महँगो हवाई भाडाले पर्यटक घट्दै

पर्यटन समाचार

सुर्खेत, २६ कार्तिक


कर्णालीमा पर्यटक आउने संख्या घट्दो क्रममा रहेको छ । महँगो हवाई भाडा, प्रतिकुल मौसम, यातायातसँगै पूर्वाधार तथा प्रचारप्रसार अभावले पर्यटन आगमन घटेको हो । पर्यटकीय स्थलको संरक्षण, सम्वद्र्धन, स्तरोन्नति, प्रवद्र्धनात्मक गतिविधिको अभाव, पर्यटन सडक तथा पदमार्ग निर्माण कार्य कार्यान्वयनकै चरणमा रहेकाले पर्यटकको संख्या घट्दै गईरहेको छ । कर्णालीमा रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दहलगायतका आकर्षक स्थलहरु भएपनि पर्यटकको संख्या बढ्न सकेको छैन । अर्कोतर्फ यहाँको हवाई सेवा महँगो भएकै कारणले पनि पर्यटक बढ्न नसकेको सरोकारवाला बताउँछन् । आन्तरिक वायुसेवा कम्पनीहरुले विदेशी पर्यटकलाई महँगो हवाई भाडा लिने गरेकै कारणले विदेशी पर्यटक आउन नसकेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बताए । ‘महँगो हवाई भाडा भएकै कारण काठमाडौं ओर्लिने पर्यटक कर्णाली आउँदैनन्, उनले भने, ‘डलर फेयर, पूर्वाधार अभाव लगायतका कारणले कर्णालीको पर्यटन विकास फस्टाउन सकेको छैन् । उनले प्रदेश तथा केन्द्र सरकारले कर्णालीको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारमा जोड दिन आवश्यक रहेको औल्याए । कर्णालीमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुँदा हवाई सेवा समेत अपर्याप्त रहेको उनको भनाइ छ ।
एक तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार पर्यटक आएका थिए । यी मध्ये १३ हजार ४ सय मात्रै कर्णालीको हुम्ला, रारा, शेफोक्सुन्डो, डोल्पा पुगेका थिए । यो कुल पर्यटक आगमनको १ प्रतिशत हाराहारी मात्रै हो । नेपालमा विदेशी पर्यटकले आन्तरिक उडानका लागि झण्डै चार गुणा बढी हवाई भाडा तिर्नुपर्ने बाध्यता रहेको पर्यटनसँग सम्बद्ध सरोकारवाला बताउँछन् । विदेशी भएकै कारण वायु सेवा कम्पनीहरुले आन्तरिक रुटमा लिने हवाई भाडा नै कर्णालीमा पर्यटक नआउने मुख्य बाधक रहेको प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्कीले बताए । उनले भने, ‘पहिलो कारण महँगो हवाई भाडा दोस्रो कारण पूर्वाधार अभाव देखिन्छ । उनले कर्णालीमा पर्यटन विस्तारमा ‘एयर फेयर’ समस्या भएको जनाए । उनका अनुसार सन् २०१८ मा कर्णालीमा पुगेका १३ हजार पर्यटक मध्ये १० हजार भारतीय नागरिक मात्रै रहेका थिए ।
भारतीय पर्यटक समेत घट्दै
गत वर्षदेखि हुम्ला हुँदै चीनको मानसरोवर जाने भारतीय पर्यटकको संख्या समेत घटेको छ । त्यस अघिल्लो वर्ष आठ हजार भन्दा बढी भारतीय पर्यटक हुम्ला हुँदै मानसरोवरको यात्रामा गएका थिए । गएको सिजनमा आएका भारतीय पर्यटक मध्ये दुई हजार नौ सय ९७ जना पुरुष र दुई हजार ५ सय ४० जना महिला रहेका छन् । त्यस अघिल्लो वर्षको तुलनामा गत आवमा सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुको सख्या घटेको छ । रसुवाको केरुङ नाका छोटो र काठामाडौंबाट हेलिकोप्टरबाट सिधै केरुङमा उडान हुन थालेपछि केही पर्यटकहरु केरुङ हुँदै जाने गरेका छन् । सन् २०१७ बाट हुम्ला हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकको शुरुवात भएको हो । संघीयता आएपछि हौसिएर होटेलमा लगानी गर्न पुगेका हुम्लाका व्यवसायीहरु अहिले पर्यटकको आगमन घट्न थालेपछि चिन्तित बनेका छन् । सिमकोट र हिल्सामा पर्यटकलाई लक्षित गरी तीन दर्जन मध्यम ठूला होटेलहरु सञ्चालनमा रहेका छन् ।
भ्रमण वर्षको तयारी सुस्त
नेपाल भ्रमण वर्ष २०२० आउन करिब डेढ महिना मात्र बाँकी रहँदा कर्णाली प्रदेशमा भने पर्यटन गतिविधि सुस्त देखिएको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको तयारी स्वरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ जेठ मसान्तमा सात वटै प्रदेशमा १६ सदस्यीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको थियो । समितिलाई नेपाल भ्रमण बर्षलाई लक्षित गरि प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कामहरु गर्न अख्तियारी दिएको छ । समितिमा प्रदेशका मुख्य मन्त्री संरक्षक र सम्बन्धित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष, सोही मन्त्रालयका सचिव सदस्य सचिव तथा पर्यटन सम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्य रहने व्यवस्था छ । तर, ती गठन भएका समितिको निष्क्रियताले भ्रमण वर्षको तयारी समेत सुस्त देखियो । गत जेठ महिनामा गठन भएको समितिको बैठक हालसम्म दुई पटक मात्र बसेको बुझिएको छ । तयारीको जिम्मा पाएको समितिको बैठक नै नियमित बस्न नसक्दा भ्रमण वर्षको तयारी समेत सुस्ताएको हो । प्रदेश पर्यटन प्रर्बद्धन समिति संयोजक कार्कीले नेपाल सरकाले कार्यविधि नल्याउँदा अलमल परेको बताए । उनले कार्यविधि नहुँदा विनियोजित बजेट खर्च गर्न समेत समस्या भएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *