सरकारी अस्पतालमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म अनिवार्य ओपिडी सञ्चालन हुने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ७ जेठ
अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिने

सरकारले सामुदायिक अस्पतालहरुको बहिरंग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाउने नीति लिएको छ।

शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

सामुदायिक अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिने नीति लिएको छ।

‘सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्‍चित गरिनुका साथै बहिरङ्‍ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्‍चालन हुने व्यवस्था मिलाइनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

अस्पतालको ओपिडि सेवा १२ घण्टा सञ्चालन गर्ने सरकारको नीति नयाँ भएपनि अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको नीति भने नयाँ होइन।

यसअघि सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागु गर्ने घोषणा गरेको थियो।

तर सो आर्थिक वर्षको अन्तिम महिनामा १० अस्पतालमा मात्र सो कार्यक्रम लागु गरिएको घोषणा गर्दै बजेट विनियोजन गरियो ।

१० वटा अस्पतालमा बजेट नै विनियोजन गरेर कार्यक्रम लागू भएको घोषणा पनि गरिएको थियो।

राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू भएको बताइएको थियो। तर यी अस्पतालहरुमा कार्यक्रम सफल नभएर पुन रोकियो।

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा  फेरि तीन वटा अस्पतालबाट यो कार्यक्रम लागू गर्ने तयारी अगाडि बढाएको थियो।

मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख गरेको थियो।

यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने भनिएपनि चालु आर्थिक वर्षमा भने यो कार्यक्रम कार्यन्वयनमा आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *