कोरोना कहरको दारुण चित्र– बागमती किनारमा शवको लाइन!

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २१ बैशाख

दोस्रो लहरको कोरोना संक्रमणको दर दैनिक बढिरहँदा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।

संक्रमणका कारण काठमाडौं उपत्यकामा ज्यान गुमाउनेमध्ये केहीको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको छ। तर, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा शवदाह गृहमा शव जलाउन समस्या हुन पुग्यो ।

विद्युतीय शवदाह गृहमा एउटा शव जलाउन डेढ घन्टा लाग्ने भएसँगै दैनिक थोरै शव व्यवस्थापन गर्न सकिने अवस्था बन्यो। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि नेपाली सेनाले संक्रमितको शव बागमती नदी किनारमा जलाउन शुरु गरेको छ।

पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर पशुपति क्षेत्र इलाकाकै बागमती नदी किनारमा शव जलाउन शुरु गरिएको सेनाले जनाएको छ।

‘शवदाह गृह एउटा मात्रै सञ्चालनमा रहेकाले शव जलाउन समय लाग्ने गरेको छ। हामीले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गरेर बागमती किनारमा सोमबारदेखि शव जलाउन शुरु गरेका छौं,’ सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले भने।

सेनाले आइतबारसम्म कोरोनाबाट मृत्यु भएका देशभरबाट ३ हजार ४ सय ६२ वटा शव व्यवस्थापन गरेको छ। सोमबार ३ बजेसम्म मात्रै उपत्यकामा ३० वटा शव व्यवस्थापनका लागि अनुरोध भएर आएको प्रवक्ता पौडेलले बताए।

सोमबार थप ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो पछिल्लो २४ घन्टामा कोरोनाका कारण देशभर मृत्यु भएकाको संख्या हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *