निर्वाचन वर्गसङ्घर्ष र विचारको लडाइँः नेमकिपा

राजनीति विशेष समाचार समाचार

भक्तपुर, २० कार्तिक


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुँजीवादी व्यवस्थामा हरेक निर्वाचन वर्गसङ्घर्षकै रूप भएको र नेमकिपाले निर्वाचनलाई विचारको सङ्घर्षको रूपमा उपयोग गर्ने बताएको छ । आगामी मंसिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनको सन्दर्भमा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले शासक दलले निर्वाचनमा मादक पदार्थ, भोजभत्तेर खुवाएर जनतालाई झुक्याउनेप्रति कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए ।
उनले सङ्घीय व्यवस्थाबारे आधारभूत ज्ञानसमेत नभएका प्रतिनिधिहरू संसद्मा पुग्दा सङ्घीय व्यवस्था थप भद्रगोल भएको बताए ।
उपनिर्वाचनलाई शासक दलहरूका कुकृत्य जनतासमक्ष पु¥याउने र पुँजीवादी व्यवस्थाका विकृतिबारे जनतासम्म पु¥याउने राजनीतिक अभियानको रूपमा लिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताए ।
लिम्पियाधुराको समस्याबारे नेमकिपाले सरकारलाई समयमै सचेत पार्दै आएको चर्चा गर्दै उनले तिब्बत पुग्ने बाटो भएकोले भारतले सो क्षेत्रलाई रणनीतिकरूपमा लिएको बताए ।
नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विगतका निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनमा शासक दलहरू स्वयम् अघि रहेको बताउँदै जनतालाई भोजभत्तेर खुवाएर, पैसा बाँडेर, सामान बाँडेर चुनाव जित्ने विकृतिका लागि शासक दलहरू दोषी भएको बताए ।
उनले कम्युनिस्ट नाम गरेको वर्तमान नेकपा सरकारले देश र जनताको हितविपरीत गरिरहेको गतिविधिबारे जनतालाई सचेत बनाउने अभियानको रूपमा उपनिर्वाचनलाई उपयोग गर्नुपर्ने बताए।
सांसद सुवालले सरकारी दल र नेताहरूकै संरक्षणमा ११८ अर्ब रुपैयाँ बराबरको ठेक्काको काम अधुरो रहेको र त्यस्ता ठेकेदारमध्ये एक जना नेकपा नेता पुष्पकमल दाहालका घरभेटी रहेको बताए ।
उनले सरकारी कोष लुट्ने ठेकेदार, भ्रष्टाचारी र गुण्डाको चौघेरामा सरकार रहेको स्पष्ट पारे ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले नेमकिपाले प्रदेशसभाभित्र प्रखर प्रतिपक्षको भूमिका खेलिरहेको चर्चा गर्दै प्रदेशसभामा थप एक जना नेकपा र काङ्ग्रेसको सांसद बढ्नुभन्दा प्रखर प्रतिपक्षको भूमिका खेल्नसक्ने नेमकिपाको प्रतिनिधि आवश्यक भएको बताए ।
उनले भ्रष्टाचारी, गुण्डा र ठेकेदारको थप उपस्थितिले केन्द्रको विकृति प्रदेशसम्म पुग्ने भएकोले देश र जनताको पक्षमा लड्ने प्रतिनिधि आवश्यक भएको बताए ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश न। ३ का सांसद सृजना सैंजूले मन्त्री र सांसदको सङ्ख्या बढे पनि देशमा कुनै परिवर्तन हुन नसकेको बताइन् । उनले शासक दलका नेताका दिमागमा अझै पनि सङ्घीयताको मानसिकता पसी नसकेको हुँदा सङ्घीय व्यवस्था अझै भद्रगोल बनेको बताइन्। पदलोलुप र सुविधाभोगी मानिसको प्रभाव बढी हुँदा प्रदेश सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको सैंजूको भनाइ थियो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूको सभापतित्वमा भएको कार्यक्रममा कमला गिरी र मीनबहादुर बाटाले पनि बोलेको थियो ।
भेलाले मंसिर १४ को उपनिर्वाचनको लागि न्हुछेभक्त फोंजूको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा केशवप्रसाद तिमिल्सिना र सचिवमा नारायणवहादुर दुवाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *