निषेधाज्ञाले चितवनको फूलखेतीमा पांँच करोड बराबरको घाटा

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
चितवन, २९ जेठ


जारी निषेधाज्ञाका कारण चितवनको फूलखेतीमा पांँच करोड बराबरको घाटा प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एशोसियशन, चितवनका अनुसार यहांँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूलखेती गरी उक्त घाटा भएको आंकलन गरिएको हो । फूलको माग राम्रै भएपनि निषेधाज्ञाले गर्दा फूलले बजार नपाउंँदा नोक्सान बेहोर्नु परेको एशोसियशनले जानकारी दिएको छ ।

एशोसियशनका अध्यक्ष प्रकाश पन्त निषेधाज्ञापछि करीब डेढ महिनाको अवधिमा पांँच करोड बराबर नोक्सान भएको बताउंँछन् । अहिले विशेष गरी तयारी अवस्थाका ग्लाडियस, गोदाबरी र सयपत्री फूल बढी विक्री नहुँदा बारीमै सुकेपछि जोत्न थालेका छन् । उनले आफ्नो १२ कठ्ठा क्षेत्रफलमा लगाएको गोदाबरी फूल सुकेर जांँदा पांँच लाखको नोक्सान भएको बताए । ‘अन्य किसानको पनि एकलाख देखि २५ लाखसम्मको नोक्सान भएको छ ।’ उनले भने, ‘सबैगरी पांँच करोड बराबरको क्षति भएको आंकलन गरेका छौं ।’

पन्तका अनुसार निषेधाज्ञाका कारण अर्डर गरिएका फूलपनि बजारमा जान नसक्दा र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्यहरु रोकिँदा यसको मुख्य असर फूल व्यवसायमा परेको हो ।


भरतपुर महानगरपालिका वडा नम्बर १८ का अर्का किसान कमल अर्याल गतसालदेखि हालसम्म उनलाई २२ लाख बराबरको फूलखेतीमा नोक्सान भएको बताउंँछन् । गतबर्षदेखिको कोरोना महामारीका कारण फूलहरुको माग भएपनि यसको प्रयोगमा नआंँउदा फूलखेती किसानले नोक्सान बेहोर्नु परेको हो । हाल उनले डेढ विगाहामा ग्योडोलस फूल लगाएका छन् तर अहिले फूल विक्रीयोग्य भएपनि निषेधाज्ञा भएका कारण सबै फूल जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एकहप्ता भन्दा बढी राख्नै मिल्दैन ।’ अर्यालले भने, ‘निषेधाज्ञाको खुल्ने टुंगो पनि छैन । जोत्नुको विकल्प पनि छैन ।’

निषेधाज्ञाकै कारण किसानको बारीमा फुलिसकेका फूल ओइल्याएका छन् त कतिपय किसानले लागत बराबरमै फूल विक्री गर्दापनि फूलको माग शून्य जस्तै छ । व्यावसायिक फूलखेती गर्ने किसान र नर्सरीमा विरुवा उत्पादन गर्ने किसानले पनि विक्री नभएको बताएका छन् ।

बिशेष गरी काठमाडौं र पोखरा लगायतका शहरहरुमा यहांँको फूलहरु जाने गर्छ । ‘चितवनमा त फूल विक्री नै छैन भन्दा हुन्छ, भरतपुर महानगरपालिका वडा नम्बर २६ का किसान दिपक पाख्रिन भन्छन्, ‘मेरो अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केहीमात्र अर्डर छ ।’ त्यो पनि फाइदा नखाई पठाएको छु ।’ उनको बाह्रैमासे विक्री हुने सयपत्री फूलपनि विक्री हुन सकेको छैन । उनको दुई विगाहा क्षेत्रफलमा ढकमक्क सयपत्री फूल फूलिरहेपनि चर्को भाडा तिरेर काठमाडौं फूल पठाउनु परेकोे पाख्रिनले बताए । सयपत्री फूल एक गाडीको १० हजार रुपैयांँ तिरेर पशुपतिमा १५ हजार रुपैयांँमा फूल विक्री गर्नु परेकोे उनको भनाइ छ ।

निषेधाज्ञाको अनिश्चितता र विभिन्न सभा कार्यक्रम खुल्ने कुनै टुंगो नभएकोले नयांँ फूल लगाउन किसानको अहिले जांँगर नै छैन । पछिल्लो दशकमा चितवनमा फूलखेतीको आकर्षण बढ्दै गएको थियो, तर पटकपटकको लकडाउन र निषेधाज्ञाले फूलखेती विस्तार गर्न छाडेका हुन् । जसले गर्दा हाल न नर्सरीका विरुवा फूल बिकेका छन् नत तयार भएका फूल बिक्ननै सकेका छन् । यस्तै अवस्था रहने हो भने अधिकांश फूलखेती किसान विस्थापित हुने र फूलको लागि फेरि भारत लगायत अन्य तेस्रो मुलकसंँग भर पर्नुपर्ने अवस्था आउने किसानहरुको भनाइ छ ।

एशोसियशनले दिएको जानकारी अनुसार चितवनमा ३० विगाहा भन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूलखेती हुँदै आएको छ । यहांँ व्यावसायिक फूलखेती गर्नेको संख्या ५० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ्ग गर्नेको संख्या २० को हाराहारीमा छ । चितवनमा बुकी फूल, कटफ्लावर, रोज र ग्याडोलस जस्ता मौसमी फूलको व्यावसायिक खेती पनि हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *