स्वास्थ्य मन्त्रालयले भन्यो– अस्पतालहरुले बिरामीका आफन्तसँग अक्सिजन नमाग्नू

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि भर्ना हुन आउने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ।

आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाले बिरामीका आफन्तलाई बोकेर ल्याउन भनेर नभन्न आग्रह गरे।

‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनि चिकित्सकहरुले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुहोस् भनेर भन्ने गरिएको पनि सुन्नमा आएको छ,’ मन्त्रालयका प्रवक्ता डा गौतमले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुहोस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट हार्दिक अनुरोध गर्दछौं।’

पछिल्लो हप्तादेखि केही निजी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामीका आफन्तलाई आफैं अक्सिजनको व्यवस्थापन गर्न लगाउने गरेका छन्।

केही अस्पतालले अक्सिजन आफैं ल्याएर नआए भर्ना भएका बिरामीलाई डिस्चार्ज गरिने भनेर समेत भन्ने गरेको बिरामीका आफन्तहरुले गुनासो गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *