अभिभावकसँगै बालबालिका इँटा उद्योगमा, परीक्षामा न्यून विद्यार्थी

अर्थ/वाणिज्य शिक्षा समाचार

रौतहट, ५ चैत

इँटा उद्योगमा अभिभावकसँग काम गर्न बालबालिका गएपछि चन्द्रपुर नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको छ । विद्यालयमा भर्ना भएपनि नियमित रुप पढ्न नआएपछि विद्यार्थीको संख्या घटेको हो । चन्द्रपुर नगरपालिका वडा २ मा रहेको दिपज्योती प्राथामिक विद्यालयमा ७९ जना विद्यार्थी रहेका छन् । तर नगरस्तरीय वार्षिक परीक्षामा भने १७ जना विद्यार्थी मात्र उपस्थित भएको विद्यालयका प्रधानाध्यापक मनिषकुमार चौवेले बताए । अधिंकाश यहाँका बालबालिका अभिभावकसंग इँटा उद्योगमा मजदुरीका लागि गएका कारण परीक्षामा कम विद्यार्थी सामेल भएको उनले बताए । ‘कक्षा ३ मा ४ जना र कक्षा ४ मा ३ जना विद्यार्थीले परीक्षा दिदै छन्,’ उनले भने, ‘अन्य कक्षा कोठामा पनि विद्यार्थीको संख्या न्यून छ ।’ प्रत्येक बर्ष यहाँका बालबालिका अभिभावकसंगै इँटा उद्योगमा जाने गरेपछि विद्यालय नै सुनसान हुने गरेको उनको भनाइ छ । दिवाखाजा, छात्रवृत्ति जस्ता कार्यक्रम लागू भएपनि अभिभावकले बालबालिका विद्यालय नपठाउने गरेको उनले गुनासो गरे । अभिभावकलाई पटक पटक सम्झाउँदा समेत मान्दैनन् उनले भने । यस किसिमको समस्या नगरभित्रका अधिंकाश विद्यालयमा रहेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर कुश्वारका अनुसार बिपन्न समुदायका बालबालिका यस विद्यालयमा अध्ययनरत रहेका छन् । यहाँका बासिन्दा मजदुरीका लागि अन्यत्र जाने र संगै बालबालिका लैजाने गरेकाले यस्तो किसिमको समस्या आएको उनले बताए । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको श्री कृषक समूह प्राथमिक विद्यालयमा ७१ जना विद्यार्थी रहेकोमा २६ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् । विद्यालयका प्रधानाध्यापक सतिशकुमार साहका अनुसार अभिभावकसँगै मजदुरीका लागि बालबालिका इँटा उद्योगमा गएका छन् । चन्द्रपुर नगरपालिका वडा नं. ५ मा रहेको आधुनिक प्राथमिक विद्यालयमा पनि विद्यार्थीको संख्या न्यून छ । कामका लागि बालबालिका अभिभावकसँग गएपछि परीक्षामा समेत कम विद्यार्थी सामेल भएको शिक्षकहरु बताँउछन् । चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले यस्तो किसिमको समस्या जटिल रहेकाले समस्या समाधानका लागि नगरपालिकाले योजना बनाउने बताए । नगर शिक्षा समिति गठन गरिसकेको उल्लेख गर्दै ऐन, नियम र नीतिका कारण ढिलाइ भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *