जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने

अर्थ/वाणिज्य समाचार

ललितपुर, १३ मङ्सिर


जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज लगनखेलमा आयोजना गरेको ‘विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यका असर र चुनौती’ विषयको अन्तक्र्रियामा उनीहरुले जनसहभागितामा जोड दिएका हुन् ।

महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले सार्वजनिक सुनुवाइ र सरोकारवालासँगको छलफलका आधारमा आफूले कार्यक्रम अघि बढाइएको बताए । नगरवासीले खानेपानी र सडक निर्माण चाँडो होस् भन्ने चाहेका छन् । उनले भने, “हामीले यिनै क्षेत्रमा कामलाई तीव्रता दिएका छौँ ।”

कोञ्जेसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले गाउँपालिकाले स्थानीयवासीको आर्थिकस्तर उकास्नका लागि गुरुयोजना निर्माणमा लागेको बताए । जिल्लाका छ तहमध्ये यस गाउँपालिकामा निजी आवास निर्माण तीव्र छ । उनले भने, “हामीले वडाका प्रतिनिधिलाई खटाएर जनताका पुनःनिर्माणका क्रममा आएका समस्या समाधान गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले वडावडामा टोल सुधार समितिसँग सल्लाह गरेरै योजना बनाएको बताए ।

वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले जनप्रतिनिधि मात्रै नभएर त्यस ठाउँको विकास सबैको सरोकार हुनुपर्नेमा जोड दिए । कोञ्जेसोम गाउँपालिका प्रवक्ता सुमेन्द्र तामाङले पहिले एउटा सिफारिशका लागिसमेत सचिव खोज्दै लगनखेल आउनुपर्नेमा अहिले जनप्रतिनिधि गाउँमा बसेर काम गरेको बताए ।

गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले राजधानीको जिल्ला भएकाले ललितपुरमा धेरै परियोजना नआएको बताए । ललितपुर बार एशोसिएशनका अध्यक्ष दीपक विष्टले स्थानीय निकायले एउटै कामका लागि धेरै वर्षसम्म बजेट विनियोजन गरेर कार्यकर्ता पालेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *