भेरीमा व्यवसायिक रयाफ्टिङ्ग शुरु गर्दा आन्तरिक पर्यटकको बढ्दो आकर्षण

अन्तर्वार्ता समाचार

सुर्खेत, २२ बैशाख


भेरी नदीमा रयाफ्टिङ्ग गर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले निजी कम्पनीहरुले भेरी नदीमा जलयात्रा (रयाफ्टिङ) सुरु गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । प्रदेश राजधानी सुर्खेत खण्डको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा जलयात्रा शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार मेहलकुनामा नारियल फोडेर जलयात्रा शुरु गरेका छन् । उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि भेरी तथा कर्णाली नदी महत्वपूर्ण गन्तव्य बन्दै गएको बताए । ‘भेरीमा रयाफ्टिङ शुरु भए यता उल्लेख्य मात्रामा बाह्य पर्यटक सुर्खेतमा भित्रिएका छन,’ मन्त्री बुढाले भने, ‘यसलाई अझै प्रचार–प्रसारमा ल्याउन निजी क्षेत्रसँग मिलेर मन्त्रालय योजनाबद्ध ढंगले अघि बढ्छ ।’ उनले नजिकको छिमेकी मुलुक भारतका पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउन मन्त्रालयले आवश्यक कार्यक्रम बनाउने जानकारी दिए । ‘कर्णाली प्रदेशको आर्थिक विकासको एक महत्वपूर्ण आधार पर्यटन हो,’ उनले भने, ‘प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशमा सांस्कृतिक सम्पदाले पनि पर्यटकीय महत्व बोकेका छन् ।’ उनले भेरी र कर्णाली नदीमा ¥याफ्टिङ्गको व्यावसायिक शुरुवात गरि स्थानीय तहसँगै प्रदेश सरकारले पर्यटनबाटै प्रदेशको आर्थिक समृद्धि ल्याउन सक्ने दावी गरे । उनले साहसिक पर्यटन मार्फत आन्तरिक तथा बाह्य पर्यटकमा आकर्षण बढाई विकास तथा व्यापारको प्रवद्र्धन गरिने जनाए । उनका अनुसार मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नेछ । ‘कर्णाली प्रदेशका नदीहरुमा रयाफ्टिङ्गको बलियो सम्भावना हुँदाहुँदै व्यवसायिक हिसाबले रयाफ्टिङ्ग सञ्चालनमा रहेका कठिनाईलाई अब प्रदेश सरकारले सम्बोधन गर्छ,’ उनले भने, ‘रयाफ्टिङ्ग व्यवसायिहरुले भोक्दै आएका समस्याप्रति आफु गम्भीर रहेकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले दक्ष जनशक्ति तयार गर्नका लागि विशेष प्याकेज ल्याउनेछ ।’ उनले पर्यटनमा पनि सरकारले साहसिक पर्यटन प्रबद्र्धनका कामलाई विशेष प्राथमिकतामा राखेको जनाए । उनका अनुसार आन्तरिक पर्यटन प्रबद्र्धनका साथै साहसिक पर्यटनको महत्वपूर्ण आधार रयाफ्टिङलाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धनका लागि मेहनत गरिने छ ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकु्मार प्रधानले रयाफ्टिङका माध्यमबाट कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भेरी पुलदेखि कर्णाली (चिसापानी) सम्म रयाफ्टिङ सञ्चालन गर्नुपर्ने बताए । ‘छोटो दूरीका साथै कम्तीमा दुई–तीन दिनको प्याकेज बनाउन सकेको खण्डमा बाह्य पर्यटक आकर्षित गर्न सहज हुन्छ’ उनले भने, ‘मन्त्रालयका तर्फबाट रयाफ्टिङ व्यवसायको प्रवद्र्धनका लागि हामी सहयोग गछौं ।’
भेरी–कर्णाली रयापिड एड्भेन्चर प्रालिका सञ्चालक समुन्द्र गौतमले पछिल्लो समयरयाफ्टिङ गर्नेहरु बढ्दै गएको बताए । ‘हरेक सिजनमा रयाफ्टिङ गर्नेहरुको संख्या बढ्दै गएको छ’ उनले भने, ‘आन्तरिक मात्रै होइन, बाह्य पर्यटकहरु पनि बढ्दै गएका छन् ।’ उनले सरकारी स्तरबाट दक्ष जनशक्ति उत्पादनसँगै रयाफ्टिङको बजारीकरण गरि दिन आवश्यक रहेको औल्याए । उनका अनुसार प्रदेशमा दक्ष जनशक्ति नहुँदा बाहिरी जिल्लाबाट महँगो शुल्क तिरेर गाईड ल्याउनु परिरहेको छ । भेरीमा जलयात्राको लागि फागुनदेखि जेठ महिनासम्मको समय उपयुक्त मानिन्छ । मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर दूरीको जलयात्रालाई दुई खण्डमा विभाजन गरेर जलयात्रा गराउने गरिएको गौतमले जानकारी दिए । मेहलकुनादेखि भेरी पुलसम्मको २१ किलोमिटरलाई पहिलो खण्ड र भेरी नदीदेखि रानीघाटसम्मको २४ किलोमिटरको दूरीलाई दोस्रो खण्डका रुपमा विभाजित गरिएको छ । ‘पहिलो खण्डमा धेरै रयापिड छैन, यहाँ सबैले सहजै जलयात्रा गर्न सक्छन’ गौतमले भने, ‘दोस्रो खण्डमा धेरै रयापिड भएकाले साहसिक पर्यटकहरुका लागि उपयुक्त छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *