सीतासँग गैँडा र गोही हेर्दै प्रचण्डद्वारा जलमार्गको खोजी (फोटो फिचर)

विशेष समाचार समाचार

काठमाडौँ साउन २७

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो दुई दिने चितवन बसाईंको अन्तिम दिन जलमार्गको खोजीमा बिताएका छन्। नेकपा नेतृत्वको सरकारले रेलमार्ग र जलमार्गलाई आफ्नो मुख्य मुद्दा बनाएका बेला प्रचण्ड आफ्नो गृहजिल्ला पुगेर जलमार्गको सम्भावना खोजी गरेका हुन्।

विशेषज्ञहरुले भारतसँग जोडिने गरी तीन नदीमा जलमार्गको सम्भावना औँल्याएका छन्। तिनमा पूर्वको कोशी, मध्यक्षेत्रको नारायणी (गण्डकी) पश्चिमको कर्णाली छन्। यसमध्ये नदीको गहिराईका कारण नारायणी (गण्डकी) सबैभन्दा उपयुक्त मानिएको छ।

नाति प्रणबसँगै प्रचण्ड

नाति प्रणबसँगै प्रचण्ड

प्रचण्ड आइतबार बिहानै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चितवनको मेघौलीस्थित गोलाघाट पुगे। गोलाघाट रिउ, राप्ती र नारायणी नदीको त्रिवेणीपनि हो। ‘राप्ती र नारायणीलाई जल यात्रा मार्गले जोड्न सकिने सम्भावना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन उनी शनिबारमात्र चितवन पुगेका थिए।

शनिबारको गोष्ठी लगत्तै आइतबार बिहान जलयात्राको सम्भावनाका लागि गोलाघाटमा प्रचण्डको जलयात्राको कार्यक्रम बनाइएको थियो। कार्यक्रममा पत्नी सीता दाहाल, भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी छोरी रेणु दाहाल, परिवारका अन्य सदस्य र नेकपाका केन्द्रीय-जिल्लास्तरीय नेताहरु सहभागी थिए।

प्रचण्ड, नारायण दाहाल र रेणु लगायत

प्रचण्ड, नारायण दाहाल र रेणु लगायत

‘राप्ती र नारायणी जलयात्राका लागि बरदान हुनसक्छन्’ डुङ्गामा शयर गरिरहेका बेला प्रचण्डले सुनाए, ‘चितवनमा जलमार्गमा आधारित पर्यटनको पनि उत्तिकै सम्भावना छ। चितवनको विकासका लागि हामीले यस्तो खालको पर्यटनलाई पनि बढावा दिनुपर्छ।’

मेघौलीमा रहेको होटल बाराहीमा शनिबारको रात बिताएका प्रचण्डले आफ्नो टोलीका साथ ४५ मिनेट जलयात्रा गरेका थिए, करिब २ किलोमिटरको जलयात्रा गरिँरहँदा यो टोलीले चितवन राष्ट्रिय निकुञ्जमा ४ पटक गैँडा देख्यो भने जरायो, गोहीपनि प्रसस्तै देखिए।

नदी किनारमा प्रचण्ड र सीता

नदी किनारमा प्रचण्ड र सीता

गैँडा, जरायो, गोही देख्नासाथ प्रचण्ड साथमा रहेकी श्रीमति सीतालाई उ जरायो, उ गैँडा भन्दै देखाउँथे। पटक पटक गैँडा देखिएपछि सीताले प्रचण्डलाई भनिन्, ‘यस्ता गैँडा त सानो हुँदा कति देखिया’थ्यो कति, अहिले चाहिँ ढुङ्गा चढेर हेर्न पाइयो।’

डुङ्गाबाट राष्ट्रिय निकुञ्जमा यस्ता महत्वपूर्ण जंगली जनावर देखिँदा प्रचण्ड एकातिर श्रीमतिलाई देखाउन हतारिन्थे भने अर्काेतिर यस्ता दृष्यको प्रचार गर्न सकिए नेपालले पर्यटन विकासमा फड्को मार्ने बताउन पनि चुक्दैनथे।

डुङ्गा सयरपछिको पिकनिक

डुङ्गा सयरपछिको पिकनिक

सोमबार विहान चितवन प्रस्थान गरेका प्रचण्ड आइतबार  साँझ काठमाडौँ फर्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *