कसले गर्न हुँदैन कपालमा कलर?

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ११ पुस

कपालमा कलर लगाउने चलन पहिलेभन्दा बढेको छ। व्यक्ति अनुसार कलर गर्नुको उद्देश्य भने फरकफरक हुन्छन्।

सुन्दर देखिनु हरेक मानिसका लागि अपरिहार्य बनेको छ। समयमा आएको परिवर्तनले मानिस अन्य मानिसका अघि आफूलाई सबैभन्दा राम्रो देखाउन चाहन्छ। समाजमा बनाइएको सुन्दरताको विविध मापन मान्ने हो भने त्यसको सुरुवात कपालबाट हुन्छ।

कतिपय मानिसको कपाल हेरेर पनि जजमेन्टल बनिरहेका हुन्छन्। कपाल कलर गर्नुका बाध्यात्मक र पेसागत कारण हुन्छन् भने केही मानिसले सोख पूरा गर्न थरीथरीको रङले कपाल रङ्गाइरहेका हुन्छन्।

उमेरभन्दा पहिला कपाल फुलेपछि त्यसलाई कृत्रिम रङले ढाक्नुपर्ने हुन्छ। कपालमा हाँगा पलाएर नराम्रो भइरहेको छ, तर काटेर फाल्नुभन्दा कलर गरेर छोप्न पनि कलर गर्नेहरु छन्।

नयाँ पुस्ताका युवायुवती कपालमा थरीथरीको कलर गरिरहन रुचाउने खालका छन्। टिभी, फिल्ममा नयाँ कलर देखेपछि यस्तै खालको कलर लगाइदिनु पर्‍यो भनेर आउनेहरु पनि धेरै छन्।

अहिले ससाना शृंगारका पसलदेखि ठूलाठूला सैलुन पार्लरमा कलर पाइन्छ। कति मानिसहरु शृंगार पसलबाटै कलर किनेर कपालमा लगाउँछन्। कतिले ब्युटिपार्लर र सैलुनमा गएर कपाल कलर गर्छन्।

कलर गर्दा ध्यान दिऊँ
कलर गर्नुपहिले केही कुरामा ध्यान दिनुपर्छ। सैलुन वा पार्लरमा कलर लगाउन भन्दै ग्राहक आएको छ भने पहिले त उसको चाहना के हो, कस्तो कलर लगाउन खोजेको हो, सोध्नुपर्छ।

ग्राहकको कुरा बुझेपछि उसको कपाल कस्तो छ ? कपालको रेसा मोटो÷पातलो छ कि ? उसको पेसा के हो ? उसले भनेको कलर उसको व्यक्तित्वलाई सुहाउँछ कि सुहाउँदैन ? कस्तो कलर गर्दा ठिक हुन्छ भनेर बताउनुपर्छ।

ग्राहकलाई सबै कुरा थाहा नहुन सक्छ। कपालको कलर र व्यक्तिको काम मिलेन वा उसको शरीरको छालाको रङ अनुसार भएन भने भद्दा देखिन्छ। त्यसैले त्यसका बारेमा सल्लाह दिनु सेवा दिने व्यक्तिको दायित्व हो।

कपाल कलर गर्नु भनेको प्राकृतिक रङलाई बाहिरी रङले छोप्नु हो। कलर गर्दा कपालको गुणस्तर अनुसारको कलर कति लगाउने, कति समय राख्ने भन्ने हुन्छ। कपाल कलर गर्नुलाई हामी अर्को भाषामा डेभलपर भन्छौँ। त्यो एक प्रकारको केमिकल हो, जसले रङलाई गाढा बनाउन सहयोग गर्छ। कपालको गुणस्तर अनुसार नै कति केमिकल प्रयोग गर्ने भन्ने निर्धारण हुन्छ।

कति मानिसलाई कलर गरे पनि कपाल झनै बिग्रिएको भन्ने लाग्छ। हो, कति जनाको कपाल बिग्रिन पनि सक्छ। तर त्यसको कारण छ।

पहिलो, कलर गर्दा सावधानी कम भएको हुनसक्छ। दोस्रो भनेको कलरपछि कपालको हेरचाह नभएको हुनसक्छ। खासमा कलर गरेपछि कपालको सुख्खापन बढाउँछ। सुख्खापन कम गर्न मसाज, ट्रिटमेन्ट गरेर केयर गर्नुपर्ने हुन्छ।

कसले गर्न हुँदैन हेयर कलर?
हेयर कलर युवायुवती र प्रौढ मानिसले बढी गर्छन्। कलर गर्न जाँदा स्वास्थ्यबारे पनि जान्नु आवश्यक हुन्छ।

पहिलो कुरा, गर्भवतीले कपाल कलर गर्नै हुँदैन। त्यस बाहेक दमका रोगी, अन्य दीर्घरोगी, श्वासप्रश्वास सम्बन्धी समस्या भएका र एलर्जीको समस्या हुने व्यक्तिले सकेसम्म हेयर कलर नगर्दा हुन्छ। गर्भवतीलाई र पेट भित्रको बच्चालाई समेत हानि हुनसक्छ। यदि टाउकोमा कुनै चोटपटक लागेको छ भने पनि कलर गर्नु हुँदैन।

यस्ता व्यक्तिलाई कलर गर्दा आउने गन्धले समस्या हुन्छ। कलर गर्दा निस्कने गन्धले हामी कलर गरिदिने मानिसलाई पनि मास्क लगाएर गर्दा समेत गाह्रो हुन्छ भने समस्या भएका मानिसलाई त जटिल समस्या नै निम्तन सक्छ।

सकेसम्म कलर गर्दा यो विषयमा सिप हासिल गरेको व्यक्तिसँग गराउनुपर्छ। केही हुँदैन भनेर घरमा आफैं कलर गराउँदा कपाल जल्न सक्ने, कलरले जरामा छोयो भने त्यसले पोलेर घाउ हुनसक्छ।

यस्तो समस्या भएर कति व्यक्ति अस्पताल नै जानुपरेको छ भने कतिले घरमा वा पार्लरमा कलर गर्दा बिग्रियो भन्दै गुनासो गरिरहेका हुन्छन्।

कलर गरेपछि कपाल सुक्खा वा ड्राई हुन्छ, जसले कपाल टुक्रिने, झर्ने समस्या आउन सक्छ। त्यसलाई रोक्न बेलाबेलामा कपालको मसाज, ट्रिटमेन्ट गर्नुपर्छ। यी काम घरमा पनि गर्न सकिन्छ। सम्भव भएमा पार्लर गएर पनि गर्न सकिन्छ।

कलर गरेपछि केही महिना कपाल स्ट्रेट गर्ने, कर्ली गर्ने गर्न हुँदैन। त्यसो गर्दा कपाल बिग्रिन्छ। कलर गर्दा पहिले नै केमिकलले कपाल कमजोर बनाएको हुन्छ। स्ट्रेट वा कर्ली गर्दा थप केमिकल प्रयोग हुने भएकाले कपाल नराम्रोसँग ड्यामेज हुनसक्छ। कलरपछि प्राकृतिक त हो नि भनेर थप मेहन्दी पनि प्रयोग गर्न हुँदैन।

कपाल कलर गर्दा लाग्ने खर्च पनि कलरका लागि प्रयोग हुने उत्पादनमा निर्भर हुन्छ। कुन कम्पनीको उत्पादन हो, कुन स्थान कलर गर्दै हुनुुहुन्छ भन्ने हुन्छ। धेरैले आफ्नो सेवा अनुसारको मूल्य राखेका हुन्छन्। त्यसैले यसको मूल्य फरकफरक हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *