चुनौतीपूर्ण परिस्थितिमा राजनीति गञ्जागोल हुनु विडम्बना : राजेश हमाल

मनोरञ्जन विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० जेठ

यतिबेला कोरोना महामारीबाट विश्व नै प्रभावित भएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । दैनिक संक्रमितको संख्या बढ्दो छ भने २ सय जनाले दिनहुँ ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा जनताको आशाको केन्द्र राजनीतिक भने भद्रगोल छ । कोरोना महामारीविरुद्ध लड्न राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने समयमा सबै सत्ताको लुछाचुडीमा अल्झिएका छन् ।
अभिनेता राजेश हमालले महामारीले उत्पन्न गराएको विषम परिस्थितिमा नेपाली राजनीति गञ्जागोल हुनु ठूलो विडम्बना रहेको बताएका छन् । आइतवार फेसबुकमा एक भिडियो साझेदार गर्दै उनले नेपाली राजनीतिज्ञ, सरकारले आजको प्राथमिकता के हो ? भन्ने कुरामा मनन् गरेर त्यसको गम्भीरता देखाउनु पर्नेमा नेपालको राजनीतिक किचलोमा फसेकोमा चिन्ता व्यक्त गरेका छन् ।
हमालले नेपालको राजनीतिज्ञ र सरकारलाई अहिलेको प्राथमिकतामा ध्यान दिन आग्रह दिँदै भनेका छन्, ‘हाम्रो प्राथमिकता भनेको अहिले जुन विषम परिस्थितिबाट नेपाल गुज्रिरहेको छ, त्यसबाट कसरी पार गराउन सकिन्छ ? कसरी उम्काउन सकिन्छ भन्नेमै सम्पूर्ण उर्जा र बुद्धि विवेक खर्चिनु पर्ने हो । तर, त्यो नभएर हाम्रो सरकार, राजनीतिक राजनीतिक मुद्दामै रुमल्लिरहेको छ ।’
यो समयमा कूटनीतिज्ञ च्यानलहरुलाई सशक्त रुपले अगाडि बढाए विश्वको ध्यान नेपालमाथि अझ सशक्त रुपमा जाने उनले बताएका छन् । अहिलेको परिस्थितिबाट उम्कन सक्दो धेरै नेपालीलाई खोप लगाउनु र भ्याक्सिनेटेड गर्नु रहेको उनको भनाई छ । एक तिहाई जनतालाई सरकारले कोभिडको खोप लगाउन सके अहिलेको विषम परिस्थितिबाट पार लाग्नसक्ने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *