न्यूज अपडेट संवाददाता
भक्तपुर, २१ असार
बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताए ।
त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । ‘यस वर्ष माथिल्लो रेन्जको जीपीए ल्याउनेको संख्या गत वर्ष भन्दा बढी छ’ उनले भने ।
अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताए ।
विगतका वर्षहरुमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रुपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको उनको भनाइ छ ।
त्यस्तै विद्यालय र कक्षाकोठाकोअवस्था सुधार र परीक्षा प्रणालीमा आएको सुधारका कारण पनि नतिजा राम्रो आएको उनको दाबी छ । ‘कोभिड महामारी सकिनुका अलावा यो नतिजाले देखायो कि विद्यालय र कक्षाकोठाहरुको वातावरणमा सुधार आउँदैछ, त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो’ शर्माले भने ।
बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेका कारणले नतिजा सुधार आएको उनको भनाइ छ ।