बुटवल उपमहानगरपालिकाका प्रमुख विष्णुराज सुवेदी भक्तपुर नगरपालिकामा

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १२ चैत


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुटवल उपमहानगरपालिकाका प्रमुख विष्णुराज सुवेदीले बिहीबार भक्तपुर नपाको सभाकक्षमा भेट गरे ।
भेटका क्रममा उनीहरुबीच बुटवल उपमहानपा र भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रगति, समस्या र चुनौतीहरु तथा विविध गतिविधिबारे अनुभव आदानप्रदान भयो ।
प्रमुख सुवेदीलाई सांस्कृतिक नगर भक्तपुरमा भादगाउँले टोपी र खादा ओढाइ स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा नपाले जोड दिइरहेको र पुरानो नगर क्षेत्रको निजी घरहरु मौलिक स्वरुपमा पुनःनिर्माण गर्न नगरबासीहरुलाई आर्थिक सहयोगको व्यवस्था गरी उत्साहित गर्दै आएको बताए ।


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरुको विषयगत विशेषताबारे अवगत गराउदै उनले ती कलेजहरुको स्थापनाको पृष्ठभूमि र उद्देश्यबारे पनि प्रष्ट पारे । भक्तपुरको सामुदायिक शैक्षिक संस्थाहरुको स्तरोन्नतिको लागि नगरपालिकाले राम्रा र उत्कृष्ट विद्यालय तथा कलेजहरुको अनुभवबाट पाठक सिक्दै अगाडि बढिरहेको उनले स्मरण गरे ।
भेटमा बुटवल उपमहानपाका प्रमुख सेवदीले बुटवलमा सञ्चालित बुटवल टेक्निकल इन्स्टिच्युटलाई व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजहरुबाट आफूहरुले सिक्न चाहेको बताए । बुटवल टेक्निकल इन्स्टिच्युटलाई पनि इन्जिनियरिङ कलेजको रुपमा सञ्चालन गर्ने योजना रहेको बताउदै उनले कलेज सञ्चालनको लागि भक्तपुर नपाको समन्वय र सहयोगको अपेक्षाको निम्ति अनुरोध गरे ।


भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, बीटीआई, बुटवलका उपनिर्देशक ईन्जिनियर अभिमन्यु भीमार्जुन पन्थीलगायतको उपस्थिति थियो ।
नगर प्रमुख प्रजापतिले उनीहरुलाई भक्तपुर नपाका प्रकाशनहरु, भक्तपुर नपाद्वारा प्रकाशित ‘सम्पदा जीर्णोद्धार तथा पुनःनिर्माण’ पुस्तक उपहारस्वरुप प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *