कोरोनाको कहरमा छट्पटिएको जीवन

विचार विशेष समाचार समाचार स्वास्थ्य

डा. श्याम लाेहनी

आज मनमा धेरै कुराहरु खेलिरहेका छन्। छट्पटी बढिरहेको छ। के गरौं, कता जाऔं बिखलबन्दमा छु। सानोसानो कुराले पनि तनाव बढिरहेको छ। मन किनकिन बेचैन छ। आफूले जानेका कुराहरु सकेसम्म छिटोभन्दा छिटो लेखुँजस्तो लागिरहेको छ।

औषधि तथा विष विज्ञानका कुराहरु, जनस्वास्थ्यका विषयहरुमा केही न केही लेखिरहने बेचैनी कतिसम्म बढेको छ भने केही नयाँ पो पत्ता लागिहाल्छ भन्ने लागेर मन चञ्चल हुनु भइरहेको छ।

जुन कुरामा म त्यति ध्यान दिन्न थिएँ, आजभोलि चासो अलि बढेको पाइरहेको छु। आफ्ना नातागोता, साथीभाइ, इस्टमित्र को अलि बढी चिन्ता लिन थालेको हो कि? कसैलाई अनलाइन देख्ने बित्तिकै कुरा गरिहालौं जस्तो अलि बढी नै लाग्न थालेको छ। भूकम्पको बेलामा झैं अहिले कोरोनाको महामारीले पुराना सम्बन्धलाई पुनर्ताजगी दिएको पो हो कि!

एकातिर सरकारले केही गरेन भनेर कोलाहल गर्नेहरु केही राम्रा काम गर्दा पनि धारे हात लाएर आर्तनाद गर्नमा व्यस्त छन्। तर अहिले विपक्षी दलहरुले भने सरकारको राम्रा कामहरुको समर्थन र प्रशंसा गरेर नेपाली जनातालाई ठूलो गुन लगाएका छन्, परिपक्वता देखाएका छन्।

विगतलाई फर्किएर हेर्दा हामीले स्वास्थ्य संस्थामा लगानी गरेनौं, स्वास्थ्यकर्मीहरुको शिक्षा र वृत्ति विकासमा ध्यान दिएनौं बरु भ्यु टावर र अन्य पूर्वाधारमा लगानी गर्यौं। स्वास्थ्य अनुसन्धानमा कम बजेट बिनियोजन गर्यौं।  यो भन्न खोजेको होइन कि, भ्यु टावर र अन्य पूर्वाधार विकास गर्नु हुन्न, तर स्वास्थ्यमा लगानी कम भयो।

एकातिर स्वास्थ्य नै धन हो भन्ने तर लगानी नगर्नाले ती संस्थाहरु जेनतेन घिस्रिरहेका छन्। निजी अस्पतालहरुले कोरोनाको भयले गर्दा सेवा प्रवाह नगरेर भने गल्ती गरेकै हो। यस्तो बेला झन् बढी सेवा पो प्रवाह गर्नुपर्ने हो त।

हुन त व्यक्तिगत सुरक्षा कवचको अभावले निजी तथा सार्वजनिक दुवै स्वास्थ्य संस्थाहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको बाजी लगाएर काम गर्नु परिरहेको छ।

जुन कुरा बजारमा अभाव हुनसक्ने आशंका हुन्छ, सबैले सकेजति थुपारेर राख्न्न खोज्छन्। बजारमा कृत्रिम अभाव सिर्जना हुन्छ। कालोबजारीहरु सल्बलाउन थाल्छन्। यस्तो समयमा सरकारको अनुगमन कडा भएमा र कालोबजारीलाई निरुत्साहित गर्न उचित व्यवस्था भएमा जनतालाई राहत पुग्थ्यो। जनता पनि उत्तिकै सचेत हुनु जरुरी छ। छिनछिनमा सम्पर्क गर्नाले टेलिफोनको भार वाहन गर्ने क्षमतामा ह्रास आउनु स्वभाविक हुन्छ र चाहिएको बेलामा संपर्क हुन सक्दैन।

मानिसको स्वभाव नै हो, जुन कुरा नगर भन्यो, त्यही गर्न मन लाग्छ। भीडभाड नगरेर, स्कुल, रेस्टुरेन्ट, कलेज तथा सिनेमाहलहरु बन्द गरेर संक्रमण फैलन नदिनु नै अहिलेको उत्तम विकल्प हो।

सरकारले अहिले जारी गरेको लकडाउनको पालना गर्नु हामी नेपालीको कर्तव्य हो र अहिलेको परिस्थितिमा सबैले पालना पनि गरिरहेका छौं। सही तथ्यांकले हामीलाई विपद निरुपणमा मद्दत गर्छ। यसले उपयुक्त नीति तथा कार्यविधि निर्माण गर्न सहयोग गर्छ तर कहिलेकाहीं भ्रम पनि र्सिजना गर्न सक्छ। अन्य देशहरुले कसरी यो महामारीको सामना गरिरहेका छन्, त्यसबाट सिकेर हामीले अवलम्बन गर्न सके यो भयावह परिस्थितिबाट छिट्टै मुक्ति मिल्ने थियो।

यो बेला संकुचित विचार राखेर, कुनै देश, समाज र संस्कृतिलाई दोषारोपण गर्नु गलत मात्र नभएर अक्षम्य अपराध नै हो भन्दा गलत नहोला। केही व्यक्ति त्यसैमा रमाएको भने देखिन्छ। यो विषम परिस्थितिमा एकअर्कालाई दोष लगाउने होइन, मिलेर कसरी यसबाट त्राण पाउन सकिन्छ भनेर सोच्नुपर्छ।

कोरोना भाइरसको संक्रमण फैलाउने क्षमता अन्य यस्तै जिवाणुको भन्दा धेरै भएकोले पनि यो द्रुत गतिमा संसारभर फैलिरहेको छ तथापि यसले गर्नसक्ने मानवीय क्षति सार्स र मर्सभन्दा कम छ। तर उमेर ढल्केका बिरामीलाई भने यसले ठूलो हानि पुर्याउन सक्ने तथ्यांक हामीसामु छ।

त्यसैगरी अन्य नसर्ने रोगहरु लागेका व्यक्तिहरु जस्तै मुटुका बिरामी, मधुमेह, उच्च रक्तचाप, अर्बुद रोगहरु तथा मानव अंग प्रत्यारोपण गरेका बिरामीमा समेत मृत्युदर उच्च पाइएको छ।

एउटा रोचक प्रसंग, अहिलेसम्मको तथ्यांकले के देखाउँछ भने कोरोनाको संक्रमण बच्चाहरुमा फैलने दर अत्यन्त कम भएकोले अस्ट्रेलियामा बच्चाहरुको स्कुल बन्द गरिएको थिएन।

दुःख लाग्छ, यस्तो बेलामा कोरोना सम्बन्धी भ्रमहरु समेतले मानिसको ज्यान गइरहेको छ। इरानमा रक्सीका कारण ३०० जनाको मृत्युको खबरले विचलित बनायो। कडा रक्सी सेवनले कोरोना लाग्दैन भनेर घरमा बनाएको रक्सी सेवन गर्दा मिथाइल अल्कोहोलले मुस्लिम राष्ट्रमा समेत (जहाँ रक्सी निषेधित छ) निर्दोषको ज्यान गयो। यसले के पनि देखाउँछ भने सही तर साधारण जनस्वास्थ्यको सूचनाको कति महत्व हुन्छ।

यो महामारीले एकातिर मानिसमा त्राहिमाम फैलाइरहेको छ भने अर्कातिर केही व्यक्तिहरु भ्रम फैलाएर व्यक्तिगत फाइदा लिन आतुर छन्। अझ एकातिर विश्वका विकसित देशहरु यो भाइरसको औषधि र खोप पत्ता लगाउन लागिपरेका छ, अर्कातिर नक्कली चिकित्सकहरु कोरोनाको औषधि पाइन्छ भन्ने बोर्ड लगाएर सोझासाझा जनता लुट्न ढुकेर बसेका देखिन्छन्।

हाम्रो देशमा हुँदाखाने वर्गका मानिसहरुलाई लकडाउनले ठूलो असर गर्ने भएकोले सहरमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुका लागि सरकारले यथाशीघ्र राहतको प्याकेज ल्याउनु जरुरी छ। लामो समय लकडाउन भएको खन्डमा सरकारले कर मिनाहा, लकडाउन भएको महिनाको बैंकको किस्ताको समय थपस,घर भाडामा राहत तथा कोरोनाको टेस्ट र कोरोनाबाट संक्रमितहरुको स्वास्थ्य उपचार खर्च व्यहोरिदिनुपर्छ। सकेको खन्डमा प्रत्येक हप्ता राहत स्वरुप खर्चको व्यवस्था समेत गर्नतर्फ सरकार पछि हट्नु हुँदैन।

अहिलेसम्म कोरोना पोजिटिभको संख्या नगन्य देखिएको थोरै जनामा टेस्ट भएर पनि हुनसक्छ। टेस्टलाई व्यापक तथा सबै प्रदेशहरुमा विस्तार गर्नुको विकल्प छैन। अहिलेसम्म विदेशबाट आएका र उनीहरुको नातेदारलाई मात्र संक्रमण पोजिटिभ देखिएको छ तर यो संक्रमण समाजमा फैलिएर महामारीको रुप धारण गरेमा स्थिति भयावह हुनसक्छ। हाम्रो सीमित स्रोतसाधन भएको तथा सीमित जनशक्तिमा निर्भर स्वास्थ्य संस्थाले महामारीको रुप धारण गरेको खन्डमा नधान्न सक्छ।

कोरोनाका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्न अस्थायी व्यवस्थाको तुरुन्त जोहो गर्न ढिलो गर्नुहुँदैन।

अन्त्यमा, हामी सबै मिलेर र एक्यबद्धताका साथ अघि बढेमा यो महामारीबाट त्राण पाउन सकिन्छ। अन्यथा  ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ। स्वस्थ्य रहौँ र अरुलाई पनि स्वस्थ्य रहन मद्दत गरौं।(स्राेतः स्वास्थ्यखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *