आफ्ना सन्तानलाई राजनीतिबाट टाढा राख्ने अभिभावकलाई अनुरोध

राजनीति विचार विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १४ चैत

आजका शासक दलका नेताहरू र सरकारी पदमा बसेका प्रम र मन्त्रीहरू, मन्त्रालय, आयोग, अदालत, बैङ्किङ क्षेत्र, प्राधिकरण आदि सरकारी र अर्ध–सरकारी जिम्मेवार संस्थाका पदाधिकारीहरू त हिजोका अभिभावक र शिक्षकहरूबाटै पालित–पोषित, दीक्षित र शिक्षित व्यक्तिहरू नै हुन् ।

समाजमा आज भइरहेको भ्रष्टाचार, ठगी, तस्करी, कालाबजारी, कर छली, सार्वजनिक सम्पत्तिको गलत प्रयोग र दोहन, सबै क्षेत्रमा अख्तियार दुरूपयोग हिजोकै बिरुवाका फल हुन्भन्दा अप्ठेरो मान्नुपर्ने छैन । त्यसको अर्थ हो– त्यसबेलाका अप्रजातान्त्रिक र अपारदर्शी राजनीतिले गर्दा आजका अनेक विकृतिका कारण हुन् । तर, हामीले हिजो र आजका अँध्यारा र अप्रिय विषय केलाएर वा मन दुखाएर तथा झोक्राएर होइन बरु उत्साहपूर्वक र भविष्यप्रति आशावादी भएर आजको समीक्षा र भोलिको गन्तव्य पहिल्याउनु बढी फलदायी हुने देख्छु ।

सबै नीतिको राजा राजनीति भन्ने उखानलाई छलफलको विषय बनाउने हो भने के आजका प्रम शेरबहादुर देउवाका विगत र आजको कार्य प्रदर्शनले हामीलाई सन्तोषको सास फेर्ने कुनै मेसो अनुभव गर्नेछौँ !?

हुनसक्छ, हिजोका अभिभावक र शिक्षा क्षेत्रका जिम्मेवार पक्षले ध्यान दिन पाएनन् होला वा विश्वविद्यालयको प्रमाण पत्रहरूको सङ्कलन नै देशको विकास र उन्नतिको आधार मानियो होला ! आज त्यो धारणा मिथ्या साबित हुँदै छ ।

हिजोका गल्ती कमजोरीबाट शिक्षा नलिने हाम्रा केही अभिभावकहरू विद्यालय र महाविद्यालयमा गई शिक्षक, प्राध्यापक र सञ्चालक समितिका पदाधिकारीहरूसँग आफ्ना छोरा–छोरी र नाति–नातिनाहरूलाई राजनैतिक शिक्षा नदिन आग्रह गरेका गुनासाहरू कम डरलाग्दो विषय होइन । मानौँ, हाम्रा अभिभावकहरूकै गुनासालाई सही मानेर हाम्रो पाठ्यक्रमबाट राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र र इतिहासलाई थाती राख्दा त्यसको परिणाम के होला भनी एक क्षण घोत्लिऔँ भने भोलिको परिणाम आजको भन्दा बढी भयावह हुने कुरामा दुईमत नहोला !

आजका हाम्रा राजनीतिका जिम्मेवार पक्षमाथि आरोप छ– मन्त्रीहरू र नेताहरूले भ्रष्टाचार गर्छन्, पक्षपात गर्छन्, परीक्षामा नक्कल गराएर उत्तीर्ण गराउन भूमिका खेल्छन् र विश्वविद्यालयका प्रमाणपत्रहरूसमेत नक्कली बनाइन्छन् । यही कुरो अस्पताल र चिकित्सा क्षेत्रमा समेत सुन्दा के डरलाग्दा छैनन् ? सबै क्षेत्रमा व्यापार र नाफाको प्रभाव व्याप्त छ । सरकार आफै उद्योग–व्यापारी र विदेशी एजेन्टहरूको छायामा छ ।

यसको उपचार राजनीतिक क्षेत्रबाट नयाँ पुस्तालाई टाढा राख्ने र विदेशमा भगाउने होइन, किनभने असल अभिभावकका असल पुस्ता राजनीतिलाई आफ्नो हातमा लिन कटिबद्ध र समर्पित नभए, धारिलो हतियार अपराधीको हातमा परेको परिणाम नयाँ पुस्ताले भोग्नेछ वा रक्तको आँसु बहाउनुपर्ने स्थिति भोग्नैपर्नेछ ।
यसको निम्ति विषयवस्तु, पाठ्यक्रम र पाठ्यपुस्तकहरू फेर्नु पर्ला, नागरिकशास्त्र तल्लो कक्षादेखि राख्नुपर्ला, इतिहासका युद्ध र विनाशको बयानले भरेका पृष्ठहरूमात्रै पढ्ने होइन बरु त्यसको निम्ति कुन व्यवस्था, कुन समाज र कुन नेता एवम् नेतृत्वको महत्वाकाङ्क्षा र उद्देश्य जिम्मेवार थिए भन्नेबारे पनि छलफलका भागहरू थप्नुपर्ला ।

देशको उन्नति र विकासमा अर्थतन्त्र र राजनैतिक व्यवस्था पनि महत्वपूर्ण सन्दर्भमध्ये एक हो । योजना आयोगका उपाध्यक्ष र राजदूत भएका व्यक्तिसमेत विदेशीले भनेकै कागजपत्रमा हस्ताक्षर गर्ने ‘सम्राटको नयाँ लुगा’ का पात्रहरू जस्ता भए, के तिनीहरूबाटै देशले उज्यालो भविष्यको आशा गर्न सकिएला ? त्यस्ता अयोग्य, स्वार्थी र विदेशीका भाडाका ज्यामीले के देशको हित हेर्ला ?
प्रश्न त्यस्ता व्यक्तिमात्रै दोषी होइनन् । देश विकास र उन्नतिका काँडालाई बारम्बार त्यस्तै महत्वपूर्ण पदमा मनोनीत गर्ने प्रधानमन्त्री वा कुनै जिम्मेवार पदाधिकारीले ‘आधा तलब’, ‘उपहार’ लिँदै आँखा चिम्लनु के देश र जनताप्रतिको अपराध होइन ? यस्ता गम्भीर विषयमा थाहा पाएर पनि ‘भलादमी’ भई मौन बस्ने राजनीति गर्नु के वेमनासिब होइन ?
आज हजारौँ–हजार युवाहरू म्यानपावर कम्पनीहरूबाट लाखौँ–लाख रकम ठगिएर घर–खेतविहीन बनेका छन्, म्यानपावर कम्पनीहरूबाटै धोखा खाएर लासको बाकसमा आउन पनि बाध्य छन् । के यस्ता विषयमा आँखा चिम्लेर ऐन–कानुन र नीति पारित गर्ने सरकार र संसद्को बहुमत पक्षको आलोचना र विरोध नगर्ने ? हाम्रा अभिभावककै कति छोरा–छोरी त्यस्तै ठगीका सिकार भएका छन् । विचरा युवा आज राजनैतिक ज्ञानको अभावमा ठगबाट ठगिएका छन् । त्यस्तै विदेशमा चिकित्साशास्त्र पढ्न जाने छात्र–छात्राहरूले ४०–५० लाखसम्म खर्च गरेका छन््, जब कि त्यो विश्वविद्यालयको खर्च १०–१५ लाखभन्दा बढी होइन । त्यसका बिचौलियाहरू पनि शासक दलकै मानिस हुन् । त के त्यस्तो अन्याय र ठगीको विरोध नगर्दा ‘राजनीति ग¥यो’ भनी सिकाउने व्यक्तिहरू आफै ठग साबित हुँदैनन् ?

तपार्इँ हाम्रै नयाँ पुस्तालाई समाज र संसारको बारे राम्रो ज्ञान दिन सकेनौँ भने ‘राम्रो पोशाक लगाएका’, ‘राम्रो अङ्ग्रेजी वा अन्य विदेशी भाषा बोल्न सिपालु’, ‘हाम्रै होनहार युवाहरू’ प्रतिगामी राजनीतिबाट ठगिएर जीवनभर निराश भई मानसिक रोगका सिकार बन्नेछन् । यसकारण, हरेक विषयमा आलोचनात्मक दृष्टिकोणको विकास गराउन देशको तत्कालीन राजनैतिक वातावरणभन्दा टाढा राख्नु दुर्भाग्यपूर्ण हुनेछ । भएको आँखा चिम्लेर हिँडने मानिस जसरी खाल्डोमा पर्ने निश्चित छ, राजनीतिबारे पुरै अनभिज्ञ व्यक्तिले आफ्नो देश र जनताप्रतिको कर्तव्यबारे पनि अनभिज्ञ भएमा तथा अव्यवस्थाको कारण थाहा नहुँदा भाग्यलाई दोष दिई अन्धविश्वासी बन्ने छ ।

कुनै कुनै शिक्षण संस्थामा काम गरेका व्यक्तिसमेत शिक्षक पेशालाई ‘मगन्ते’ बताई बैङ्कमा काम गर्न पुगेका छन् र शिक्षिका पेशा नछोडेकै कारण आफ्ना प्रेमिकालाई छोडी पैसाको पछि लागे । शिक्षक र शिक्षालाई हेला गर्ने व्यक्ति शिक्षक भएर आफ्नो ‘चरित्र निर्माण’ मा लागे तथा उनले व्यक्तिगत महत्वाकाङ्क्षालाई प्राथमिकता दिएको उदाहरण प्रस्तुत गरे । पैसासँग कसैको चरित्र र नैतिकता तुलना हुनसक्दैन । नेपालको चामल, दाल र चिनीको भाउ तोक्ने एकजना अरबपति व्यापारीले गुनासो गर्दै थियो, “हामीलाई जनताले अछुत सम्झन्छन्, हाम्रो पैसाको र सम्पत्तिको कुनै कदर छैन, हामीलाई आफ्नै कामदार र कर्मचारीले ‘शोषक’ र ‘पापी’ भन्ने गर्छन् ।”
शिक्षकको तलबभन्दा बैङ्कको कर्मचारीको तलब बढी होला, लाखलाख फरक होला  । तर, बैङ्करहरू पुँजीवादी व्यवस्थाका नयाँ शोषक हुन् । फ्रान्सेली क्रान्तिलाई रगतमा डुबाउने बैङ्ककै मालिकहरू हुन् । सबै जनतालाई हाहाकारमा डुबाउने काम बैङ्कहरूले गर्छन् । सारा देश र जनता ऋणमा डुबेको हुन्छ भने बैङ्कहरूको नाफामा अर्बौँ वृद्धि हुन्छ । प्रस्ट छ, जनता मारेरै बैङ्क र बैङ्कपतिहरू धनी बन्छन् । त्यसकारण, कति संवेदनशील व्यक्तिहरू बैङ्कमा नोकरी गर्न मन पराउँदैनन् । गरिब र धनीको भेद बैङ्कमा झन् बढी हुन्छ । धनीहरू पनि प्रगतिशील र पुरानपन्थीहरू हुन्छन् । प्रगतिशील धनी र सम्पन्न मानिसहरू समयअनुसार चल्छन् र प्रगतिलाई बाधा दिँदैनन् ।

हाम्रा विद्यालय र विश्वविद्यालयको पढाइमात्र नियमित भएरमात्रै पुग्दैन । हाम्रा पाठ्यपुस्तक र विषयवस्तुबारे पनि गम्भीर छलफल गर्नु आवश्यक छ । २०१५ सालभन्दा पहिले माध्यमिक कक्षामा नागरिकशास्त्र पढाइन्थ्यो र संविधान लिखित र अलिखित, एकात्मक सरकार र सङ्घीय सरकारका रूप, फाइदा, बेफाइदा, राजनैतिक दलहरू, राजतन्त्र, अल्पतन्त्र र प्रजातन्त्रबारे पनि पढाइ हुन्थ्यो । प्रजातन्त्रका दोषहरूमा दलबन्दी र अस्थिरताबारे जानकारी थिएन । आज हेर्दा दलको आधारमा सरकारमा भागबन्डा आदिबारे जानकारी भर्खर भयो । आज काठमाडौँको केन्द्रीय वीर अस्पतालमा समेत सरकारअनुसारको पदाधिकारीहरू चयन गर्ने, सरुवा बढुवा गर्ने, भ्रष्टाचार आदि हेर्दा प्रजातन्त्रका ती दोषहरू मेटाउनै नसकिने र स्वाभाविक देखिए । यसमा योग्य–अयोग्य, ठीक–बेठीक डाक्टर र स्वास्थ्यकर्मीहरूको चयनभन्दा कुन दलको र कुन गुटको व्यक्ति चयन हुन्छ भन्ने भयो । बिरामीको उचित सेवाभन्दा कुनै एउटा प्रभावशाली वा शासक दलको आधारमा बिरामीको उपचार गरिन्छ । हुँदा हुँदा सार्वजनिक संस्था निजी गरिए र उपकुलपति, रेक्टर र रजिस्टारहरूको पनि नियुक्तिभन्दा पहिले ठेक्का लिएजस्तै मोलमोलाइ भएको सुनियो । राजदूत र अरू महत्वपूर्ण मनोनीत र नियुक्तिमा पनि त्यही परिपाटी लागू भयो ।

हो, कहिलेकाहीँ दलको झन्डा नबोक्ने र स्वतन्त्ररूपले काम गर्न दिएमात्रै उपकुलपति स्वीकार्ने प्रतिष्ठित व्यक्तित्व पनि हाम्रै समाजमा देखिए । यदि राजनैतिक क्षेत्रमा यस्ता राम्रा व्यक्तिहरू एवम् योग्य व्यक्तिहरू पाएनौँ भने हाम्रो नयाँ पुस्ताबाट पनि देश स्वच्छ र स्निग्ध हुन्छ भनी विश्वासका साथ भन्न गा¥हो छ किनभने हाम्रो स्वास्थ्य र शिक्षा क्षेत्र पनि अत्यन्त बिटुलिएको छ । ५–१० लाखले पढाउन सकिने चिकित्साशास्त्र ४० लाख गर्दै बलजफती ८० लाख बनाउने अनैतिकताको ताकत कहाँबाट आयो त्यो निजी चिकित्सा कलेजहरूको सङ्घलाई प्राप्त भयो । प्रस्ट छ– त्यस संस्थाका अभिभावकहरू नै वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बनाइएको छ र निर्वाचनमा करोड–करोड होइन अरब–अरब रकम शासक दलहरूलाई सहयोग दिन्छ त्यो संस्थाले ¤ त्यही ताकतमा सरकारको कुनै अङ्गले त्यस संस्थालाई कुनै नियम पालन गराउन सकेन ¤ स्वास्थ्य मन्त्रीहरूलाई त त्यस संस्थाले भङ्गेरा जति पनि गन्दैन । अनि नयाँ पुस्तामा देशप्रति माया र कर्तव्यको भावना कसरी पलाउँछ ? आज देशको हरेक क्षेत्रमा देखिएको दुर्दशाको कारण भ्रष्टाचारीहरूको रकमले निर्वाचन जित्नु हो । निर्वाचनमा धाँधली सामान्य विषय भन्दै आचारसंहिता र नियमावलीलाई धुजाधुजा पारी शासक बनेका दलहरूले ‘मत सीमा’ तोकेर साम्राज्यवादी र विस्तारवादीहरूका पिछलग्गू भई देशको राष्ट्रिय गौरवलाई बेवास्ता गरी देशले सीमालाई खुम्च्याउँदै गए । उदाहरणको निम्ति शेरबहादुर देउवा प्रमले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे तथा सुस्ताबाहेक ७० भन्दा बढी ठाउँमा भारतसँग भएको नेपालको सीमा विवादबारे एक शब्द बोलेनन् ।

देशको स्वतन्त्रता र सार्वभौमिकता नबुझ्ने व्यक्ति वा राजनैतिक कार्यकर्ता नै प्रम हुने हो ?¤ अहिले देशमा एमसीसीबारे अमेरिकीहरूले यसरी दबाब दिँदै छन्– ‘१६ फागुनसम्म संसद्ले पारित नगरे नेपालले ५० अर्ब डलर सहायताको परियोजना प्राप्त नगर्ने’, ‘संसद्बाट अनुमोदन भएन भने त्यसलाई चिनियाँ प्रभावका रूपमा बुझ्ने’ र ‘नेपालले पाउँदै आएको अन्तर्राष्ट्रिय सहयोग प्रभावित’ हुनेछ आदि ।

देशको निम्ति ठूलो विडम्बना छ– नेपालीले नै नबुझ्ने भाषा बोल्ने प्रम नेपाली जनताले पाएका छन् । तर, सत्य के हो भने जिम्मेवार पदमा बस्ने पदाधिकारीहरूले ‘सल्लाहकारहरू’ को भरमा निर्णय गर्छन् । यस्तो किन हुन्छ ? सम्पन्न र शिक्षित अभिभावकहरूले नै आफ्ना सन्तानलाई राजनीतिबाट टाढा राख्ने र पैसा कमाउने विषयलाई नै प्राथमिकता दिएको हुँदा यस्तो अप्ठेरो परिस्थतिको सामना देशले गर्दै छ ।

साधारण कर्मचारी १० बजेदेखि ४ बजेसम्म कार्यालयको काम गरी परिवारसँग आनन्दसाथ जीवन बिताउने गर्छन् । ठूल–ठूला पदमा बस्नेहरू काण्डैकाण्डमार्फत केही वर्षभित्रै करोडपतिबाट अरबपति बन्ने उद्देश्यअनुसार काम गर्छन् । न्याय क्षेत्रमा काम गर्नेहरू जनतालाई न्याय दिलाउने उद्देश्त्न्दा अधिकांश कानुन व्यवसायी पैसाप्रेमी भए तथा अध्ययन, अनुसन्धान नगरी पैसाप्रेमी हुँदा भ्रष्टाचार’ बढेको विषयमा वरिष्ठ अधिवक्ताहरूसमेत सहमत छन् । शिक्षा क्षेत्रमा काम गर्नेहरूसमेत विश्वविद्यालयमा उपकुलपतिजस्ता पदलाई करोड–करोडको ठेक्कामा लगाउने काम भएको छ । एक वरिष्ठ कानुन व्यवसायीको भनाइमा ‘न्यायाधीश असल भए भ्रष्टाचारै हुँदैन ।’ यसकारण, देशमा हजारौँ होइन लाखौँ योग्य, इमानदार र असल नागरिक, विशेषज्ञ र राजनैतिक कार्यकर्ताहरूले मात्र देशलाई चौतर्फी विकास र प्रगतिमा अगाडि बढाउन सक्छन् भन्नेबारे अभिभावक साथीहरू गम्भीर हुन आग्रह गर्न चाहन्छु ।
देशको वर्तमान राजनैतिक स्थितिबारे यहाँहरूको ध्यान आकर्षित गर्न चाहन्छु । सन् २०१२ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संरा अमेरिका गई एमसीसीमा हस्ताक्षर गरे तथा सन् २०१४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राजदूत शङ्कर शर्माले एकसरो पनि अध्ययन नगरी हस्ताक्षर गरे । त्यसपछि सरकारका सबै प्रधानमन्त्री र मन्त्रीहरूले हस्ताक्षर गरेको गुप्तता खुल्दै आएको छ ।
नेपाली जनतालाई ‘युवा नेतृत्व र युवा मन्त्री’ को आवश्यकताबारे पश्चिमी देशहरूबाट आर्थिक सहयोग प्राप्त अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाबाट झ्याली पिटाइएको थियो । तर, ती नै युवा नेतृत्व र मन्त्रीहरूले ‘बुझेर’ वा ‘नबुझेर’ संरा अमेरिकी सरकारद्वारा प्रस्तुत गरिएको दस्तावेजमा हस्ताक्षर गर्दै गए ।

‘बुझेर’ को अर्थ हो जानाजान आफ्नो देश खाल्डोमा पुग्ने थाहा पाउँदा पनि सही गर्नु देशघाती कार्य थियो भने ‘नबुझेर’ गरेको भए पदअनुसारको ‘युवा’ को नाममा अयोग्य व्यक्तिहरूलाई हामी नेपाली जनताले मत दिएर सत्तामा पु¥यायौँ र देशलाई संरा अमेरिकाको पोल्टामा पुग्ने बाटो दियौँ ।

नेपाली जनतासँग अब दुइटा बाटा बाँकी छ– एउटा हो, हस्ताक्षर गर्नेहरूलाई सत्ताबाट हटाएर देशद्रोहीको रूपमा घोषणा गरी प्रायश्चित गराउने, दोस्रो, संरा अमेरिकीसँग देशद्रोहीहरूले गरेको सम्झौतालाई ‘खारेज भागी’ भनी घोषणा गर्ने ।
देशको यस दुर्दशाको कारण हामी अभिभावकहरूले हाम्रा सन्तानलाई देशको सेवा गर्ने र गराउने उद्देश्यअनुसार तयार गरेनौँ, राम्रा–राम्रा ‘विद्यालयहरूमा भाषा, भूगोल, इतिहास, गणित, विज्ञान आदि जग हाल्ने विषयमा अध्ययन गराएनौँ र विश्वविद्यालयमा राजनीतिशास्त्र, अर्थशास्त्र, कानुन र समाजशास्त्रबारे अध्ययन र अध्यापनबारे गम्भीर ध्यान दिएनौँ । हाम्रा खाता–पिता परिवार र वर्गले समेत देशको हितमा आ–आफ्नै कर्तव्य पूरा गरेनौँ र त्यस हिसाबले आफ्ना सन्तानहरूलाई योग्य बनाउनमा खर्च गरेनौँ ।
हामीमध्ये कसैले आफ्नो सम्पत्तिलाई पुग्दो सम्झेर विदेश गई आनन्दले इज्जतपूर्वक बस्ने कल्पना गर्नुभएको छ भने बडो अफसोचको साथ मैले भन्नैपर्ने छ– विदेश गएर आनन्दको र इज्जतपूर्वक जीवन व्यतीत गर्ने सपना तुहिने निश्चय छ । विदेशमा देशी र विदेशी, गोरा र काला, पहेँला र हिस्पेनियाली एवम् आदिवासी जनताको बीचमा भेदभाव चर्किंदै छ– सो कुरा दुई वर्षअगाडि संरा अमेरिकामा जर्ज फ्लोयडकै काण्डका हामी सबै दर्शक र स्रोता हौँ । फेरि धर्म, गरिब र धनीको भेदभाव चर्किंदै छ ।
हो, हामी विदेशमा गएर आनन्दपूर्वक इज्जतको जीवन बिताउने हो भने आफ्नै देशमा भन्दा बढी बुद्धि र बल लगाएर कठोर परिश्रमले मानिसको जीवन बिताउन पाउनेछौँ । आफ्नै देश आफ्नो भएन भने अरूको देश आफ्नो हुनलाई हामीमा अन्तर्राष्ट्रवादीको ठूलो छाती हुनैपर्छ, अन्यथा हाम्रो हातमा ‘पछुतो’ र ‘प्रायश्चित’ मात्र पर्नेछ ।

सारमा, सहभागी सबै मित्रहरू, कर्मचारी, विद्यार्थी भाइ–बहिनीहरूलाई भनसुनको आधारमा वा परीक्षामा नक्कल गरेर माथिल्लो तहको अङ्क ल्याउने र पदमा पुग्नेभन्दा आफ्नै योग्यताले कठोर परिश्रम गरेर, दृढतापूर्वक देश र जनताको निम्ति समर्पित हुने राजनैतिक भावना लिएर हामी अगाडि बढौँ । त्यसै बाटोबाट हामी संसारका जनतालाई समेत सेवा गर्ने बाटोमा पुग्ने छौँ । आयोजक साथीहरूलाई धन्यवाद दिँदै विश्राम लिन्छु ।
स्रोतः वागीश्वरी स्मारिका २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *