‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ को नयाँ संस्करण विमोचन

कला/साहित्य राजनीति विशेष समाचार समाचार

काठमाडौं, २२ मंसिर

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस ९मंसिर २२० को अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० ले ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तकको तेस्रो संस्करण सार्वजनिक गरेको छ ।

अध्यक्ष रोहितले २०३१ सालमा तत्कालीन पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सैद्धान्तिक सङ्घर्षको क्रममा लेख्नुभएको ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तकको पहिलो प्रकाशन विसं २०३२ साल असारमा भएको थियो । पुस्तकको दोस्रो संस्करण युवा अध्ययन गोष्ठी काठमाडौंले २०४९ मा प्रकाशन गरेको थियो । नेक्राविसङ्घको केन्द्रीय प्रकाशन विभाग जनप्रकाशन गृहले प्रकाशन गरेको तेस्रो संस्करण सङ्घको स्थापना दिवसको अवसरमा शनिबार सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले विश्व कम्युनिष्ट आन्दोलनको जग नै भत्काएर अघि बढ्न खोज्दा तत्कालीन सोभियत सङ्घ विघटन भएको बताए ।
“माक्र्सवाद पुरानो भयो, लेनिन असान्दर्भिक भए, पुँजीपति वर्गसँग मैत्रीपूर्ण सम्बन्ध स्थापनाजस्ता कम्युनिष्ट आन्दोलनसँग आधारभूत रुपमै बेमेल कुरा अघि सार्दा सोभियत सङ्घ सामाजिक साम्राज्यवादमा पतन भएको थियो ।”, उनले भने ।
उनले तत्कालीन सोभियत सङ्घको नेतृत्वले नयाँ पुस्तालाई सिद्धान्तबाट टाढा राख्ने, विकास र आर्थिक सहुलियतलाई जोड दिंदा समाजवादी व्यवस्था कमजोर बनेको बताए ।
केही मानिसमात्र सिद्धान्तप्रति गम्भीर हुँदैमा समाजवादी व्यवस्थाको रक्षा नहुने चर्चा गर्दै उनले बहुमत जनतालाई सैद्धान्तिक रुपमा सुसज्जित बनाउन नसक्दा प्रतिक्रान्ति हुने सम्भावना रहने धारणा राखे ।
पुँजीपति वर्गले सजिलै आफ्नो गुमेको स्वर्ग नत्याग्ने बताउँदै कम्युनिष्ट आन्दोलन र किसान सङ्घर्ष कमजोर बनाउन पञ्चायती व्यवस्थाका हिमायतीहरूले कम्युनिष्टहरूलाई सुविधा र रोजगारीमा फसाउने गरेको चर्चा गरे ।
“नेपालको कम्युनिष्ट आन्दोलनमा दामोदर शम्शेरजस्ता पञ्चायती व्यवस्थाका हिमायतीले कम्युनिष्ट पार्टीका कार्यकर्तालाई जागिर खुवाउने, सुविधा दिने काम गरेका थिए । त्यसलाई उदारताको रुपमा लिइयो । तर त्यो तराईका किसान आन्दोलन कमजोर बनाउने चालबाजी थियो ।”, अध्यक्ष बिजुक्छेंले भने ।
तत्कालीन सोभियत कम्युनिष्ट पार्टीको संशोधनवादी नीतिविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीको सैद्धान्तिक सङ्घर्षसामु टिक्न नसक्दा सोभियत कम्युनिष्ट पार्टीले युरोपका कम्युनिष्ट पार्टीहरूलाई अघि सारेको ऐतिहासिक प्रसङ्ग चर्चा गर्दै उनले युरोपेली कम्युनिष्ट पार्टीको संसदबाट समाजवाद स्थापना हुन सक्ने नीतिले संसारका कम्युनिष्ट आन्दोलनमा नकारात्मक प्रभाव पारेको बताए ।
संसद्बाट सरकारमा जान सक्ने युरोकम्युनिज्मको लाइनको अन्धनक्कलले नेपालका संशोधनवादी कम्युनिष्टहरूले चुनावी राजनीतिलाई नै बढी जोड दिएको, चुनावलाई जनता शिक्षित बनाउने र पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्ने विचारबाट अलग हुँदै गएको अध्यक्ष बिजुक्छेंले भने ।
नेमकिपाका केन्द्रीय सचिव तथा सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विमोचित पुस्तक अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहास बुझ्न उपयोगी हुने धारणा राखे ।
उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले दिएका विधेयक शासक दलले जस्ताका तस्तै पारित गर्दा नेपालको अवस्था झन्–झन् भद्रगोल बन्दै गएको बताए ।
एमाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आडमा चलेको पार्टी भएकाले उसले नेपालको कम्युनिष्ट आन्दोलनलाई गलत बाटोमा डो¥याएको भन्दै उनले जनतालाई सिद्धान्त बुझाएरभन्दा फूलमालाको भरमा संशोधनवादी पार्टीले सङ्गठन विस्तार गरिरहेको प्रस्ट पारे ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना सैंजूले नेपालको कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती नै संशोधनवाद भएकाले संशोधनवादविरोधी सङ्घर्षको लागि विमोचित पुस्तक सैद्धान्तिक खुराक बन्ने विचार राखे ।
पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले नेपालका अरु विद्यार्थी सङ्गठनहरूको तुलनामा वैचारिक विषयमा नेक्राविसङ्घ सुरूदेखि नै स्पष्ट रहेको बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नेक्राविसङ्घले स्थापनाकालदेखि नै प्रस्ट दृष्टिकोण बनाउन सक्नु नै नेक्राविसङ्घको विशेषता भएको उनको भनाइ थियो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले पनि बोएको थियो ।
स्रोतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *