वासिङ्टन, ३ चेैत
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट जोगाउन विकास गरिएको खोप पहिलोपटक मानवमा परीक्षण हुने भएको छ ।

अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्मित खोप परीक्षण सियाटलस्थित केइजर पर्मान्टे रिसर्च फ्यासिलिटीमा सोमबारबाट सुरु हुने र त्यसका लागि ४५ जना स्वास्थ्य स्वयंसेवक तयार रहेका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्वस्थ व्यक्तिमै खोप परीक्षण हुन लागेको हो। खोपमा वास्तविक कोरोना भाइरसको कुनै मात्रा नरहेको तर भाइरसबाटै लिइएको हानि नहुने खालका जिनेटिक कोड भने हुने अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
यो खोपले काम गर्छ वा गर्दैन भन्ने पत्ता लगाउन कैयौं महिना लाग्न सक्ने उनीहरुको भनाइ छ। पहिलो चरणमा बिरामीको कोषलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक पर्ने प्रोटिन उत्पादनका लागि सक्रिय बनाउने वैज्ञानिकको योजना छ।(एजेन्सी)