भीमदत्तनगर, १० पुस
कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताउथ्यो ।
गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिनुभएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छ ।
“बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ।” चौधरीले भने, “चार किलोमिटर हिँडेर दैनिक तरकारी बेच्न जान्छु ।” छ वर्षदेखि तरकारी उत्पादन तथा बिक्रीमा लागि रहेकी चौधरीले पछिल्लो समय तरकारी खपतको समस्या रहेको बताए । “तरकारी बेचेर घर र बच्चाको पढाइ खर्च जुटाएको छु ।” उनले भने, “गाउँमा हरेक घरमा चौधरी समुदायले तरकारी खेती गर्दैछन् ।”
उनले तरकारी खेतीमा महिला आर्कषण बढिरहेको बताउँदै तरकारी कृषकलाई सरकारले दिने अनुदान तथा सहुलियत नपाएको गुनासो पोखे । “अन्य क्षेत्रका किसानले सम्बन्धित कार्यालयबाट तरकारीको बीउबिजनदेखि मलसम्मको अनुदान पाएको सुन्छौँ ।” उनले भने, “हाम्रो गाउँमा त अनुदानका नाममा केही पनि दिएको छैन ।”
गाउँमा ३५ महिलाले विगत केही वर्षयता तरकारी खेतीमा जुटिरहेको उनले जानकारी दिए । “अन्नबालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि यहाँ प्रायले तरकारी लगाउन थालेका छन् ।” चौधरीले भने, “बजारका गल्लीगल्लीमा ताजा तरकारी हरेक दिन बिहान पु¥याएका छौँ ।”
जैविक र ताजा तरकारी उपभोक्ताको घर आँगनमै पु¥याउँदासमेत तरकारीको उचित मूल्य नपाएको किसानको भनाइ छ । विचपुरमा महिलाले हाल काउली, मुला, गोलभेँडा, हरियो खुर्सानी, भन्टा, आलुलगायतका तरकारी फलाएका छन् । त्यसैगरी गाउँकै जैसरा चौधरीले गाउँमा छाडा पशुका कारण तरकारी खेतीमा समस्या भइरहेको बताए । “रातभरि छाडा गोरुले तरकारी खाएर सखाफ पार्दैछन् ।” उनले भने, “तरकारी बचाउन रातभरि जागाराम बस्नुपर्ने अवस्था छ ।” तरकारी बिक्रीबाट दैनिक रु ९०० देखि एक हजार २०० सम्म कमाइ हुने गरेको उनको भनाइ छ ।
पाँच कट्ठा जमीनमा तरकारी गरिरहेकी चौधरीले तरकारी उत्पादन गर्ने महिलाले कहीँबाट प्रोत्साहन नभएको बताए । “गत वर्ष भन्टा बेचेर मात्रै रु ६० हजार आम्दानी गरेँ ।” उनले भने, “तरकारीको कमाइले धेरै नभए पनि घर खर्च चलेको छ ।”कञ्चनपुरका ग्रामीण भेगमा पछिल्लो समय तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गइरहेको छ । जसका कारण भारतीय तरकारीको आयात यहाँ घट्दै गइरहेको छ ।