किर्ते कागजात : पक्राउ परेका ७ डाक्टर र दुई कन्सल्टेन्सी सञ्चालक धरौटीमा छुटे

विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडाैं, ४ जेठ

नक्कली कागजात पेश गरेर एसबीबीएस अध्ययन गरेका र अध्ययन पूरा गरी डाक्टर समेत बनेका ७ जना र किर्ते कागजात बनाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना कन्सल्टेन्सी सञ्चालक धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। पक्राउ परेका ७ जना डाक्टरहरुसँग जनही ४ लाख ५० हजार धरौटी माग गरिएको थियो भने दुई कन्सल्टेन्सी सञ्चालकमध्ये एकसँग १५ लाख र अर्कोसँग साढे २ लाख धरौटीमा माग भएको थियो।

अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी बुझाएर उनीहरु रिहा भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी गंगा पन्तले जानकारी दिइन्।

एसएलसी लगायतका शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सीआईबीले देशका विभिन्न ठाउँबाट ७ जना डाक्टरलाई जेठको पहिलो पक्राउ गरेको थियो।

सप्तरी विष्णुपुर-२ घर भई न्यूरो अस्पताल विराटनगरमा कार्यरत २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ घर भई जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका–५ घर भई दिर्घायु गुरु अस्पताल चाबहिलमा कार्यरत २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङ घर भई चौरजहारी अस्पतालमा कार्यरत रहेका दीपेन्द्र गौतम पक्राउ परेका थिए।

उनीहरुसँगै सप्तरी मकरपुरा–९ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई भक्तपुर बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका–२ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पनि पक्राउ परेका थिए। उनीहरु सबै ४ लाख ५० हजार धरौटीमा रिहा भएका छन्।

उनीहरुका शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक महोत्तरीका अरुण चौधरी, बागबजारमै रहेको ग्लोबल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानलाई सीआईबीले पक्राउ परेका थियो। उनीहरुमध्ये चौधरी १५ लाख धरौटी तिरेर रिहा भएका छन् भने खान २ लाख ५० हजार धरौटी तिरेर रिहा भएका छन्।

पक्राउ परेका ९ जनालाई नै लिखत सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो। उनीहरु सबैलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेपर्ने भन्दै रायसहितको प्रतिवेदन सीआईबीले बुझाएको थियो। अन्तत: उननीहरु धरौटीमा रिहा भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *