ख्वप माध्यमिक विद्यालयकोे २२ औं, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ चैत


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे २२ औं, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव कार्यक्रमको पासनमा दीप प्रज्ज्वलन गरी शुक्रबार उद्घाटन गरेको छ ।
प्रमुख अतिथि बिजुक्छेंले वार्षिकोत्सव पूर्ण सफलताको कामना गर्दै देशको परिस्थितिबारे विद्यार्थीहरुलाई अवगत गर्दै लानुपर्ने बताए । अध्यक्ष बिजुक्छेँले शैक्षिक प्रमाणपत्र थुपार्ने शिक्षाको केही महत्व नभएको बताए ।

देशको युवा जनशक्ति विदेशिँदा र खरबौं खाद्यान्न वस्तु विदेशबाट आयात गर्नुपर्दा देशको अर्थतन्त्र परनिर्भर बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेपालले सस्तोमा भारतलाई बिजुली बेच्ने र महँगोमा भारतबाट बिजुली आयात गर्ने नीतिले देशलाई आर्थिक रुपले परनिर्भर बनाउँदै लाने बताए ।
जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुले देशको सार्वभौमिकता र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ भन्दै उनले देशघाती एमसीसी सम्झौताको विरोध ¥यालीमा ख्वपका विद्यार्थीहरुको उत्साहजनक सहभागिता चर्चायोग्य भएको बताए ।

देशको स्वतन्त्रता र सार्वभौमिकता खण्डित हुने काम कसैबाट पनि हुन नहुने भन्दै उनले एमसीसीले दीर्घकालीन रुपमा देशलाई उपनिवेश बनाउने र नेपाललाई पनि नाटोको सदस्य बनाउने हो कि भन्ने शंका ब्याप्त रहेको बताए ।

त्यस्तै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले शिक्षा क्षेत्रमा छात्राहरुको उत्साहजनक सहभागिताले देश र समाजलाई व्यवस्थित ढंगले अगाडि बढाउन मद्दत पुग्ने बताए ।
भक्तपुर नगरपालिकाले ३० वर्ष अगाडि स्थापना गरेका ख्वप सर्कलका कलेजहरुले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुका साथै नेपालको शिक्षा क्षेत्रमा समेत ठूलो योगदान पु¥याएको सांसद सुवालले बताए ।

युद्धमा समेत शैक्षिक गतिविधि बन्द हुन नहुने भन्दै सांसद सुवालले शासक दलका विद्यार्थीहरुले गरिरहेको बन्द हड्ताल, तालाबन्दीलगायतका विषय न्यायोचित नभएको बताए । उनले देशघाती एमसीसी सम्झौता नेपाललाई सित्तैमा आएको विषसरह हो भन्दै एमसीसी संसदबाट अनुमोदन गर्नकै निम्ति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएको कुरा प्रष्ट पारे ।

ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका सामुदायिक विद्यालय तथा कलेजहरुको शैक्षिक स्तर माथि उकास्ने काम गर्दै आइरहेको बताए ।

शिक्षालाई व्यापारीकरण गरेकै कारण निजी कलेजहरुको खोल्ने क्रम बढ्दै गइरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहुलियत दरमा शैक्षिक ऋण र छात्रवृत्तिको समेत व्यवस्था गरेको बताए ।

समाजवादउन्मुख राज्य व्यवस्थामा शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच हुने बताउँदै भक्तपुर नगरपालिकाले पनि समाजवादी मोडलअनुसार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको बताए ।

बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले देशघाती एमसीसीको विरोधमा ख्वप सर्कलका विद्यार्थीहरुको उत्साहजनक सहभागिताले यहाँ अध्ययन विद्यार्थीहरुमा देशभक्तिको भावना कायम रहेको प्रष्ट भएको बताए । छिमेकी देश चीन र भारतबीचको सम्बन्धबारे विद्यार्थीहरु जानकारी हासिल गर्नुपर्ने बताउँदै विद्यार्थीहरुलाई विद्यालय तहबाटै कुटनीति र देशको राजनीतिक विषयवस्तुबारे शिक्षित गर्दै लानुपर्ने बताए ।

बागमती प्रदेशका सभासद् सृजना सैजूले ख्वप कलेज आज देशकै प्रतिष्ठित र लोकप्रिय शैक्षिक संस्थाको रुपमा अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्दै ख्वप सर्कलले देशको निम्ति योग्य नागरिकहरु तयार गर्ने सिलसिलालाई जारी राखेको बताए । समाजवादी देशहरुमा विद्यालयस्तरबाटै विचारधारात्मक र प्राविधिक शिक्षालाई जोड दिने गरेको प्रसंग जोड्दै सांसद सैंजुले विद्यमान शैक्षिक बन्दोबस्तले बेरोजगारी बढाएको र युवा जनशक्ति विदेशिने सिलसिलालाई टेवा पुर्‍याइरहेको बताए ।
देशको शैक्षिक स्थिति भताभुंग हुनुमा शासक दल नै दोषी भएको बताउँदै उनले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण र निजीकरणविरुद्ध ख्वप कलेज उभेको धारणा राखे ।

ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भनपा उपप्रमुख, रजनी जोशीले देशभरका विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्न ख्वप सर्कल सफल भएको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा विकसित गर्दै जाने उद्देश्य नगरपालिकाको रहेको बताए ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, प्रा.डा. भिमप्रसाद सुवेदीले भक्तपुरको उच्च शिक्षाको स्थिति निकै उत्साहजनक भएको बताउँदै नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको विद्यार्थी संख्या र उत्तीर्ण संख्या निकै राम्रो भएको बताए । भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेका आशालाग्दो कामको प्रशंसा गर्दै यी कलेजहरुलाई विश्वविद्यालयको रुपमा लैजाने विषयमा सहयोग गर्न सकारात्मक भएको बताए ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र शिक्षक कमिनिका न्याइच्याईले पनि बोलेको थियो ।

त्यस्तै वार्षिकोत्सवको अवसर पारेर ख्वप कलेज र ख्वप मावि प्लस टु लेभल, स्नातक र स्नातकोत्तरका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने चाटर्ड एकाउन्टेन्सी डिसेम्बर २०२१, काप ३ लेभल परीक्षामा नेपाल टप हुन सफल विद्यार्थी रोचक श्रेष्ठ र ख्वप कलेज तथा ख्वप माविमा दस वर्ष सेवा अवधि पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ ।
त्यसैगरी वार्षिकोत्सवको अवसरमा आयोजित पुरुष र महिला ख्वप दौड प्रतियोगिता ३००० मि., सट पुट, चेस, टेबलटेनिस, अन्तरविद्यालय बास्केटबल प्रतियोगिताका विजयीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने खेलका निर्णायकहरुलाई कदरपत्र वितरण गरेको थियो ।

वार्षिकोत्सवकै अवसर पारेर ख्वप मा.वि.को पसल कवल र ख्वप कलेजको क्यान्टिन निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गरेको छ । औपचारिक कार्यक्रमपश्चात कलेजले पुस्तक प्रदर्शनी, शैक्षिक प्रदर्शनी र सांस्कृतिक प्रतियोगिता समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *