आजदेखि के खुल्ने के बन्द गर्ने ? सरकारका प्रवक्ता भन्छन्–एकदिन धैर्य गर्नुस्  भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पनि बन्द गर्नेबारेमा छलफल 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ९ चैत

आजदेखि के खुल्ने के बन्द गर्ने ? सरकारका प्रवक्ता भन्छन्–एकदिन धैर्य गर्नुस् 

 “नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै भनेका थिए, “देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।  मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।  विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।”प्रधानमन्त्रीको सम्बोधनबाहेक सरकारले आधिकारिकरुपमा यसबारेमा भने कुनै निर्णय गरेको छैन ।आजदेखि के बन्द गर्ने र के नगर्ने भन्ने विषयमा भने जनता अन्योलमा परेको देखिन्छ ।

तर सरकारका एकजना उच्च अधिकारी भन्छन्, “के चल्ने र के नचल्ने भन्ने भनेर कन्फ्युज हुनै पर्दैन । अहिले भीडभाड नगर्ने हो । अत्यावश्यकबाहेकका कुनै पनि व्यवसाय सञ्चालन नगर्ने भनिएको । प्रधानमन्त्रीको सम्बोधनमा पनि त्यो कुरा स्पष्ट छ । त्यसैले केही दिन पर्खौं । सकेसम्म घरबाट बाहिर अत्यावश्यक काममा बाहेक ननिस्कौं ।”

प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए, “तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको छ ।”

आजदेखि कुन–कुन कार्यालय खुल्छन् ?

गृह मन्त्रायलका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्मा भन्छन्,“देशभरका सबै सरकारी कार्यालय खुल्छन् । तर अत्यावश्यकबाहेकका सेवा भने प्रदान हुने छैनन् । यो कुरा जनताले पनि बुझ्नुप¥यो ।”

तर पनि कतिपय सरकारी अधिकारी पनि अन्योलमा परेको देखिन्छ ।

अहिले नयाँ बसपार्क, कोटेश्वरलगायतका क्षेत्रबाट बाहिरिने यात्रु भने बाक्लै देखिन्छन् ।

सार्वजनिक यातायात के हुन्छ ?

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार आज विभिन्न जिल्लामा जाने लामो दुरीका सयवटा सवारीसाधन थप गरिएको छ । तर भोलिदेखि लामो दुरीका सवारी साधन पनि बन्द हुनेछन्  ।

उनले भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारीसाधन पनि बन्द गरिने बताए ।

उनले बाह्रखरीसँग कुरा गर्दै भने, “आज हामीले सयवटाजति बस थपेका छौं । विशेषगरी धनगढी, दाङ, सुर्खेत र नेपालगञ्जमा अलि बढी चाप भएकाले त्यसतर्फ गाडी थप गरिएको हो ।”

उनका अनुसार भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारीसाधन पनि बन्द गर्ने विषयमा कुराकानी भइरहेको छ ।

“यसबारेमा हामी छलफलमा छौं,” उनले भने, “आज बैठक बसेर थप निर्णय गरिनेछ ।”

के के हुन् अत्यावश्यक सेवा ?

नेपाल राजपत्रमा १९ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छ । ती यसप्रकार छन्
१. डाँक, तार वा टेलिफोन सेवा

२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा (प्रधानमन्त्रीले गरेको सम्बोधनमा भने आइतबारदेखि सार्वजनिक सवारीका साधान नचलाउन आग्रह गरिएको छ भने नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडान रद्द गरिएको छ ।)

३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा

६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७. सञ्चार सेवा

८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९. खानेपानीको सञ्चालन तथा वितरण सेवा

१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा

११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा

१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा

१४. बैंकिङ सेवा

१५. बिमा सेवा

१६. विद्युत् सेवा

१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१८.मौसम पूर्वानुमान महाशाखा

१९.औषधि निर्माण तथा बिक्री वितरण

यता सरकारका प्रवक्ता अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारले के के बन्द गर्ने के के खुला गर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी गरेकाले एकदिन धैर्य गर्न आग्रह गरेका छन् ।

उनले  भने, “मन्त्रिपरिषदले निर्णय गर्न बाँकी छ । जनतालाई एकदिन धैर्य गर्न आग्रह गर्दछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *