काठमाडाैं, ९ पुस
चिकित्सा शिक्षा आयोगले म्याचिङ मार्फत निर्धारण गरेको कलेजले छात्रवृत्तिका विद्यार्थीको भर्ना नलिएपछि विद्यार्थीहरु संसदको शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका छन्।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको कलेजमा पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्तिका विद्यार्थीलाई भर्ना गर्न नदिएपछि विद्यार्थीहरु गुनासो लिएर शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका हुन्।
आयोगको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण भई छात्रवृत्तिमा अध्ययन गर्न छनोट भएका बिएससी नर्सिङ, बिपिएच र बिफार्म लगायतका विषयमा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत काठमाडौं उपत्यका भित्र रहेका अधिकांश शिक्षण संस्थाले पठनपाठन गराउन अस्वीकार गरेको विद्यार्थीहरुको गुनासो छ।
शैक्षिक सत्र २०७७/८७ को शैक्षिक कार्यक्रम कोरोना महामारीका कारण ढिला सुरु भयो। कोरोना महामारीले ढिला शुरु भएको एकीकृत प्रवेश परीक्षा तथा म्याचिङको काम आयोगले पुरा गरेपनि कलेजहरुले छात्रवृत्तिका विद्यार्थी भर्ना लिन नमानेपछि विद्यार्थीहरु न्यायको माग गर्दै संसदीय समितिमा पुगेका हुन्।
विद्यार्थीहरुले आयोगले निर्धारण गरेअनुसार कै कलेजमा पढ्न पाउनुपर्ने माग समेत शिक्षा तथा स्वास्थ्य समितिमा राखेका छन्।
विद्यार्थीहरुले शिक्षा तथा स्वास्थ्य समितिमै पुगेर पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगत उपत्यकामै छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई उपत्यकामै रहेका २० भन्दा बढी पूर्वाञ्चलका कलेजमध्ये जुनकुनै एकमा मर्ज गराउन माग गरेका छन्।
यस्तै, चिकित्सा शिक्षा आयोगले भर्ना अगावै छात्रवृत्तिका विद्यार्थीहरुसँग गरेको कबुलियतनामा खारेज गरी विद्यार्थीहरुले चाहेको अरु कलेज वा विश्वविद्यालयमा पढ्ने वातावरण मिलाउन र उपत्यका बाहिरका छात्रवृत्ति पाएका विद्यार्थीहरु पनि काठमाडौंमा नै सहज हुने भएको र सबै विद्यार्थीहरु राजी भएकाले उपत्यकाभित्रै मर्ज गर्न माग गरेका छन्।
मंसिर १३ गतेदेखि नै पठनपाठन सुरुहुनुपर्ने भएपनि कलेजहरुले भर्ना लिनै नमानेको विद्यार्थीको गुनासो छ। शुल्क तिरेर अध्ययन गर्ने भन्दा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढी भएको भन्दै कलेजहरुले पढाउन नमानेको विद्यार्थीहरुले बताएका छन्।
आयोगले तोकेका कलेजले भर्ना लिन नमानेपछि आफूहरु आयोगमा गुनासो गर्न पुगेपनि आयोगका पदाधिकारीहरुले आफूहरुको समस्यालाई वेवास्ता गरेको विद्यार्थीहरु बताउँछन्। उनीहरुले आयोगमा पुगेर धर्ना समेत दिएका थिए।
काठमाडौं उपत्यकाकै कलेजमा छात्रवृत्तिमा अध्ययन गर्न छनौट भएपनि पूर्वाञ्चल विश्वविद्यालयले केन्द्रमै बोलाउन तयारी गरेको उनीहरुले बताएका छन्।

