बैकल्पिक चक्रपथसहित नयाँ सहर बनाउने राज्यमन्त्री मानन्धरको घोषणा, १६५ निर्वाचन क्षेत्रमा कम्तिमा एक नयाँ कार्यक्रम

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, १६ बैशाख

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत् काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने बताए । मंगलबार सहरी विकास मन्त्रालयमा सांसदहरुसँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा- छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह,ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ । यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ ।

राज्यमन्त्री मानन्धरले नयाँ वर्षको बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिएका छन् । आगामी वर्षको बजेट मार्फत् कम्तिमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिए । मन्त्री मानन्धरले सिमान्तकृत र अति विपन्न परिवारका लागि राज्यले आर्थिक सहायता मार्फत् फुस र खरको छानो विस्थापन गराई आधुनिक जस्तापाताको छानो निर्माणमा सहयोग गर्ने गरी बजेट व्यवस्थापन थालिएको जानकारी दिए ।

मन्त्री मानन्धरले कोभिड-१९ का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत् कम्तिमा एक नयाँ कार्यक्रमसहित बजेट व्यवस्थापन गरिने जानकारी दिए । मन्त्री मानन्धरले देशभरका जनताले प्रत्याभुति गर्नेगरी सरकारले बजेट ल्याउने बताउँदै सबै निर्वाचन क्षेत्रमा समानताका आधारमा आयोजना तय गरिने जानकारी दिए । छलफलमा मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केही नयाँ कार्यक्रमसहित बजेटको तयारी थालिएको जानकारी दिए ।
सचिव अधिकारीले मन्त्रालयले चालु अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै बैकल्पिक चक्रपथ सहितको नयाँ सहर आयोजना र कम्तिमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउनेगरी बजेट आउने जानकारी दिए । छलफलमा सहभागी सांसदहरुले मन्त्रालयले बजेट निर्माणका क्रममा आफुहरुलाई बोलाउनु खुसीको कुरा भएको बताए ।

दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले यस अघि सांसदहरुलाई छलफलमा नबोलाउँदा बजेट व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै मन्त्री मानन्धरले आफुहरुलाई बोलाएर संसदीय गरिमा उच्च पारेको बताए । काडमाडौं ८ का सांसद जीवनराम श्रेष्ठले काठमाडौंका केही स्थान दुर्गमसरह रहेको बताउँदै प्राथमिकताका साथ कार्यक्रम ल्याउन आग्रह गरे । मन्त्री मानन्धरले १६५ वटै निर्वाचन क्षेत्रका सांसदहरुसँगको छलफल सकेर सबै क्षेत्रमा आधारीत बजेट ल्याउने बताएका छन् । बिहीबार पनि विभिन्न निर्वाचन क्षेत्रका सांसदहरुसँग छलफल गरिने मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव ओम राजबाहकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *