न्यूज अपडेट संवाददाता
भक्तपुर, १३ चैत
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा एक हप्ते समाचार लेखन तथा सम्पादन तालिम आइतबार शुरु भएको छ ।
तालिमको उद्घाटन सत्रमा संस्थाका सल्लाहकार एवं मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसीले तालिमपश्चात सबै प्रशिक्षार्थी सक्षम भइ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले पत्रकारिताभित्र वर्गीय दृष्टिकोण हुने भएकोले बहुसंख्यक जनताको पक्षमा लेख्नुपर्ने बताए । पत्रकारिताका विविध पक्षबारे स्पष्ट पार्दै उनले समाचारको लेखन तथा सम्पादनको महत्वबारे औल्याए । गलत सूचनाको सम्प्रेषण नगर्न र जनतालाई यथार्थ कुरा जानकारी दिन पत्रकारिताको आवश्यकता रहेको भन्दै उनले युक्रेन युद्धबारे सत्यतथ्य सूचना सम्प्रेषमा ठूला सञ्चारमाध्यम चुकेको बताए । पत्रकार पनि समाजप्रति जिम्मेवार व्यक्ति भएकोले पत्रकार कहिल्यै स्वतन्त्र बन्न नसक्ने बताउँदै उनले कुनै न कुनै पक्षसँग आवद्ध हुने बताए । पत्रकारितामा काम गर्दा धैरै किसिमका चुनौतीको सामना गर्नुपर्ने बताउँदै हरेक समाचार लेख्दा सतर्क हुनुपर्ने अन्यथा अनेक किसिमका बाधा व्यवधान आउने तर्फ सतर्क हुनुपर्ने बताए । उनले पत्रकारिता हतारको काम भएतापनि त्रुटि गर्न नहुने र हरेकले पत्रकारिताका नैतिक, कानुनी तथा सामाजिक मर्यादा र गोपनीयतालाई ख्याल गर्न सुझाव दिए ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले जनताको वास्तविक समाचार लेख्ने मान्छे अघि नबढेसम्म देशमा परिवर्तन नआउने बताए । उनले संस्थाले आर्थिकसँगै विविध क्रियाकलाप तथा तालिमहरु सञ्चालन गरिरहेको बताए । साथै राजनीतिक, आर्थिक, सांस्कृतिक, खेलकूद लगायतका विषयमा सुसूचित बनाउन यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको तर्क छ ।
कार्यक्रम सभापति एवं आयोजक उपसमितिका संयोजक निर्मल प्रजापतिले वार्षिक रुपमा सहकारी कार्यक्रम खर्चका रुपमा सदस्य लक्षित क्रियाकलाप तथा तालिमका लागि संस्थाले ७७ लाख ५० हजार रुपैयाँ बजेत नै छुट्याएको जानकारी दिए । यो तालिमलाई बोझको रुपमा नलिई आफ्नै व्यक्तित्व विकासका लागि अवसरको रुपमा लिनुपर्ने उनको भनाइ छ । सही समयमा सही सूचना आजको आवश्यकता भएको बताउँदै उनले सत्य तथ्य समाचार तुरुन्तै सम्प्रेषण गर्नका लागि प्रशिक्षार्थीले अवसरका रुपमा लिने विश्वास व्यक्त गरे ।
उपसमितिका सदस्य प्रेम प्रजापतिले पनि बोलेको उक्त कार्यक्रममा तालिमका प्रशिक्षक कृष्ण किसीले समाचार लेखनमा सबैलाई सक्षम बनाउने जिम्मेवारी पूरा गर्ने बताए । तालिममा २५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।