‘युक्रेनको काँधमा बन्दुक राखेर संरा अमेरिकाले रुसमाथि आक्रमण गर्दैछ’– अध्यक्ष बिजुक्छेँ

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ४ कात्तिक


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज र ख्वप कलेज अफ लको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान तथा खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा अध्यक्ष बिजुक्छेँले ख्वप कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ नामक बुलेटिनको समेत बिमोचन गरे । अध्यक्ष बिजुक्छेँले युक्रेन र रुसको लडाइँबारे प्रष्ट पार्दै युक्रेनको काँधमा बन्दुक राखेर संरा अमेरिकाले रुसमाथि आक्रमण गरिरहेको बताए ।

नेपालका युवाहरुलाई नियोजित रुपले रोजगारी र अध्ययनको लागि विदेश पठाएर नेपाललाई आर्थिक, राजनैतिक रुपमा कमजोर गर्न साम्राज्यवादीहरु क्रियाशील रहेको बताउँदै उनले नेपाललाई सबै क्षेत्रमा परनिर्भर बनाइ नेपालको अर्थतन्त्र ध्वस्त पार्ने प्रपञ्चमा साम्राज्यवादीहरुले षड्यन्त्र रचिरहेको बताए ।
मानव जीवनमा खेलकुद र शारीरिक व्यायामको निकै ठूलो भूमिका रहेको बताउँदै खेलकुद देशको सार्वभौमिकतासँग पनि सम्बन्धित विषय भएको हुँदा विद्यालय तथा कलेजहरुले यस्ता गतिविधिलाई निरन्तरता दिँदै लानुपर्ने आवश्यकता औंल्याए ।

संरा अमेरिका संसारमा बढी जालसाझी र षड्यन्त्र हुने देशको रुपमा अगाडि बढिरहेको बताउँदै उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिमा राम्रो भूमिका खेल्ने नयाँ पुस्ता तयार गर्न विश्वविद्यालयहरुले जोड दिनुपर्ने उनले बताए ।

नेपाल बौद्धिक र वैचारिक ढंगले अगाडि बढाउनेतर्फ बुद्धिजीवीहरु सक्रिय हुनुपर्ने बताउँदै उनले आदर्श र सुसंस्कृत समाज निर्माण आजको आवश्यकता भएको बताए । शासक दलहरुले इमानदारीपूर्वक राजनीति नगरेकै कारण छोटो समयमै सरकार परिवर्तन भइरहेको बताउँदै उनले योग्य र इमानदार व्यक्तिहरुलाई अवसरहरु प्रदान गरिनुपर्ने बताए ।

नेपालमा बोलिने सबै भाषा स्वयम् राष्ट्रिय भाषा भएको बताउँदै उनले लिपी नभएका भाषाको लिपी बनाउनुपर्नेतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताए । विद्यार्थीहरुलाई बौद्धिक रुपले अगाडि बढ्न शिक्षकहरुले प्रेरित गरिरहनुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले ‘सादा जीवन, उच्च विचार’
अंगीकार गरी विद्यार्थीहरुले अगाडि बढनुपर्ने धारणा राखे ।

त्यस्तै कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गैरआवासीयहरुलाई नेपाली नागरिकता वितरणले नेपालमा विदेशीको प्रभाव बढ्ने र नेपालको राजनीतिमा दीर्घकालीन असर पर्नेबारे सचेत हुनुपर्ने बताउँदै नागरिकता विधेयकमा भएको अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था नेपालको लागि सबभन्दा घातक पक्ष रहेको बताए ।

कुनै व्यक्तिलाई नागरिकता दिनुको अर्थ त्यस देशको आर्थिक, राजनैतिक र सांस्कृतिक अधिकारको हकदार बनाउनु हो भन्दै उनले राज्यले नागरिकताको विषयमा कडाइ गर्नुपर्ने र विदेशीलाई नागरिकता नदिने व्यवस्थाले मात्रै देशको सार्वभौमिकता रक्षा हुने प्रष्ट पारे ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणित गर्नु संविधान विपरीत भएको बताउँदै उनले नेपालका शासकहरु भारतको इसारामा चल्दा र भारतीय शासक वर्गको चाकरी गर्ने प्रवृत्तिले गर्दा भारतले नेपाललाई आफ्नो प्रान्तको रुपमा व्यवहार गरिरहेको बताए ।

उपप्रमुख रजनी जोशीले दशैंको शुभकामना व्यक्त गर्दै दशैंमा आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले स्वस्थ जीवनशैली र खानपानले मानिसलाई निरोगी बनाउने बताए ।
भक्तपुरलाई सबै पक्षबाट बलियो र मजबुत बनाउने ढंगले काम गरिरहेको बताउँदै उपप्रमुख जोशीले भूकम्प, कोभिडजस्ता महामारीबीच पनि भक्तपुर नपाले संयमित र व्यवस्थित ढंगले काम गरेको बताए ।

ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरुलाई सादा जीवनयापन गरी मेहेनती बन्न शिक्षकहरुले प्रेरित गर्नुपर्ने बताउँदै ख्वप कलेजले विद्यार्थीहरुको शारीरिक र मानसिक रुपमा विद्यार्थीहरुलाई सबल तुल्याउन प्रयासरत रहेको बताए ।

कार्यक्रममा ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी र शिक्षक कमिनिका न्याइँच्याइँले पनि शुभकामना दिएको थियो । साथै कलेजका शिक्षक राजकुमार प्रधानले ख्वप जर्नल प्रकाशनको आफ्नो अनुभव सुनाए । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले कलेजको आयोजनामा भएको खेलकुद प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *