भक्तपुरको तेस्रो जिल्ला सभा बैठक सम्पन्न

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट
भक्तपुर, २८ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसदहरु नीति निमार्ताहरु भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिनुहुँदै संघ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीय तहहरुमा बजेट निकासा गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति भक्तपुरले बोलाएको तेस्रो जिल्ला सभा बैठकमा नगर प्रमुख प्रजापतिले जिल्ला समन्वय समिति भक्तपुरको औचित्यतामाथि प्रश्न गर्दै प्रस्तुत नीति तथा कार्यक्रम एनजीओ/आइएनजीओहरुको प्रतिवेदन जस्तो भएको बताए ।
उनले निजीकरणको पक्ष लिनेहरु समाजवादी हुन नसक्ने बताउदै देशलाई समाजवादउन्मुख दिशामा अगाडि बढाउन जनप्रतिनिधिहरु लाग्नुपर्ने भने । उनले भक्तपुरको चारवटा नगरपालिकालाई कोषमा रहेको रकम समान रुपमा निकासा गर्नुपर्ने र सभाको नीति तथा कार्यक्रममा भक्तपुर नपाको निम्ति सञ्चित कोषबारे उल्लेख नुहुनुको कारणबारे प्रश्न गरे ।
कार्यक्रमका सभापति जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालले जिसस बैठकबाट पारित नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सूर्यविनायक नपाका प्रमुख बासुदेव थापा, सूर्यविनायक नपाका उपप्रमुख बीणा बास्तोला, तेस्रो जिल्ला सभाका सदस्यहरुको उपस्थिति थियो । बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले स्वागत गरेको थियो भने जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले जिसस भक्तपुरको योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नीति तथा कार्यक्रम र बजेटमाथि नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले असहमति प्रकट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *