न्यूज अपडेट
भक्तपुर, २४ फागुन

नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले वर्गीय मुक्तिले मात्र शोषित महिलाहरुमाथिको शोषण अन्त्य हुने बताउँदै महिलामाथिको दमनको कारण पूँजीवाद भएको बताए ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कामदार महिलाहरुको आवाजलाई सम्मान व्यक्त गर्दै महिलाद्वारा उत्पीडित पुरुषको बारेमा पनि सोचको आधार बनाउन आवश्यक भएको धारणा राखे । उनले यो पूँजीवादी विचारको विकृति भएको स्पष्ट पारे ।

शिक्षिका सुनिता राउतले पुरुषहरुलाई चौकिदारी गर्न मात्र सिकाउने पितृसत्तात्मक सोचलाई पुरुषहरुले पनि परिवर्तन गर्नु आवश्यक भएको बताइन् ।
शिक्षिका रुपकेशरी उलकले सुत्केरी हुँदा महिलाहरुलाई बेतलबी बिदा दिनु राम्रो होइन भन्दै यसमा परिवर्तन आवश्यक भएको औल्याइन् ।
आयोजक समितिका सदस्य सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकहरु ग्याहेन्द्र प्रसाद दाहाल, विश्वेश्वर मानन्धर, शिक्षिकाहरु श्रीया पहिजु, गिता खनाल, रामलक्ष्मी अवाल, पुजा शाक्य, निरु ताल्चाभडेल, पवित्रा शाहीले पनि आफ्नो धारणा व्यक्त गरे ।