दतात्रयमा नगरव्यापी कसिमला पाय् प्रतियोगिता सम्पन्न

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ चैत

भक्तपुर नगरपालिका ९ वडा खेलकूद समितिको आयोजनामा भक्तपुर नगर व्यापी कसिमला पाय् प्रतियोगिता दतात्रयमा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कृतहरुलाई पुरस्कार वितरण गर्दै भक्तपुरलाई विश्वकै उत्कृष्ट बनाउन निरन्तर लागीपरेको बताए । उनले शिक्षा, स्वास्थ्य, कला, संस्कृतिजस्ता सम्पूर्ण क्षेत्रमा भक्तपुरका जनता अगाडि बढाउन हरदम प्रयास गरिरहेको बताए । व्यवस्थित र सभ्य शहर भक्तपुर बने मात्र संसारका हरेक मानिसको ओइरो लाग्ने र भक्तपुरकै जनताको आर्थिक स्तर विकास हुने बताउँदै उनले सय वर्ष पछिको भक्तपुरको परिकल्पनालाई साकार पार्न विभिन्न पक्षसँग सल्लाह गरी योजनाबद्ध रुपमा कार्य गरिरहेको बताए । जनताले नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिलाई चुनेकै कारण नेपालभरमा उत्कृष्ठ स्थान हासिल गर्न सकेको र त्यसको श्रय भक्तपुरका जनतालाई नै जाने उनको तर्क छ । उनले नेमकिपाले गरेको कामले अरु आश्चर्यमा परेको बताउँदै आन्तरिक र वाह्य पर्यटकको वृद्धिले भक्तपुरको बजार बढ्ने बताए । उनले मौलिक खेललाई प्राथमिकतामा राख्ने क्रममा खोजीको क्रममा कसिमला पाय् खेल आएको र त्यसको विकास र प्रवर्धनका लागि स्थानीय पाठ्यक्रममा समेत समेतेको बताए ।

भक्तपुर नगरपालिका ९ वडाध्यक्ष रवीन्द्र ज्याख्वले निर्वाचित भएको ५ वर्षभित्र गरेका कार्यको प्रगति बताउँदै उनले जनताको मत कतै पनि नचुकेको बताए । अबको चुनावमा पनि नेमकिपाकै प्रतिनिधिलाई जिताउने विश्वास व्यक्त गर्दै पार्टीको नीति अनुसार नै सबै कार्य पूरा भएको बताए । हरेक उमेरसमूहका मानिसले खेल्न सकिने मौलिक पहिचान बोकेको कसिमला पाय् खेल भक्तपुरमा मात्र सीमित नराखी देशभर फैलाउने क्रममा विकास भएको बताउँदै उनले यो खेलको महत्व बताए ।

९ वडा खेलकूद समितिका सदस्य बाबुकाजी मानन्धरले स्वागत गरेको उक्त कार्य क्रममा राजन चित्रकारले विजेताहरुको नामावली घोषणा गरेको थियो । आयोजक समितिका अध्यक्ष राजेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा, ९ वडा समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजु, सञ्जय मानन्धरलगायतले बोलेको थियो ।

पुरुषतर्फ ८३ वर्षे विष्णु सुवालसमेत ४७ जना र महिलातर्फ ७७ वर्षिया पञ्चकन्या अवालसमेत १५ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा पुरुषतर्फ राजकुमार खुुसु प्रथम, हेलबहादुर प्रजापति द्धितीय, दयाराम प्रजापति र लक्ष्मीभक्त कोजु तृतीय भएका थिए । त्यस्तै महिलातर्फ अनिता खोंजु प्रथम, पञ्चकन्या अवाल द्धितीय, लक्ष्मी खयरगोली र दयालक्ष्मी प्रजापति तृतीय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *