उपत्यकामा तत्कालै थप्न सकिन्छ यी संस्थामा ५००० हजार कोभिड शय्या

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ बैशाख

कोभिड बिरामीहरु आत्तिदै आउँछन् तर अस्पतालमा बेड नै छैन। अक्सिजन तत्कालै दिएर उपचार दिनुपर्ने बिरामीलाई बेड छैन भनेर उपचारबाट बञ्चित गर्नुपर्ने हाम्रो बाध्यता छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकले स्वास्थ्यखबरसँग भनेको भनाई हो यो।

अस्पताल परिसरमा स्वास्थ्यखबरको टोली पाँच घण्टा बस्दा तत्कालै बेडमा भर्ना गर्नुपर्ने अवस्थाका ११ जना संक्रमितले बेड पाएनन्। जसमध्ये तीन जना आकस्मिक कक्षमा पालो कुरिरहेका थिए भने दुई जना लामो समयसम्म एम्बुलेन्समा नै अक्सिजन लिएर बसिरहेका थिए।

त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमितहरु शय्याका लागि पालो कुरेर बस्छन्।

‘अहिले धेरै जस्तो बिरामी अक्सिजन आवश्यक पर्ने खालका छन्,’ टिचिङ अस्पतालको कोभिड वार्डमा कार्यरत एक नर्सले भनिन्, ‘बिरामीहरु पालो कुररेर बेड पर्खिरहेका हुन्छन्। बेड नपाएर कुरेका बिरामीको पिडा चुपचाप हेर्नु बाहेक हामीसँग विकल्प नै छैन।’

पाटन अस्पतालको ज्वरो क्लिनिकमा आफ्नो कोरोना संक्रमीत श्रीमान्लाई लिएर आएकी एक महिलाले अस्पतालले भर्ना नै नलिएको गुनासो गरिन्।

‘घरमा अक्सिजन लेभल ८० भन्दा तल हुन्छ, यहाँ ल्याएपछि भर्ना नै गर्नुपर्दैन भन्छन्,’ उनले दुखेसो पोखिन्, ‘डाक्टरले जाँच्दासम्म त ठिकै हुन्छ, घरलगेपछि फेरी गाह्रो भयो भन्नुहुन्छ। अस्पतालले भर्ना लिदैन, उहाँ निलो भइसक्नु भयो।’

कोरोना संक्रमितको उपचार हुने हरेक अस्पतालमा अहिले यस्तै दृष्यहरु देख्न पाइन्छ। संक्रमणका कारण तत्कालै अक्सिजन चाहिने बिरामी अस्पतालमा कहिले बेड पाइन्छ भनेर कुरिरहेका हुन्छन्। कति संक्रमितको त बेडको खोजीमा अस्पताल चहार्दा चहार्दै मृत्यु समेत  भइरहेको छ।

नेपालमा कोरोना संक्रमणको दर तथा मृत्युदर दिन प्रतिपिदन तिव्र रुपमा बढ्दै गइरहेको छ। मंगलबार मात्र नेपलमा ७ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण देखिएकामध्ये २० प्रतिशतलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। यो आधारमा हेर्दा पनि मंगलबार थपएिका ७ हजार ५८७ मध्ये १ हजार ५१८ जनालाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। अस्पताल भर्ना गर्नुपर्ने यस्तो संख्या हरेक दिन थपिने क्रममा छ। तर अस्पतालमा बेड पाउनै मुस्किल छ।

पछिल्लो समय देखिएको कोरोनाको नयाँ भेरियन्ट थप संक्रामक रहेकाले संक्रमित आइसियु र भेन्टिलेटरमा भर्ना हुने दर पनि बढेको छ। स्वास्थ्य मन्त्रालयकै तथ्यांक अनुसार मंगलबार देशभर ७९५ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

कोरोना संक्रमणको दर बढ्दै जाँदा थप बेडको व्यवस्थापन गर्ने विषयमा विज्ञले सुझाव दिँदै आइरहेका छन्। काठमाडौं उपत्यकामा मात्र नभई संक्रमण धेरै देखिएका बाँके, मोरङ, सुनसरी, चितवन, दाङ, रुपन्देही लगायतका जिल्लाहरुमा पनि बेड थप्न सुझाव आइरहेको छ।

ती जिल्लामा बेड नपाउँदा धेरै संक्रमित हेलिकोप्टर चार्टर गरेर भए पनि काठमाडौं उपत्याका आइरहेका छन्। तर यसरी आएका संक्रमितले बेड पाउन सकिरहेका छैनन्।

पछिल्लो समय कोरोना संक्रमण देखिएकामध्ये धेरैजसोलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको कोरोना उपचार गरिरहेका अस्पतालले बताएका छन्। अक्सिजन चाहिने धेरै बिरामीले समयमा नै उपचार नपाउँदा मृत्यु समेत भइरहेको तथ्यांकले देखाएको छ।

कोरोना महामारीको समयमा संक्रमितहरु बेडका लागि भौतारिनु सरकारी निकायको गैरजिम्मेवारीपनको परिणाम भएको जनस्वास्थ्य विज्ञको धारणा छ।

अहिलेको अवस्थामा सरकारले  सम्भव भएसम्मका स्थान तथा अस्पतालका नयाँ भवनहरुलाई प्रयोगमा ल्याएर बिरामीको उपचार  व्यवस्थापन गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षित बताउछन्।

‘कतिपय ठाउँहरुमा अस्पताल बनाउन संरचना तयारी अवस्थामा रहेको तर, संचालन नआएको पाइएको छ, अहिलेको अवस्थामा सरकारले ती ठाउँहरुलाई जतिसक्दो छिटो व्यवस्थापन गरी अक्सिजन र शय्या सहित तयारी राख्न जरुरी छ।’

सरकारले चाहने हो भने उपत्यकाका विभिन्न अस्पताल तथा संस्थाहरुमा तत्कालै ५ हजारभन्दा बढी कोभिड शय्या बनाउन सक्ने विज्ञहरुले बताउँदै आइरहेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका पूर्व कर्मचारी तथा विज्ञहरुले त कोभिड शय्या विस्तार गर्न सक्ने संस्थाहरुको नाम समेत स्वास्थ्य मन्त्रालयमा दिइसकेका छन्।

पूर्वाधार तथा अन्य संरचना पुरा भइसकेका ती संस्थाहरुमा केही जनशक्ति थपेर तत्कालै कोभिड शय्या बनाउन सक्ने सुझाव आइरहदा पनि सरकार संक्रमितको मृत्यु गनेर बसिरहेको भन्दै आलोचना भइरहेको छ।

विभिन्न अस्पताल, विज्ञहरु र स्वास्थ्य मन्त्रालयका केही कर्मचारीसँगको कुराकानीका आधारमा सरकारले चाहने हो भने केही दिनमै यी संस्थामा ५ हजारभन्दा बढी कोभिड शय्या बनाउन सक्ने सम्भावना छ।

कहाँ कति कोभिड शय्या थप्न सकिन्छ?
वीर अस्पतालको नयाँ भवनमा ५०० शय्या
त्रिवि शिक्षण अस्पतालको सुरेशवाग्ले क्यान्सर सेन्टरको नयाँ भवनः १००
नेपाली सेनाको नयाँ भवन (वीर अस्पताल नजिक) २००
काठमाडौं नेसनल मेडिकल कलेजको भवनमा ३००
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सको दहचोकस्थित भवनमा ३००
भक्तपुर खरिपाटीमा २५०
कीर्तिपुर आयुर्वेद अस्पतालमा २५०
प्रसूतिगृहको भवन कुपण्डोलमा १००
जनमैत्री अस्पताल १२०
राधास्वामी भवनमाः ८०
उपत्यकामा रहेका मेडिकल कलेजहरु (केएमसी, किष्ट, एनएमसी) प्रति मेडिकल कलेजमा ४०० का दरमा जम्मा १२००
मानसिक अस्पताल २५
गंगालाल अस्पताल ५०
उपत्यकामा रहेका निजी अस्पतालहरुमा २०००

मन्त्रालयले आवश्यकता अनुसार कोभिड शय्या थप गर्दै गइरहेको र अन्य विकल्पका विषयमा पनि छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

‘संक्रमण दर बढ्दै गएकाले विभिन्न अस्पतालहरुमा बनेका नयाँ संरचनामा समेत बेड व्यवस्थापन गरी संक्रमितको उपचार गर्ने तयारी गरिरहेका छौं,’ डा गौतमले भने।

उनका अनुसार महांकालमा रहेको नेपाली सेनाको नयाँ भवन, वीर अस्पतालको नयाँ बनेको सर्जिकल  भवन, प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलमा रहेको नयाँ भवन, नेसनल मेडिकल कलेजको डिल्लीबजारको भवन, मनमोहन अस्पतालको  दहचाकोमा रहेको भवन, खरिपाटीमा रहेको आइसोलेसन सेन्टरमा शय्या व्यवस्थापन गरी संक्रमतिको उपचार गर्ने तयारी सुरु गरिएको छ।

यस्तै काठमाडौं महानगरपालिकाले समेत विभिन्न वडाहरुमा शय्या व्यवस्थापन गरिरहेको छ।

उपत्याकाबाहिर पनि थप हुँदै
काठमाडौं उपत्यका बाहिर पनि बेडहरु थप भइरहेको उनले जिकिर गरे। तर यी सबै अस्पतालहरुमा कति बेड व्यवस्थापन गर्न लागिएको हो भन्ने जानकारी भने आफूलाई नभएको हुने बताए।

‘सबै ठाउँमा हामीले बेड व्यवस्थापन गर्दैछौं, यति नै बेड व्यवस्थापन  गर्न लागिएको भनेर अहिले नै भन्न सक्दिन,’ उनले भने, ‘स्पेस भएसम्म व्यवस्थापन गर्ने हो। अहिले हामीसँग देशभर २० हजार बेड हुनसक्छ।’

उनले सबै अस्पताललाई बेड व्यवस्थापन गरेर संक्रमितको उपचार व्यवस्थापन गर्न निर्देशन दिइसकेको बताए।

‘सरकाले संचालन गर्ने स्थानीय पालिकामा भएका ५ बेड देखि केन्द्रीय अस्पताल र मेडिकल कलेजहरुमा हुने ५ देखि ६०० बेडका अस्पतालहरुमा  अहिले ५० प्रतिशत बेड कोरोना संक्रमतिका लागि छुट्याउने भनिएको छ,’ डा गौतमले भने, ‘त्यही  अनुसार अस्पतालहरुले बेड थप गर्दै गइरहेका छन्।’

उनले सबै निजी तथा सरकारी मेडिकल कलेजहरुसँग स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि सम्झौता गरिसकेको र मेडिकल कलेजहरुमा पनि शय्या व्यवस्थापन भइरहेको जानकारी दिए।

यस्तै अन्य निजी अस्पतालसँग पनि कोरोना संक्रमतिको उपचार व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले सम्झौता गरी बिरामीको उपचार गरिएको र हालसम्म संक्रमितको उपचार व्यवस्थापन भइरहेको डा गौतमले बताए।

‘१५ बेडसम्मका अस्पताल पालिकाले, २०० बेडसम्मका अस्पताल प्रदेशले र २०० भन्दा माथिका तथा संघीय अस्पताल तथा मेडिकल कलेजसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरेर बिरामी पठाएको छ,’ डा गौतमले भने, ‘यसरी गर्दा अहिलेसम्म जेनतेन पुगेकै छ। तर, यसले मात्र नपुग्न सक्छ।’

उनले अस्पतालमा बेड भएर मात्र कोरोना संक्रमण न्युनिकरण नहुने उनले बताए। संक्रमणको चेन रोक्न मानिसहरु आफैं सचेत हुनुपर्नेमा उनले जोड दिए। जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने हो भने संक्रमण धेरै कम हुने उनले बताए।

‘जनस्वास्थ्यको मापदण्ड फलो गर्ने कुरामा कुनै जोड छैन, सरकारलाई नंग्याउन, सरकारलाई ठिक पार्न खाली  भेन्टिलेटर र बेडको कुरा मात्र उचालिएको छ,’ उनले भने, ‘त्यो गलत हुन्छ, अहिले गर्नुपर्ने कुरा एउटा छ हामी अर्को बाटो हिडिरहेका छौं, स्वास्थ्य मन्त्रालयले इमान्दारिताका साथ काम गरेको छ।’

उनले मास्क लगाउने, दुई मिटरको  दुरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्न जोड दिनुपर्ने बताए। उनले एकैपटकमा अस्पतालमा बेड नबन्ने जिकिर गरे।

‘एकैपटकमा अस्पतालको बेड बन्दैन, २० लाख एकैदिन पोजिटिभ भए बेड बनाउन सकिन्छ?’ अनि सरकारले गरेन भन्दिने?’ उनले आक्रोशित हुँदै भने, ‘सरकारले बिरामी पार्देको हो? सरकारले दुई मिटरको दुरी कायम नगर भनेको हो? सरकारले मास्क नलगाउनु भनेको हो? जनताको जिम्मेवारी केही छैन?’

कोरोना संक्रमितले एकदिनमै २५/३० हजार उपचार खर्च गर्नुपर्ने अवस्था आएको भन्दै डा गौतमले मास्क किनेर लगाए पछि धेरै रकम खर्चेर उपचार गर्न पर्ने अवस्था नआउने समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *