वैशाख पूर्णिमाको महत्व र बुद्ध वचन

कला/साहित्य विचार विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, १२ जेठ

यसपालि हामी २५६५ औँ बुद्ध पूर्णिमा महोत्सव मनाउने तरखरमा लागिरहेका छौँ । बुद्धप्रति यसरी श्रद्धा र भक्तिभाव पोख्ने कार्य त राम्रै हो । तर, वर्षैपिच्छे यसरी महोत्सव मनाइए जस्तै यस दिनको महत्व र अर्थ बुझेरमात्र वैशाख पूर्णिमा मनाउन पाए अझ यसको महत्व बढ्ने देखिन्छ । मैले वैशाख पूर्णिमाको महत्व र बुद्धवचन विषयमा केही विचारहरू प्रस्तुत गर्न लागिरहेको छु ।
विशेष गरेर बुद्धकालीन विभिन्न ३ वटा महत्वपूर्ण घटनाहरू वैशाख पूर्णिमाको दिन घटेको कारणले गर्दा वैशाख पूर्णिमाको महत्व बढेको देखिन्छ । ती यसरी छन्–
१) लुम्बिनी उद्यानमा एक वृक्षमुनि सिद्धार्थ कुमारको जन्म ।
२) बुद्धगयाको पिपल वृक्षमुनि सिद्धार्थ कुमारले बुद्धत्व प्राप्त गरी बुद्ध हुनुभएको ।
३) ८० वर्षको उमेर पुगेपछि दुईवटा शालवृक्षमुनि बुद्धको महापरिनिर्वाण (देहावसान) ।
एउटा कुरा स्मरणीय छ, बुद्धकालीन घटनाहरूमध्ये थुप्रै महत्वपूर्ण घटनाहरू दरबार र घरभित्र होइन, खुला आकाशको रुखमुनि घटेको देखिन्छन् । वैशाख पूर्णिमाको दिन घटेका यी माथिका ३ वटा महत्वपूर्ण घटनाहरूको साथसाथै बुद्धत्व प्राप्तपछि आषाढ पूर्णिमाको दिन सारनाथको मृगदावनमा खुला आकाशको रुखमुनि पञ्चभद्रवर्गीयहरूलाई बुद्धले धर्मचक्र प्रवर्तन गर्नुभई आर्यसत्यको व्याख्या गर्नुभएको थियो ।
यसरी बुद्धकालीन प्रमुख घटनाहरूमध्ये धेरैजसो घटनाहरू खुला आकाशको रुखमुनि सम्पन्न हुनुको प्रमुख कारण दरबार र घरको वातावरण नमिलेको हुनुपर्दछ । त्यसैले यो अध्ययन गर्न योग्य छ ।
वैशाख पूर्णिमाको दिन घटेका घटनाहरूको अलावा यस दिनलाई महत्वपूर्ण बनाउन बुद्धका अमूल्य वचनहरूले अझ बढी प्रभाव पारेको देखिन्छ । यदि बुद्धले बुद्धत्व प्राप्त गर्नुभएपछि उपदेश दिनु नभएको भए वैशाख पूर्णिमाको त्यति महत्व हुने थिएन होला ।
बुद्धले बुद्धत्व प्राप्त गर्नुभएपछि सर्वप्रथम सारनाथको मृगदावनमा पञ्चभद्रवर्गीयहरूलाई सम्बोधन गर्दै उपदेश दिनुभएको सार सङ्क्षेप यसरी थियो ।
अति विलासिता र मोजमज्जामा भुल्ने (पञ्चकाम सुखरूपी भौतिक सुखमा बेहोसपूर्वक लिप्त रहने) र आफ्नो शरीरलाई अन्यायपूर्वक दुःख कष्ट दिई धर्म गर्ने आदि दुई मार्गमा लाग्नु मूर्खतापूर्ण कार्य हो । यी दुई मार्गलाई त्यागी मध्यम मार्गमा लाग्न सकेमा हाम्रो जीवन सुखमय हुनेछ ।
चतुआर्य सत्य (दुःखको कारण तृष्णा र तृष्णा नाश गर्न सके दुःख नाश गर्न सकिने र दुःख नाश गर्नको लागि आठ वटा आर्यमार्गहरू अपनाउनुपर्ने) बारे उहाँले व्याख्या गर्नुभयो । यही सिलसिलामा उहाँले आर्य अष्टाङ्गिक मार्ग (मध्यम मार्ग) को व्याख्या गर्दै भन्नुभयो, “मानिसले आफूलाई सुखी बनाउनको लागि आठ वटा आर्य अष्टाङ्गिक मार्गहरूलाई अपनाउनुपर्छ ।” ती मार्ग वा बाटाहरू यसरी छन्–
१) सम्मादिटिठ (एक आपसमा ठीक तरिकाले समझदारी हुनुपर्छ ।)
२) सम्मासङ्कप्प (एक आपसमा राम्रो नियत र सङ्कल्प राखी काम गर्नुपर्छ ।)
३) सम्मावाचा (जुन व्यक्तिसँग कुराकानी गर्दा पनि होसियारीपूर्वक मनमा राम्रो भावना लिएर ठीक तरिकाको बोलीवचन प्रयोग गर्नुपर्छ ।)
४) सम्माकम्मन्त (आफ्ना शरीरबाट गरिने कार्यहरू सही र पवित्र मन लगाई ठीक तरिकाले गर्नुपर्छ ।)
५) सम्माआजिवन (आफ्नो तर्फबाट कर्सलाई हानि नपुग्ने गरी ठीक तरिकाले धन कमाई जीविका चलाउन ।)
६) सम्मावायाम (आफ्नो शरीर, वचन र मनलाई खराब कार्यबाट हटाउने र हरेक क्षण न्यायपूर्वक धार्मिक कार्यमा अभ्यासरत राख्ने ।)
७) सम्मासति (आफ्नो चित्तलाई हरेक क्षण राम्रो क्षेत्रमा होसियार राख्ने अर्थात् ठीक तरकाले स्मृतिवान् रहने ।)
८) सम्मासमाधि (चञ्चल चित्तलाई हरेक क्षण राम्रो कार्यमा एकाग्र गर्न अभ्यास गर्ने ।)
यसरी यी आठ वटा आर्य मार्गहरूलाई होसियारीपूर्वक अपनाउन सकेमा मात्र हामीले आफ्नो मनलाई सन्तुलनमा राख्न सक्नेछौँ । फलस्वरूप हामीले सङ्कुचित्त र पूर्वाग्रही बनिरहेको मनलाई मिथ्यादृष्टिबाट मुक्त पारी ठीक बाटोमा ल्याउन सक्नेछौँ । सही समझदारी र राम्रो नियत भएको व्यक्तिले मात्र आफ्नो गल्तीलाई आफैले महसुस गरी आफूले आफैलाई चिन्न सक्नेछ । यस्तो व्यक्तिको मनमा सेवाभावले ठाउँ लिई उसको चित्त शुद्ध बन्नेछ ।
हामीलाई थाहा भएकै कुरा हो, धम्मपदमा उल्लेख भएको बुद्धवचनले भनिरहेको छ, “नियत खराब गरी कसैले कुरा ग¥यो वा काम ग¥यो भने गाडा तान्ने गोरुको पछाडि गाडाको पाङ्ग्राले पछ्याउँदै आएजस्तै त्यस व्यक्तिको पछाडि पनि दुःख पछ्याउँदै आउनेछ ।”
उदाहरणको लागि एक घटना प्रस्तुत गर्दै छु । एकजना नवयुवक वैद्य रोगीहरूको उपचारार्थ गाउँ–गाउँमा घुम्न जाँदा आँखा दुखेकी एउटी महिला भेटेछ । उपचारको कुरा हुँदा यस महिलाले आफ्नो गरिबी र विवशता प्रस्तुत गर्दै भनिछन्, “पैसा कति लाग्छ होला ? मैले त औषधिमूलोको लागि प्रशस्त खर्च गर्न सक्दिनँ । यदि तपाईँले मेरो रोग निको पारिदिनुभयो भने मेरो परिवार र मसमेत तपाईँको घरमा दासी बन्नेछु ।” यसरी आँखाको रोग निको हुने आशा मारिसकेकी त्यस महिलाले सोच्दै नसोची वाचा गरिन् । त्यस कुशल वैद्यको अमूल्य ओषधिले महिलाको आँखा निको भएछ । आफ्नो रोग निको भएकोमा खुसी भएकी त्यस महिलाले सोचिन्, “यदि वैद्यले यो कुरा थाहा पायो भने त मसहित मेरा परिवारले उसको दास र दासीको रूपमा जीवन बिताउनुपर्नेछ ।” अब प¥यो फसाद । सोच्दै नसोचिकन वाचा गरेको कुराले पिरल्यो उनलाई । यस समस्याबाट उम्कने उपाय सोच्दै नियत बिगार्न थालिन् र सोचिन्, “यदि वैद्यले सोध्यो भने मेरो आँखा ठीक भएको छैन भनी दिउँला नि । अनि त त्यसै समस्या हटिहाल्छ नि । किन बेकारको पिर लिइराखेको होला मैले पनि ।”
वैद्य आयो । महिलाले आफ्नो पूर्वयोजनाअनुसार झूठो कुरो गरी दासी बन्ने समस्याबाट उम्कन खोजिन् । तर, वैद्य चानचुने होइन रहेछ । आँखा जाँच्ने बित्तिकै थाहा पायो उसले त्यस महिलाको आँखा ठीक भइसकेको छ भनेर । महिलाले झूठो कुरो गरेको कारणले रिसायो त्यस वैद्य । तर, वैद्यले आफ्नो सक्कली रूप देखाएन । उसले पनि आफ्नो नियत बिगार्न थाल्यो र त्यस महिलाले आफूलाई छकाएको कारणले उनलाई बदला लिने योजना बनाउँदै उसले भन्यो, “बहिनी, यदि तिम्रो आँखा ठीक भएन भने मैले यो असल खालको औषधि ल्याइदिएको छु । यो औषधि राख्ने बित्तिकै तिम्रो आँखा तेजिलो भई राम्ररी प्रस्ट देख्न सक्नेछौ ।”
वैद्यको बहुरूपीय चाललाई बिचरी महिलाले चिन्न सकिनन् । किनभने, त्यस वैद्यले राम्रै मुखले राम्रै मिजासले कुरो गरेको थियो । त्यसैले त्यस महिला लोभिइन् र सोच्न थालिन्, “त्यस्तो अमूल्य औषधि त राख्नै पर्ला । अनि, मेरो आँखा पहिलेभन्दा अझ राम्ररी देखिनेछ ।”
यति सोची उनले जब त्यस औषधि आँखामा हालिन्, तब उनले आँखा देख्न छोडिन् । बिचरी महिला अन्धी बनिन् । यसरी महिलाले नियत बिगारी झूठो कुरा गरेको कारणले उनी अन्धी बनिन् ।
महिलाले आफूलाई छकाउन खोजेको झोकमा नियत बिगारी औषधिको रूपमा विष दिने वैद्यले पनि एक दिन अन्धो नै बनी दुःख झेल्नुपर्‍यो ।
यसरी राग र द्वेषको वसमा परी अज्ञानतावस जसले आफ्नो नियत बिगार्छ, उसले त्यसको फल नराम्ररी भोग्नैपर्ने रहेछ । २५०० वर्ष अगाडिको बुद्धको यो शिक्षा आजसम्म सान्दर्भिक नै रहेको देखिन्छ ।
बुद्धले भन्नुभएको छ, “मलाई गाली ग¥यो, मलाई कुट्यो, मलाई हराइदियो र मेरो लग्यो भनी जसले आफ्नो मनमा बारम्बार चिन्तन गर्दैन, त्यस व्यक्तिको मनमा वैरभाव शान्त हुनेछ ।”
बुद्धको यस उपदेश सत्य हो । तर, साधारण व्यक्तिको त के कुरा सांसारिक भयदेखी विरक्तिएर आएका धेरैजसो भिक्षुहरूले पनि यस शिक्षालाई पालन गर्न सकिरहेको देखिँदैन । किनभने धेरै गार्‍हो छ आफूलाई गरेको गाली र आलोचना चुपचाप सहने कुरो । आफ्नो सम्पत्तिलाई बाढी, पहिरो, आगो, चोर र सरकारले हरण गर्ने बेलामा सहन नसकी मानिस पागलसमेत बन्न सक्छ । तर, जुन मानिसले यस्तो अवस्थामा पनि आफ्नो चित्त विचलित नपारी सहन सक्छ, ऊ महापुरुष बन्न सक्छ ।
उदाहरणको लागि एक पटक बर्मा सरकारले जनताको सम्पत्ति राष्ट्रियकरण गर्दा थुप्रै साहुमहाजन रोगी बने भने कतिपयले आफ्नो ज्यानसमेत गुमाए । तीमध्ये एक मुसलमान व्यापारीले आफ्नो सम्पत्ति त्याग्न नसकी रुँदारुँदा आँखा गुमाउन पुग्यो ।
तर, सत्यनारायण गोयन्काले बुद्धको यस उपदेशलाई व्यवहारमा प्रयोग गरी त्याग चित्त बढाउन सकेको कारणले उनी आज विश्व विपश्यनाचार्यको रूपमा महापुरुष बन्न सफल भए । आफ्नो सम्पत्ति राष्ट्रियकरण हुँदा उहाँले आफ्नो मन विचलित नपारी भन्नुभयो, “घ्यू केमा पोख्यो दालमा पोख्यो । जुन देशबाट कमाएँ, त्यही देशको लागि दिन पायो । आफू मर्दा लिएर जाने के छ र ?”
यसरी नै म बर्मामा ध्यान गर्न जाँदा एकपटक आगलागी भएको थियो । आगो ध्यान केन्द्रसम्म पुग्न लागेको थियो । तर, सरकारी प्रयासले गर्दा समयमा नै आगो नियन्त्रण गरियो । थुप्रै घरहरू आगलागी भएका थिए त्यसबेला । तीमध्ये ध्यानकेन्द्रमा सेवा गर्ने एक स्वयम्सेवकको घर पनि आगलागीमा परी सखाप भएको थियो । तर, त्यस व्यक्तिले रत्तिभर शोक गरेको देखिएन । अनि, मानिसहरू अचम्म मान्दै यसको कारण सोध्दा उनले जवाफ दिए, “संसार अनित्य छ । सबै प्राणी र चीजवस्तु एक दिन नास हुनका लागि नै उत्पत्ति भएका हुन् । त्यसैले नास भयो भनेर रुनुमा के फाइदा ?”
उनको यस्तो अचम्मको कुरो सुनी ध्यान गर्न आउने व्यक्तिहरूले उसलाई थुप्रै लुगाफाटा र आर्थिक सहायता दिई मद्दत गरे ।
म पनि बुद्धको यही उपदेशलाई मनन गर्दै बहुजन हिताय बहुजन सुखायको लागि उपदेश दिँदै गर्छु । एकपटक मैले लेखेको बुद्धवाद भन्ने पुस्तकलाई आलोचना गर्दै यो बुद्धवाद होइन, अश्वघोषवाद हो भनी एक वरिष्ठ भिक्षुले आलोचनातर्फ लेख लेखे । तर, म न दुःखी भएँ न हाँसो नै उठ्यो यस घटनाले ।
जब आफ्नै चेलाहरूले बेफ्वाँकमा आलोचना गर्दै आफूमाथि कटुशब्द प्रयोग गरे, त्यसबेला मलाई सार्‍है दुःख लाग्यो । तैपनि, बुद्धको सही वचनलाई स्मरण गर्दै त्यसलाई बिर्सेर शान्ति लिने गर्छु, पूर्णरूपमा त होइन ।
बुद्धले भन्नुभएको छ, “अरूले के गर्‍यो, के गरेन भनेर अर्काको दोष खोजेर हिँड्नुभन्दा पहिला आफूले के गरेँ के गरिनँ भनी आफ्नो दोष खोज्नु वेस छ अर्थात् अर्काको गल्ती खोज्नुभन्दा अगाडि आफूमा त्यस गल्ती छ वा छैन भनी विचार गर्नु ठीक हुनेछ ।
तर, आजकल धेरैजसो मानिसहरू अर्काको दोष खोजी चर्चा गर्दै दिन बिताउन पाए ज्यादै रमाइलो मान्ने गर्छन् । म पनि होस गुम्ने बेला यसरी नै अर्काको निन्दा चर्चा गर्न पछि हट्दिनँ । त्यसैले हरेक समय आफूलाई होशियारी नै राख्नु पर्दोरहेछ यदि शान्ति र सुख मनपर्छ भने ।
फेरि बुद्धले भन्नुभएको छ, “अर्काको गाई चराउने गोठालाले दूध पिउन नपाएजस्तै धर्मको कुरामात्र गर्ने तर आचरण गर्न नजान्ने व्यक्तिले धर्मको मीठो रस चाख्न पाउँदैन । तर, थोरैमात्र धर्मको कुरा गरे पनि आफ्ना चित्तबाट राग द्वेषरूपी क्लेश हटाई यस लोक र परलोकको चिन्ता हटाउन सक्ने व्यक्तिले धर्मको मीठो र शान्ति फल चाख्न पाउँछ ।”
यसरी बढीभन्दा बढी मानिसहरूको चित्त शुद्ध बनाउनको लागि बुद्धले ४५ वर्षसम्म विभिन्न स्थानहरूमा उपदेश दिनुभई धर्म प्रचार गर्नुभयो । यी अमूल्य शिक्षारूपी उपदेशलाई मानव समुदायले मनन गरी आ–आफ्नो आचरणमा प्रयोग गर्नसक्यौँ भने हामीले आ–आफ्नो चित्त परिशुद्ध गर्नसक्नेछौँ ।
अझ आफू वरिपरिको वातावरणमा मानिसहरू असल र शुद्ध छ भने आफ्नो चित्त परिशुद्ध पार्न बढी सहयोग मिल्ने रहेछ । बुद्धले भन्नुभएको छ, “जन्मदा हरेक मानिसले पवित्र मन लिएर जन्मेको हुन्छ । तर, प्रदूषित वातावरणले खराब मनोवृत्तिका व्यक्तिहरूले गर्दा उसको मन बिस्तारै अपवित्र हुन थाल्छ । यसो भए पनि धर्म सत्सङ्गत र अभ्यास राम्ररी गर्न सकेमा चित्तलाई पवित्र पार्न सकिन्छ । यही सिलसिलामा बुद्धकालीन घटना प्रस्तुत गर्न लागेको छु ।
एकदिन पुस महिनाको कठ्याङ्ग्रिएको जाडोमा एकजना बाहुन बाजे मिरमिरे बिहानीमा नदीको चिसो पानीमा थरथर काँप्दै स्यू…स्यू…….. कराउँदै नुहाइरहेका थिए । त्यही समयमा अनाथपिण्डिक महाजनकी दासी पूर्णिका पनि नदीमा पानी भर्न आएकी थिइन् । त्यस्तो मुटु काँप्ने जाडोमा नुहाइराख्ने बाजेलाई देखी अचम्म मान्दै उनले सोधिन्, “बाजे, म त आफ्ना मालिकहरूले पानी ल्याउन अर्‍हाएकाले जाडो सहँदै पानी भर्न आएकी । तर, तपाईँ यस्तो जाडोमा कसले भनेर नुहाउँदै हुनुहुन्छ ? श्रीमतीले फोहोरी भनी गाली गर्लिन् भन्ने पिरले नुहाइरहनुभएको हो कि क्या हो ?”
पूर्णिकाको यस्तो कुरा सुनी बाहुन बाजेले भने, “होइन श्रीमतीको डरले नुहाएको कहाँ हो र ? म त यस नदीको पानीले मेरा पापकर्महरू बगाएर लैजावस् भनेर एकाबिहानै नुहाउँदै छु । तिमीलाई थाहा छैन र ? नदीमा नुहाएपछि पाप बगेर जान्छ भन्ने कुरा ?”
बाहुन बाजेको यस्तो अचम्मको कुरा सुनी पूर्णिका दासी भन्छिन्, “हैन ए बाजे, नदीले पाप बगाएर लान्छ भने त यसले हाम्रो धर्म पनि त बगाएर लान्छ नि । हैन र ? पानीको स्वभाव नै बग्नु र बगाउनु हो भने यसले त सबै बगाएर लान्छ नि । पानीले यो धर्म हो यो पाप हो भनेर कसरी छुट्याउन सक्छ र ? अझ पानीमा डुबेर बस्ने कतिपय माछा, भ्यागुतो, सर्प र गोहीहरू त मानिसहरूभन्दा पनि धर्मात्मा हुने भए नि । होइन र ? त्यसैले मानिसहरूलाई भन्दा यिनीहरूलाई मान्यता दिनुप¥यो नि त्यसो भए त । बाजे, मैले सुनेअनुसार त पानीमा डुब्दैमा धर्मात्मा बन्ने होइन । मुख्य कुरो त आफ्नो चित्तलाई शुद्ध पार्नुपर्छ । बेइमान नबनी इमानदारीका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्छ । आफूलाई पनि भलो हुने अरूलाई पनि भलो हुने काम गर्नसक्यो भनेमात्र धर्मात्मा बन्न सकिने रहेछ ।”
पूर्णिकाको यस्तो ज्ञानगुणले भरेको कुरो सुनी बाहुन बाजे त निद्राबाट बिउँझिएको मानिसजस्तो भई टोलाइरहे । अनि बिस्तारै भन्न थाले, “होइन ए नानी ¤ तिमीले त ज्यादै गहकिलो र अनौठो कुराहरू गर्दै छौ । कसरी र कहाँबाट सिक्यौ तिमीले यस्ता कुरा ?”
पूर्णिकाले भनिन, “यी कुरा त मैले आफ्नै मालिकको घरमा बसी बसी सिकेकी । हाम्रो मालिक (अनाथपिण्डिक महाजन) ले बराबर भगवान् बुद्धलाई विभिन्न भोजन निमन्त्रण गर्नुहुन्थ्यो । त्यही बेला बुद्धले ज्ञानगुणका विभिन्न उपदेशहरू दिनुहुन्छ । अनि म पनि मौका पारी फुर्सद निकाली उपदेश सुन्ने गर्छु । त्यही भएर मैले यस्तो शिक्षा जानेकी नि ।”
बाहुन बाजेले सोचे, “खै मेरा बाजे बराजुको पालादेखि बुद्धको उपदेश सुन्नु हुन्न भन्ने कुरामात्र सुनिराखेकोले होला, मैले कहिले पनि बुद्धको ज्ञान जान्न पाइएन । तर, आज बल्ल यी पूर्णिका नानीको मुखबाट बुद्धको अमूल्य ज्ञान सुन्ने मौका पाएँ । ज्यादै मनासिब कुरो भन्नुहुँदोरहेछ । बुद्धले त मेरो आँखाको पर्दा नै उघारिदियो यो ज्ञानले त ।”
यति सोची बाहुन बाजे बुद्धको उपदेश सुन्न विहारमा पुगे । बुद्धसमक्ष भएभरको कुरा पोखी ज्ञानगुणका कुरा सुन्ने जिज्ञासा राखे । उनी भगवान् बुद्धबाट अझ बढी ज्ञानगुणका कुराहरू सिक्न सफल भए । मानिसहरू किन पशु बन्छन्, किन राक्षसी व्यवहार गर्छन् ? उनीहरू किन प्रेतजस्ता हुन्छन् ? यी सबैको एउटै कारण छ, त्यो हो अशुद्ध र प्रदूषित चित्त । त्यसैले, ज्ञानको तहबाट माथि उक्लन र शान्त सुखमय जीवन जिउनका लागि पहिला आफ्ना चित्त पवित्र पार्नुपर्दोरहेछ । बाहुन बाजेले राम्ररी थाहा पाए, पानीमा नुहाउँदा त शरीरमात्र शुद्ध हुनेरहेछ तर मन शुद्धिको लागि बुद्ध शिक्षालाई अर्थात् धर्मलाई व्यवहारमा उतार्नुपर्दोरहेछ ।
त्यसैले, हामीले पनि बुद्ध शिक्षालाई व्यवहारमा उतार्दै आ–आफ्नो चित्त शुद्ध गरी आचरण सुधार्न सिकौँ । अनिमात्र ठीक तरिकाले बुद्ध पूर्णिमा मनाएको ठहरिनेछ ।

लेखकः भिक्षु अश्वघोषज्यू

स्रोत :अर्हत्

Leave a Reply

Your email address will not be published. Required fields are marked *