भक्तपुर, २४ फागुन
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिक कार्यकर्ताहरुले अन्तरराष्ट्रिय क्रान्तिकारी महिला नेतृहरुको जीवनी अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेजको संयुक्त आयोजनामा सम्पन्न १०९ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले परीक्षा उत्तीर्ण गर्नको लागि मात्र नभई अध्ययन गर्नु गलत भएको बताए । उनले भाषा र विभिन्न विषयवस्तुबारे जानकारी राख्न पुस्तकहरुको निरन्तर अध्ययन गर्नुपर्ने बताए । महिलाहरुले राजनीतिक साहित्यको अध्ययनमा जोड दिंदा समाजलाई बुझ्न सजिलो हुने उनले भनाइ छ ।
शिक्षिक–शिक्षिकाहरु नेपाली भाषा र मातृ भाषामा दख्खल राख्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले समाजलाई अगाडि बढाउन र नयाँ पुस्तालाई सहयोग पुग्ने ढंगले व्यवहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एनजीओ÷आइएनजीओले औपचारिकताको नाममा मात्र महिला दिवस मनाइरहेको बताउँदै पुँजीवादी व्यवस्थामा महिला दिवस मनाउने विभिन्न शैली हुने बताए ।
धनी महिलाको निम्ति अवसर, स्वतन्त्रता र सबै खालको सुविधा भएको तर गरिब कामदार महिला सधैं पीडित भएको बताउँदै प्रमुख प्रजापतिले महिला मुक्तिलाई वर्गीय मुक्तिसँग जोड्नु आवश्यक भएको बताए ।
राज्य संरचनामा कामदार महिलाहरुको समानुपातिक प्रतिनिधित्व आवश्यक भएको बताउँदै प्रमुख प्रजापतिले महिलाहरु राजनीतिक रुपमा अगाडि बढे समाजलाई अगाडि बढाउन सजिलो हुने बताए ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई अगाडि बढाउन शैक्षिक संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै शिक्षित र योग्य महिलाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने, सभ्य र सुसंस्कृत समाज स्थापना गर्न सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ख्वप इ. कलेजका प्राचार्य सुजन माकले क्रान्तिकारी नेतृ क्लारा जेट्किन र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले क्रान्तिकारी नेतृ रोजा लक्जमवर्गको येगादानबारे चर्चा गरे ।
् कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप उमाविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि अन्तरराष्ट्रिय श्रमिक महिला दिवसबारे आ–आफ्नो विचार प्रस्तुत गरेको थियो ।
श्रमिक महिला दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा शिक्षिकाद्वय प्रभा प्रजापति र सुष्मा सापकोटाले आ–आफ्नो प्रस्तुतीकरण देखाएको थियो भने केशव तमखुले कविता वाचन गरेको थियो ।