भक्तपुर, ७ पुस
मौलिक कला र संस्कृतिका धनी नेवार समुदायले आज आज योमरी पुन्ही मनाइरहेको छ । नेवार समुदायले वर्षभरि मनाइने विविध जात्रा, चाँडपर्व, उत्सवभित्र पर्ने योमरी पुन्ही प्रत्येक वर्षको मंसिर शुक्ल पूर्णिमाको दिन घरघरमा तात्तातो योमरी खाई मनाउने गरिन्छ । यो को अर्थ मनपरेको र मरि को अर्थ रोटी वा मिठाई भएकाले मनपरेको रोटी अर्थात् विभिन्न आकारमा योमरी बनाई खाने चलन छ ।
प्राचीनकालदेखि प्रचलनमा रहेको यो पूर्णिमाका विभिन्न इतिहास रहेका छन् । जसमध्ये नेपाल वर्ष कृया नखःचखः का रत्नमाला बदनका अनुसार एकदिन थिला पुन्हिको दिनधनका राजा कुबेर मगन्तेकाृ भेष्मा पाञ्चाल देशका सुचन्द्र वैश्यको घरमा भिक्षा माग्न पुगेछन् । त्यसबेला सुचन्द्रकी पत्नीले आउनुहोस्, बस्नुहोस् भनी मीठो वचनका साथ मीठो मीठो खानेकुरा र राम्रो लुगा दिएछिन् । यसबाट अति खुशी भएक मगन्तेरुपी कुवेरले आफ्नो सक्कली रुप दर्शन दिएछ र मार्गशुद्धिको दिन बिमिरो, योमरी ढुकुटीमा राखी पूजा गर्नू अनि चार दिनपछि हेर्न भनेछन् । नभन्दै वैश्य दम्पतिले बिमिरो, योमरीसहित चामलको पिठोको कुवेर, गणेश, लक्ष्मी, ख्याक बनाई पूजा गरेछन् र चार दिनपपछि हेर्दा उक्त विमिरो सुनको ढिक्कोमा परिणत भएको पाएछन् । त्यसबाट सुचन्द्र वैश्य प्रशस्त धन आर्जन गर्न सफल भए । त्यसबेलादेखि मार्ग शुद्धि पूर्णिमाको दिन योमरी बनाई ढुकुटीमा राखी पूजा गर्ने र खाने चलन आएको हो ।
योमरी पुन्हिको प्रचलन कहिलेदेखि भन्ने स्पष्ट नभएपनि आफ्नो संस्कृतिलाई उन्नत बनाउन यसको प्रचलन गरेको इतिहासविदहरु बताउँछन् । हिन्दूमार्गी नेवारहरुले योमरीलाई धनधान्य लक्ष्मी कुवेरका रुपमा लिएको पाइन्छ भने बौद्धमार्गी नेवारहरुले चैत्यको रुपमा पूजा गर्ने चलन छ । विभिन्न प्रकारका मिठाईको प्रचलन नभएको अवस्थामा मिठाई संस्कृतिकै एक अंगका रुपमा यस पूर्णिमालाई लिन सकिन्छ ।
नेवार समुदायमा योमरीलाई संस्कृतिको एक अभिन्न अंगका रुपमा मनाउने विभिन्न आधारहरु रहेका छन् । त्यसमध्ये कृषिसँग सम्बन्धित पर्व भएको नाताले यो पर्व सिंगो नेवार सभ्यतासित जोडिएको छ । पिठोभित्र चाकु राखेर मिठो मिठाई बनाउने भएतापनि यसलाई नेवार समुदायले देवताका रुपमा पुज्ने भएकाले धार्मिक महत्व पनि रहेको देखिन्छ । नेवार समुदायमा गुठी, पूजापर्व, जन्मदिन, रथारोहणजस्ता विविध संस्कृतिमा यसको प्रयोग गर्ने भएकाले सांस्कृतिक रुपमा पनि यसको महत्व रहेको पुष्टि हुन्छ । जाडोयाममा तात्तातो योमरी खाँदा शरिर स्वस्थ हुने भएकाले पूर्खाहरुले योमरीलाई स्वस्थवद्र्धक परिकारका रुपमा पनि लिने गरिन्छ ।
योमरी बनाउँदा त्यसभित्र चाकु, तील, मुगी, खुवा आदि राखी स्वादिस्त परिकारका रुपमा बनाउने चलन छ । घरको ढुकुटीमा राखी पूजा गर्न अलि ठूलो आकारमा दुईवटा योमरी बनाइन्छ । जसलालई मायो बायो भनिन्छ । त्यसपछि तयार भएको योमरी देवदेवीहरुमा चढाउने गरिन्छ । केही योमरी आफन्त, पाहुना तथा माग्नेलाई छुटाएपछि बल्ल परिवारका लागि तयार हुन्छ । फरक फरक स्वाँदका लागि घरघरमा गीत गाएर योमरी माग्न जाने प्रचलन अनुसार यसरी गीत बनाएको पाइन्छ ।
त्योछिं त्यो, बकछि त्यो
लाता पाता कुचेचां जुछिं त्यो
थुपालेया सामा बल
योमरी निग तियो ।
यस गीतले कुषकले वर्षभरि मेहनत गरी उब्जाएको धान साहुलाइ कुत बुझाउँदा जथाभावी तरिकाले असुल्ने प्रवृतिप्रति लक्षित गरेको छ । योमरी यस्तै समयमा आएको नयाँ धानको चामलको पिठोको खानुपर्ने संकृत मिल्छ । यस्तै विभिन्न साहित्यकारहरुले योमरीका विषयमा विभिन्न गीतहरु तयार गरेको पाइन्छ । नेवार समुदायले आजको दिनलाई ज्यापु दिवसका रुपमा पनि विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।