म्यानमारमा हिंसात्मक झडप, कम्तिमा ३८ प्रदर्शनकारी मारिए

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

एजेन्सी, २० फागुन

म्यानमारमा हिंसात्मक झडप, कम्तिमा ३८ प्रदर्शनकारी मारिए

संयुक्त राष्ट्रसंघले म्यानमारमा एक महिना अघिको सैनिक कूपछि कै ‘सबैभन्दा हिंसात्मक दिन’ भनेको बुधबार देशभर कम्तिमा ३८ जना प्रदर्शनकारी मारिएका छन् । म्यानमारका लागि राष्ट्रसंघका दूत क्रिस्टिन स्क्रानर बर्गनरले देशभरबाट स्तब्ध बनाउने भिडियोहरू प्राप्त भइरहेको बताइन् । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर तथा वास्तविक गोली प्रहार गरेका थिए ।
गत फेब्रुअरी १ मा सेनाले शासन सत्तामा कब्जा जमाएपछि म्यानमारमा दैनिकरूपमा प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनकारीले सैनिक शासनको अन्त्यको माग गर्नुका साथै आङ सान सूचीसहित निर्वाचित नेताहरुलाई रिहा गर्न माग गरेका छन् ।
बुधबारको हिंसापछि बेलायतले शुक्रबारका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाएको छ । अमेरिकाले पनि म्यानमारमाथि थप कारवाही गर्ने बताएको छ ।
 म्यानमारका छिमेकी राष्ट्रहरुले सेनालाई संयमता अपनाउन आग्रह गरेको भोलिपल्ट नै त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारीहरू मारिएका हुन् । बर्गनरका अनुसार कू यता कम्तिमा ५० जनाले ज्यान गुमाएका छन् भने सयौँको संख्यामा घाइते भएका छन् ।
उनका अनुसार एउटा भिडियोमा प्रहरीले मेडिकल स्वयंसेवकलाई निर्घात कुटपिट गरिरहेको देख्न सकिन्छ भने अर्कोमा प्रदर्शनकारीमाथि गोली प्रहार भइरहेको देखिन्छ ।
म्यानमारका विभिन्न सहरमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली प्रहार गरेको रिपोर्टहरु सर्वाजनिक भएका छन् । सेभ द चिल्ड्रेनका अनुसार मारिनेमा दुई १४ र १७ वर्षका किशोर रहेका छन् । त्यस्तै, १९ वर्षीया युवती पनि मारिएकी छन् । मध्य म्यानमारमा रहेको मोनवायामा प्रहरीको गोली लागेर ६ जना मारिएका छन् भने कम्तिमा अन्य ३० जना घाइते रहेको स्थानीय पत्रकारले जानकारी दिएका छन् । एएफपीका अनुसार मिनग्यानमा १० जना घाइते छन् । यता, मन्डालेमा पनि प्रदर्शनकारीहरू मारिएको स्थानीयले जानकारी दिएका छन् ।
यता, सेनाले मृत्युको खबरबारे हालसम्म केही प्रतिक्रिया दिएको छैनन् । अन्तर्राष्ट्रिय समुदायबाट दबाब बढे पनि सेना आफ्नो कदमप्रति प्रतिबद्ध रहेको छ । बर्गनरले सेनाका उप–प्रमुखसँगको संवादमा संयुक्त राष्ट्रसंघले कडा कदम चाल्ने चेतावनी दिँदा ‘हामीले हाम्रो मित्रहरूसँग मात्र हिँड्न जानेका छौँ’ भन्ने प्रतिक्रिया पाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *