घरघरमा तरकारी पुर्‍याउँदै मउवासंघ

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
हेटौंडा, १६ चैत

Collage of fruits and vegetables

मकवानपुर उद्योग वाणिज्य संघले लकडाउनको समयमा हेटौंडा बजारका घरघरमा तरकारी उपलब्ध गराउने भएको छ । ठेलागाडामार्फत् बिहान र बेलुका उपभोक्ताको घरघरमै तरकारी उपलब्ध गराउने निर्णय भएको मउवा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताए ।
लकडाउनको बेला तरकारी किन्न बाहिर निस्कँदा भीडभाड हुने र कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकोले घरघरमै तरकारी उपलब्ध गराउने तयारी भइरहेको जानकारी न्यौपानेले दिए । आधा सिलिण्डर ग्यास उपभोक्तालाई उपलब्ध गराउने निर्णय भएको छ । निकट भविष्यमा आउनसक्ने संकटलाई दृष्टिगत गर्दै ग्यास स्टक राखेर आधा सिलिण्डर मात्रै वितरण गर्ने निर्णय गरिएको बरिष्ठ उपाध्यक्ष न्यौपानेले बताए ।
हेटौंडाको विभिन्न स्थानमा कोरोना भाइरससम्बन्धी जनचेतनामुलक भिडियो, फ्ल्याक्स प्रिन्ट र साबुन पानीले हात धुने स्थानको ब्यवस्था गरिएको छ । कोरोनालाई दृष्टिगत गर्दै हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकप्वाइन्ट तथा हेल्थ डेक्सको शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरभित्र सेवाग्राहीका लागि कोरोना भाइरससम्बन्धी जनचेतनामुलक भिडियो, फ्ल्याक्स प्रिन्ट र साबुन पानीले हात धुने स्थानको व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा सर्वपक्षीय जिल्ला अनुगमन टोलीले हेटौंडा बजारको स्थलगत अनुगमन गरेको छ । टोलीले कोरोना भाइरस संक्रमणलाई मध्येनजर गर्दै औषधि पसल र खाद्यान्न पसलको स्थलगत अनुगमन गरेको हो । प्राय औषधि पसलमा सेनिटाइजर र मास्कको अभाव देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रत्येक पसलहरुमा मूल्यसूचि नराख्ने पसलमा ३ दिनभित्र राख्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीले प्रत्येक खाद्यान्न पसलमा मूल्यसूची राखी सबै उपभोक्तालाई सर्बसुलभ रुपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन जिप्रकाको तर्फबाट निर्देशन जारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । बजारमा दैनिक उपभोग्य बस्तुको कालाबजारी भएको भन्दै जनगुनासो आएपछि प्रदेशको उद्योग मन्त्रालयका अधिकारीहरुले पनि बजार अनुगमनलाई तीब्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *