आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव कार्यक्रम बिहीबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आधारभूत तह विद्यार्थीहरुको शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन नगरपालिकाले समय समयमा आर्थिक तथा भौतिक सहयोगकाको क्रम जारी रहेको बताए । शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिँदै आएको बताउँदै उनले गरिब विद्यार्थीलाई शैक्षिक ऋण, इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने नगरबासीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको चर्चा गरे ।

भक्तपुरको शैक्षिक विकासमा यहाँ विद्यालयहरुको शैक्षिक स्तरले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाले जोड दिँदै आएको स्पष्ट पारे । महाकाली सन्धीजस्तै देशघाती एमसीसी सम्झौता पनि नेपालको हितमा नभएको उल्लेख गर्दै उनले शासक दलहरुले गरेका देशघाती सन्धी सम्झौताहरुबारे विद्यार्थीहरुलाई सचेत र संगठित गर्दै लानुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमका सभापति एवम् आधारभूत विद्यालय समितिका अध्यक्ष दिपक माकले समितिको प्रगति विवरण प्रस्तुत गर्दै समितिले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्त गर्न विविध गतिविधि गर्दै आएको र शिक्षकको पेशागत हकहित सुरक्षित गर्न विद्यालयको स्तरवृद्धिमा सामूहिक प्रयास गर्दै आइरहेको बताए ।

माध्यमिक विद्यालय समितिका संस्थापक सदस्य तथा प्रथम अध्यक्ष विश्वराम कवांले शिक्षकहकरुले विद्यार्थीहरुलाई शिक्षाको ज्योति दिई समाज परिवर्तनमा विशेष योगदान गर्ने हुँदा शिक्षकहरुको सम्मान आवश्यक भएको औंल्याए । कार्यक्रममा समितिका संस्थापक सदस्य जीवनराज राजोपाध्यायले समितिको विकास र उद्देश्यमाथि प्रष्ट पारे भने समाजसेवी हिमालयश्वरलाल मूल, सहसचिव मधुमाया प्रधान र शिक्षक सूर्य फोँजुले पनि आ–आफ्नो धारणा व्यक्त गरेको थियो ।

सोही क्रममा वार्षिकोत्सवकै अवसर पारेर माध्यमिक विद्यालय समितिले अनिवार्य तथा स्वेच्छिक अवकाश प्राप्त, नवनियुक्त तथा माध्यमिक विद्यालय समितिका संस्थापक सदस्यहरुलाई सम्मान गरेको थियो । साथै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई पनि मेडल र सम्मान पत्र प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *