त करीब करीब फल्नै छाडेको उनको भनाइ छ ।
थापागाउँकै अर्का किसान कान्छी थापाले वर्षको एक लाखको हाराहारीमा आम्दानी गर्दै आएकामा यसवर्ष कम हुने बताए । पाँच÷छ रोपनीमा खेती गर्दै आएका उनले फल राम्रो भए पनि कम फलेको बताए ।
शङ्खुको थापागाउँमा मात्रै ३५ र ३६ रोपनी जग्गामा सुन्तलाखेती गर्ने किसान छन् । शङ्खुको दाहालटार, थापागाउँ, मकैटार सुन्थान लगायतका स्थान गरी सो क्षेत्रबाट वार्षिक करीब एक देखि डेढ करोड रुपैयाँसम्मको सुन्तला बेच्ने गरेको किसानहरू बताउँछन् ।
पनौती नगरपालिका कृषि तथा पशुपक्षी शाखाका मणि सापकोटाले भने यसवर्ष सुन्तला राम्रो फलेको बताए । उनका अनुसार जिल्लाका एक हजार ५९७ हेक्टरमा सुन्तला जातको खेती भइरहेकोमा ७५ प्रतिशतखेती पनौती नगरपालिकाभित्र पर्छ । गत वर्ष १२ हजार मेट्रिक टन सुन्तला फलेको र करीब ४५ देखि ५० करोडको कारोवार भएकामा त्यसको १० प्रतिशत मात्रै जिल्लामा खपत हुने र बाँकी बाहिर जिल्लामा निर्यात हुने गरेको सापकोटाले बताए ।
प्रायजसो सुन्तला खेतीमा ऐँजेरुको समस्याले सताएको किसान बताउँछन् । बोटलाई ऐँजेरुले ढाकेपछि फल कम फल्ने गरेको किसान बताउछन् । बेलाबखत लिएको कृषि तालीमको आधारमा खेती गर्दै आएका किसानले नगरपालिका र वडा कार्यालयले खासै चासो नदिएको गुनासो गरेका छन् ।