यूट्युबमा डेब्यू गर्दै राजेश हमाल भन्छन्, ‘काठमाडौंको मेयर बन्नु पर्छ कि क्या हो ?’

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २६ फागुन

एक समय नेपाली फिल्ममा एकलौटी हालिमुहाली गरेका सुपरस्टार राजेश हमाल विगत चार वर्षदेखि पर्दामा देखिएका छैनन् । तर, फिल्ममा काम नगरे पनि उनको व्यस्तता करिअरको उचाइँमा रहँदाको भन्दा कम छैन । वर्षभरी नै हमाल देश तथा विदेशमा हुने कार्यक्रम, विभिन्न कम्पनीको ब्रान्ड इन्डोर्समेन्ट, उद्घाटन, म्यूजिक भिडियो, टेलिभिजन शो लगायतमा व्यस्त हुने गरेका छन् ।
rajesh hamal
चार वर्षको ब्रेकपछि हमालले यस वर्ष फिल्म ‘सत्यम्’ साइन गरेका थिए । फिल्मका लागि ज्यान बनाउनदेखि स्क्रिप्टमा समेत उनी आफैं बसेका थिए । फिल्मको एक्सन सिन खिच्नका लागि पोखरामा सेट समेत बनाइएको थियो । तर, कोरोना महामारीका कारण फिल्मको छायांकन सुरु हुन सकेको छैन । यतिबेला उनले फिल्मको न्यास्रो म्यूजिक भिडियोमा अभिनय गरेर मेटाइरहेका छन् ।
अभिनेता हमाल प्रविधिलाई छिट्टै आत्मसात् गरिहाल्दैनन् । आफ्नो जीवनमा त्यसको आवश्यकता महशुस गरेपछि मात्र उनले प्रविधिलाई अंगाल्ने गरेका छन् । कुनै बेला हरेक कलाकारहरुको हातमा मोबाइल हुँदा उनले भने लामो समयपछि मात्र त्यसको प्रयोग गर्न थाले । फेसबुकमा पनि उनी निकै ढिलो आएका हुन् । अहिले मोबाइल र फेसबुक उनका दिन काट्ने प्रिय साथी हुन् ।
यतिबेला नेपाली फिल्मका प्रायः कलाकारहरुले यूट्युब प्लेटफर्ममा समेत आफ्नो उपस्थिति जनाएका छन् । यूट्युबमा भ्लगदेखि अन्तर्वार्तासम्म राख्ने कलाकारको ताँती ठूलो छ । यसैक्रममा, अभिनेता हमालले पनि यूट्युबमा डेब्यू गरेका छन् । उनले भ्लगको रुपमा आफ्ना गतिविधिहरुलाई दर्शकमाझ पस्किने उद्देश्यसहित ‘राजेश हमाल अफिसियल’ नाममा यूट्युब च्यानल खोलेका हुन् ।
बुधवार हमालले यूट्युबमा एक भ्लगको ट्रेलर अपलोड गरेका छन्, जहाँ उनले काठमाडौंलाई सुन्दर बनाउने कुरामा कसैको ध्यान जान नसकेकोमा चिन्ता व्यक्त गर्दै ‘एकचोटी काठमाडौं शहरको मेयर बन्नु पर्छ कि क्या हो ?’ भन्दै जिज्ञासा राखेका छन् । राजेश हमालले आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा जानकारीमुलक एक ‘टक शो’ पनि चलाउने तयारी गरेको जानकारी प्राप्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *