भक्तपुरकाे तार भूमिगत गर्ने विषयमा सराेकारवालासँग छलफल

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २५ जेठ


भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तारहरु भूमिगत गर्ने विषयमा मंगलबार अनलाइन बैठक बसेको छ ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलहरुबाट ऐतिहासिक, सांस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउँदै सम्पदा बस्तीभित्र तारहरु भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने बताए ।

भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने कार्य गरिसकेको अवस्थामा पुनः तार भूमिगत गर्ने विषयले अन्योलता ल्याएको बताउँदै उनले तार भूमिगत गर्ने विषयमा आवश्यक सहकार्य र पहलको लागि नगरपालिका सकारात्मक रहेको बताए ।

भक्तपुरमा तार भूमिगत गर्ने विषयमा भक्तपुरबासी जनताहरु पनि सकारात्मक रहेको उनले बताए । उनले तार भूमिगत गर्दा देखिने चुनौतीका विषयमा आयोजनाले आवश्यक ध्यान दिनुपर्ने र यथाशीघ्र आयोजनाको काम अगाडि बढाउन पनि आग्रह गरे ।

बैठकमा नेपाल विद्युत प्राधिकरणअन्तर्गत ललितपुर र भक्तपुरमा भूमिगत तार व्यवस्थाका आयोजना प्रमुख बीरेन्द्रकुमार झाले भक्तपुरको तार भूमिगत गर्ने विषयमा प्रस्तुतीकरण दिए । उनले अन्डरग्राउन्ड केबलको विषयमा जनस्तरमा सूचना प्रवाह गर्न सके जनताबाट साथ र सहयोग पनि पाउने र आयोजना पनि समयमै सम्पन्न हुने बताए ।

बैठकमा आयोजनाका केदारराज सिलवालले ऐतिहासिक नगरी भक्तपुरमा अव्यवस्थित तारले नराम्रो प्रभाव पारिरहेको हुँदा तार भूमिगत गर्न सकेको खण्डमा भक्तपुर सुन्दर र सुरक्षित पनि हुने बताए ।

कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधिहरु र सरोकारवाला प्राविधिकहरुको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *