वीर  र पाटन अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना देखिएन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

वीर र पाटन अस्पतालमा सोमबार मृत्यु भएका तीन जना बिरामीमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन र वीर अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नदेखिएको जनाएको छ।उपचारका क्रममा मृत्यु भएपछि उनीहरु तीन जनाको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

काठमाडौं सतंगुलकी एक महिला, कालिमाटीका एक पुरुषको वीर अस्पतालमा र भारतबाट फर्किएका धादिङका एक पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृत्यु भएका तीन जना ज्वरोसँग सम्बन्धित भएकोे भएपनि ल्याव परीक्षणमा कोरोना संक्रमण नदेखिएको बताए।

ज्वरोको बिरामी भन्ने बित्तिकै अस्पतालहरु उपचार गर्न डराउने गरेको उल्लेख गर्दै उनले यो प्रवृत्ति तत्काल रोक्नुपर्ने बताए। प्रवक्ता देवकोटाले भने, ‘हरेक अस्पतालमा ज्वरोको बिरामी भन्ने बित्तिकै डराउने गरेको प्रवृत्ति छ, यो रोक्नुपर्छ। किनभने कोरोना संक्रमण बाहेक अन्य रोगमा पनि ज्वरो आउँछ। ज्वरोको बिरामीले उपचार नपाउँदा बिरामीको मृत्यु पनि हुन सक्छ।’

कुनै पनि किसिमको इजरजेन्सी सेवा नरोक्न मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ। बिरामीलाई उपचार सेवाबाट बञ्चित नगराउन भन्दै मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको हो।

‘कुनै पनि अस्पतालले इमरजेन्सी सेवा नदिने नगर्नु होला’, प्रवक्ता देवकोटाले भने, ‘हामी कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्दैछौ तर अर्कोतिर बिरामी उपचार नपाउँदा समस्या जटिल भएर मृत्यु हुन सक्छ।यो विषयलाई मन्त्रालयले अत्यन्त गम्भीर भएर हेरेको छ। यो फेरी दोहोरिदैन भन्ने हामीलाई आशा छ।’

अस्पतालमा हुने हरेक मृत्युलाई कोरोनासँग नजोड्न पनि मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *