राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ६ जेठ

नेमकिपाबाट राष्ट्रियसभा सदस्य उम्मेदवारमा कृष्णबहादुर तामाङ

आज जेठ ६ गते हुने बागमती प्रदेशबाट अन्य समूहको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उम्मेद्वार बनाइएको छ । उक्त निर्वाचनमा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाइएको छ भने नेका, माओवादी, माधव नेपाल समूह र जसपाको तर्फबाट खिमलाल देवकोटा संयुक्तलाई उम्मेदवार बनाइएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन
कानुन र निर्वाचन आचारसंहितामा हेलिकप्टर र हवाईजहाज प्रयोग गरी निर्वाचन गतिविधि गर्न नपाइने प्रावधान छ । तर, नेपाली आमसञ्चारमा तस्वीरसहित समाचार प्रकाशित भयो – ‘हेलिकप्टर चढेर बादलको उम्मेदवारी दर्ता ।’ एमाले, नेका, माओवादी र जसपाका उम्मेदवारहरूले गएको निर्वाचनमा हेलिकप्टर र अन्य सवारीसाधन दुरुपयोग गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका थिए । यी पार्टीहरूले अबको निर्वाचन ऐन र आचारसंहितामा हेलिकप्टर र हवाईजहाज प्रयोग गर्न पाउने र उम्मेदवारले अझै थप रकम खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गर्दै छन् ।
अमेरिकाका वरिष्ठ प्राध्यापक एवम् प्रख्यात लेखक नोम चोम्स्कीले अमेरिकामा रिपब्लिकन र डेमोक्रेट दुई ओटा पार्टी होइन, एउटै कर्पोरेट (धनाढ्य) पार्टी भएको खुलाएका थिए । नेपालमा पनि सरकारमा गएका पार्टीहरूको नाम फरक भए पनि उनीहरूको घाँटी कर्पोरेटहरूसँग जोडिएको पुष्टी भइरहेको छ । एमालेका प्रम केपी ओलीका आर्थिक सल्लाहकार खर्बपति मोतिलाल दुगड हुन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरभेटी खराब ठेकेदार शारदाप्रसाद अधिकारी हुन् । नेकाबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य खर्बपति विनोद चौधरी हुन् । चौधरी २०६४ सालको संविधानसभामा एमालेबाट सदस्य भएका थिए । जसपामा पनि पार्टीलाई करोडौँ चन्दा दिएर समानुपातिक सदस्य हुनेहरू भएका समाचार पुरानै हो ।

राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ ।

बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् । संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ ।

कसले भोट हाल्न पाउँछ ?

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताए । ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ’, उनले भने ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वागमती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।

यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।

यसैगरी राष्ट्रियसभामा रिक्त अर्को एक पदका लागि लुम्बिनी प्रदेशमा यही जेठ १७ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी–५ का चन्द्रबहादुर खड्का र दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *