भक्तपुर, २५ फागुन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा भक्तपुरको च्याम्हासिंहमा आँखा अस्पताल निर्माण हुने बताएको छ ।
भक्तपुर नगरपालिका ३ नं. वडा कार्यालय र तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा शनिवार आयोजित निःशुल्क आँखा शिविर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले तिलगंगा आँखा अस्पतालमा उपलब्ध सबै सेवा–सुविधायुक्त आँखा अस्पताल निर्माणको तयारीमा रहेको जानकारी गराए । भक्तपुरको च्याम्हासिंहमा बन्ने उक्त आँखा अस्पतालमा सस्तो र गुणस्तरीय आँखा जाँच, आँखाको शल्यक्रियाको सुविधा पनि हुने बताए ।
सबै स्वास्थ्य सेवा भक्तपुरमै उपलब्ध गराउने हेतुले आँखा अस्पताल निर्माण गर्न लागेको जानकारी दिँदै प्रमुख प्रजापतिले भक्तपुरका सबै नागरिक स्वस्थ र शिक्षित बनाउन र नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइरहेको बताए ।
भक्तपुरको इतिहास जोगाउन सम्पदा पुनःनिर्माणमा मौलिक शैलीलाई जोड दिइरहेको बताउँदै प्रमुख प्रजापतिले विदेशी सहयोगभन्दा पनि जनताको अपनत्व कायम हुने किसिमले कार्य गरिरहेको बताए ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले रोगको पहिचान समयमै भए उपचारमा मद्दत पुग्ने र नगरवासीहरुको हितमा स्वास्थ्यसम्बन्धी विभिन्न रोगको निःशुल्क शिविरहरु गर्दै आएको बताए । उनले आँखा मानव शरीरको महत्वपूर्ण अंग भएको बताउनुहुँदै नियमित परीक्षण र स्वस्थ जीवनशैलीमा ध्यान दिनु आवश्यक भएको बताए ।
कार्यपालिका सदस्य सुनिता अवालले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुरुप नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला–संस्कृति संरक्षण, सरसफाइलगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए । कार्यक्रममा वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोलेको थियो ।