न्यूज अपडेट
काठमाडाैं, २ मंसिर

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भन्छन्, ‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर पनि निर्णय गर्दैछौं, योपटक सबैले घरघरमा पूजा गर्नुपर्छ ।’ दाहालका अनुसार जाडोको समयमा संक्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको हो ।
‘वर्षौंदेखि चलिआएको रथ यात्राहरुदेखि लिएर मन्दिरहरु पनि दसैं, तिहार लगायतका चाडपर्वमा खुलेनन्’, दाहालले भने, ‘त्यसैले छठ पर्वमा पनि आमनागरिकले प्रशासनको अनुरोध मानिदिनु हुनेछ भन्ने विश्वास छ ।’
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार भिडभाड हुने खालका गतिविधिमा रोक लगाउने मन्त्रिपरिषद्कै निर्णय छ । त्यही अनुसार देउसी, भैलो जस्ता गतिविधिलाई समेत रोक लगाइएको उनी बताउँछिन् ।
‘सरकारको निर्णयको कार्यान्वयन गराउने क्रममा भिडभाड र भेला जम्मा हुने काम गर्न दिएका छैनौं, औपचारिक रुपमा बाजागाजा पनि बजाउन दिएका छैनौं’, पाण्डे भन्छिन्, ‘छठमा पनि हाम्रो नीति त्यही हो ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्वास्थ्य मापदण्ड पालना गरेर सीमित रुपमा पर्व मनाउनुपर्ने बताए । उनले भने, ‘पहिले जस्तो भिडभाड र भेला गर्न पाइएन, यसपालि फरक परिस्थिति भएकाले सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ ।’
