बर्षा खत्री
भक्तपुर, १९ पुस

वागीश्वरी कलेजको आठौं वार्षिक कलेज सभा शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको साथ र शक्तिको अगाडि पैसा गौण हुने बताउँदै भक्तपुर नगरपालिकाले पर्यटन शुल्क नउठेपनि जनताको साथमा विकास निर्माणका कार्यहरु अगाडि बढाउँदै लगेको बताए ।
कुनै पनि सङ्घ संस्थाको विकास हुनुमा आन्तरिक पक्ष मुख्य हुने भएकोले कलेजको विकासको लागि कार्यरत शिक्षक, कर्मचारीलगायतको सम्पूर्ण पक्षको मिहिनेत आवश्यक भएको औल्याए । उनले भने, ‘कलेजको विकासको लागि वाह्य सहयोगलाई मुख्य स्रोतको रुपमा बुझ्नु गलत हो ।’
भक्तपुर नगरपालिकाले विकासको नाममा कसैले दिएको सशर्त सहयोगलाई अस्वीकार गर्दै आएको बताउँदै उनले जापानी सरकारले नेपालमै पहिलो पटक श्वासप्रश्वास पुनर्स्थापना केन्द्र निशर्त रूपमा भक्तपुर नगरपालिकामा स्थापना गर्न मञ्जुर भएको बताए ।

बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशको राजनीति मोड्नुमा मुख्य कारण शासक पार्टी नेकपाको सैद्धान्तिक विचलन र पद एवम् पैसा (भागवण्डा) भएको स्पष्ट पारे ।
‘बालुवाटारबाट दिन सकिने सबै दियौं, दिन नसकेपछि हामी (नेकपा) छुट्टियौं’ भन्ने विशेष स्रोतको उक्तिलाई उद्धृत गर्दै उनले भने, ‘नेकपाभित्रको लोभी पापी, द्रव्यपिसाच र दास मानसिकताका कारण भएको संसद विघटनको घटना औचित्यपूर्ण छ ।’ उनले थपे, ‘देश सिक्किम हुनबाट जोगिएको छ ।’ शिक्षकहरुले जुलुश, राजनीतिमा प्रत्यक्ष सहभागिता जनाउन नसकेतापनि प्राज्ञिक हिसाबले समाजको स्तरलाई माथि उकास्न सहयोग गर्नुपर्ने बताउँदै शिक्षकहरु शिक्षण पेशामा मात्र सीमित नभई वैचारिक अध्ययनमा पनि अगाडि छन् भन्ने अरुको मानसिकतालाई विश्वास दिलाउन थप अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपालका ठूला पुस्तकालयमा हराउँदै गएको पुस्तकको अध्ययन गरी ‘मजदुर’, ‘श्रमिक’ पत्रिकामा पुस्तकबारे नियमित लेख प्रकाशन भएको कारणले अहिले सञ्चारकर्मीहरु भक्तपुरमा आइरहेको बताउँदै हरेक शिक्षकहरुले नयाँ नयाँ खोजमूलक विषयको अध्ययन गरी प्रकाशनको लागि तदारुक हुन जरुरी भएको उनको भनाइ छ ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कम लगानी कम चासो, बढी लगानी बढी चासो राख्ने अभिभावकको वर्तमान मानसिकतामा परिवर्तन आवश्यक भएको बताउँदै शिक्षक, विद्यार्थीपछिको तेस्रो खुट्टा अभिभावकले सक्रिय भूमिका निर्वाह गरेको खण्डमा कलेजको थप प्रगति हुँदै जाने बताए । वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सरकार आफै शिक्षाको जिम्मेवारी पन्छिँदै गएको वर्तमान परिस्थितिमा कलेज आफैले शैक्षिक गुणस्तर बढाउन अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।
पैसा र जागिरे मनस्थितिबाट मुक्त भई कलेजको चौतर्फी विकास गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैको साझा योगदान आवश्यक भएको उनको थम्याइ छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ संशोधनसहित पारित गरेको थियो । कार्यक्रममा शिक्षकहरु विनोद प्रजापति, विकल प्रजापति, डा. बलराम दुवाल, शिव बहादुर खुलिमुलि, ग्याहेन्द्रप्रसाद दाहाललगायतले प्रगति प्रतिवेदनमाथि टिक्काटिप्पणी गरे ।