विशेष समाचार समाचार स्वास्थ्य

नेपालमा ओमिक्रोन भेरियन्टः अब के गर्न आवश्यक छ ?
न्यूज अपडेट संवाददाता
काठमाडौं, २१ मंसिर

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि गरेसँगै विज्ञहरुले सचेत रहन सुझाब दिएका छन्।
दक्षिण अफ्रिकामा ओमिक्रोन भेटिएको १२ दिनपछि नेपालमा पनि यो भेरियन्ट भेटिएको हो। विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।

नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएपछि जनमानसमा भने एक किसिमको त्रास फैलिएको छ। यो भेरियन्टका विषयमा धेरै कुराहरु अध्ययनकै क्रममा रहेका कारण पनि विज्ञहरुले अब थप सकर्तकता अपनाउनुपर्ने सुझाब दिएका हुन्।

नयाँ भेरियन्ट देखिएका कारण अब सरकारका तर्फबाट के गर्न आवश्यक छ त ? यस्तै नागरिकले पनि के के कुरामा ध्यान दिने त ?

विज्ञहरुका अनुसार सर्वप्रथम सरकारले नयाँ भेरियन्ट देखिएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै परीक्षणको दायरा बढाउन आवश्यक छ। यसपछि नेपाल भित्रिने नाकामा पनि आवश्यक जाँच र त्यसपछि क्रेन्टिन, आइसोलेसन गर्ने व्यवस्था गर्न आवश्यक छ।

सरकारले भेरियन्टको फैलावट रोक्नलाई आवश्यक पर्ने सबै उपायहरु अपनाउनु पर्ने, त्यसपछि संक्रमण देखिएको खण्डमा उपचारका लागि आवश्यक पर्ने सबै व्यवस्था मिलाउने, धेरैभन्दा धेरै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लगायतका काम गर्न आवश्यक रहेको विज्ञहरुको भनाई छ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सरकारले अब कोरोना संक्रमितको संख्यामा आउने उतारचढावलाई नजिकबाट नियाल्नुपर्ने सुझाव दिन्छन्। नेपालमा भर्खरै ओमिक्रोनका संक्रमित भेटिएकाले केही समय बिरामीको संख्या र अवस्थालाई नियाल्नुपर्ने उनले बताए।

‘कतै केसहरु बढ्दै छ की। त्यसमा पनि जटिल या सामान्य कस्ता खालका संक्रमितहरु आइरहेका छन् भनेर सरकारले नियाल्नुपर्ने हुन्छ’ उनले भने, कस्ता खालका व्यक्तिहरु कुन अवस्थामा संक्रमित भइरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्छ।

ओमिक्रोन भेरियन्टसँग आम नागरिकले तर्सिने भन्दा पनि सर्तक हुन आवश्यक रहेको उनले बताए। ओमिक्रोन भेरियन्ट के कत्तिको घातक छ भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेकाले पर्ख र हेरको अवस्था रहेको उनले बताए। तर हालसम्मको अवस्थालाई नियाल्दा ओमिक्रोन डरलाग्दो नदेखिएको उनको भनाई छ। ्उनले भने, ‘दक्षिण अफ्रिका या भारतमा भेटिएका केसहरुलाई हेर्दा आत्तिहाल्नुपर्ने जस्तो देखिइसकेको छैन। तर सतर्कता भने एकदमै अपनाउन आवश्यक छ। किनभने यसले कुन समूह र कसलाई समस्यामा ल्याउँछ या ल्यादैन भन्ने बारेमा थाहा हुन बाँकी नै छ।’

संक्रमणबाट जोगिन आम नागरिकले मास्क लगाउने, भिडभाडमा नजाने, भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्न आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारी बताउँछन्।

नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङ्गको कार्यलाई थप प्रभावकारी बनाइएको प्रवक्ता डा अधिकारीले जानकारी दिए। अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ। एन्टीजेन परीक्षणमा पोजेटिभ फेला परेका नमूनाहरुको संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको उनले बताए। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ।

ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने ?
कोभिड १९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरुको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड १९ विरुद्धको खोप लगाउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *