भारतमा चर्केको किसान आन्दोलनबाट हामीले के सिक्ने ?

अन्तर्राष्ट्रिय अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

कृष्ण प्रजापति
भक्तपुर, ६ मंसिर


मित्रराष्ट भारतमा महिना दिन अगाडिदेखि विभिन्न माग राखी केन्द्र देखि गाउँसम्म किसान आन्दोलन जारी छ । खास गरी सरकारले किसान र मजदुरहरुको ज्याला घटाउने गरी ल्याएको कानूनको बिरोधमा सो हडताल तथा आन्दोलन अगाडि बढाएको हो । नयाँ कानूनमा किसानहरुको आफ्नो कृषि उत्पादन सरकारी थोक बजारमा नभई निजी क्रेताहरुलाई बेच्न बाध्य बनाउने जस्ता प्रावधान रहेको छ । त्यसले गर्दा जति मात्रामा किसानहरुले आफ्नो कृषि उपजको लाभ पाउनु पर्ने थियो, त्यो हुने भएन । किसानहरु काम गरी उत्पादन गर्ने तर बजारमा लगेर बेच बिखन गर्ने दलाली वा बिचौलीयाहरुले बढी नाफा कमाउने स्वार्थी कुरा त्यस कानूनले प्रदान गर्यो । त्यसको बिरोधमा किसानहरुले आफ्नो उत्पादनको मूल्य आफैले तोक्न पाउनु पर्ने जस्ता नारा लगाएर सडक अवरुद्ध गरिरहेका हुन् । किसान आन्दोलनबाट अब भारतको कुनै पनि प्रान्त अछुटो रहन सकेको छैन ।

पछिल्लो समय आएर महात्मा गान्धीको अनुशरण गरी किसानहरु एक ठाउँमा भेला भएर भोक हडताल गरिरहेका छन् । उनीहरु बिहानदेखि पेट खाली गरी निराहार साँझ ५ बजेसम्म सडक नछोडी धर्ना दिइरहेका छन् । यसबाट केन्द्रीय सरकारलाई किसानहरुको माग पूरा गर्न लगाउन चर्को दवाब सिर्जना भएको छ । एक त किसानहरुले खाना नै नखाइकन हडताल गरिरहेको अवस्था छ । अर्कोतिर सरकारले दवाव दिने र लछार पछार गर्ने, लाठचार्ज गर्ने तथा पानीको फोहरा प्रयोग गरेर पनि हुल नियन्त्रणको लागि विभिन्न विधि अपनाउने कामहरु भइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष सो कानून फिर्ता लिन दवाव दिने उद्देश्यले अगाडि बढेको आन्दोलनले उच्च रुप लिइरहेको छ । आन्दोलन उचाईमा पुगेसंगै ती किसान बिरोधी कानूनको बारेमा विभिन्न देशले समेत टिक्का टिप्पणी गर्ने गरेका छन् । नेपाली जनमानसले त तराई क्षेत्रमा भइरहेको उखू किसानहरुको आन्दोलनसंग पनि भारतका किसानहरुको आन्दाेलनलाई लिने गरेका छन् । साना तिना स्वर सुनेर त्यसको आधारमा नीति नियम बनाउने परिपाति नै नभएको हाम्रो जस्तो देशमा भारतमा भएको किसान आन्दोल र त्यसको लोकप्रियताले केही प्रभाव रहनु स्वाभाविक पनि हो । साना तिना ब्यापार ब्यवसाय गरी खाने ब्यापारीदेखि सरकारी कर्मचारी, प्रहरी, सेना र सर्वसाधारणले पनि किसानहरुले अन्न उत्पादन गरेपछि मात्रै खान पाउँछन् । त्यसैले पनि कृषि उत्पादन गर्ने किसान सबै भन्दा महत्वपूर्ण पक्ष हो ।

भगवान बुद्धले पनि कृषि पेशा भनेको सबैभन्दा उच्च र प्रतिस्थित पेशा हो भनेर प्रशंसा गरेका छन् । त्यस्तो मर्यादित पेशामा बसिरहेका दशैं हजार किसानहरु गत सोमबार भारतमा एक दिने भोग हडतालमा उत्रिए । किसान जनताको माग सम्बोधन नगर्नु भनेको खाने खाना जस्तो पबित्र कुरा पनि उत्पादनमा ह्रास ल्याउनु जस्तो भएको छ । संसारका मानिसहरु सबै अन्न खाएर खाद्य पदार्थ निलेर नै भोक मेटाएर जिउने गर्दछन् । यस्तो संवेदनशील काम गरिरहेका उत्पादनशील किसानहरुका खिलापमा सरकार गएर उत्पादन गर्ने कृषकहरुको छाक कटौती गर्नु कम अन्याय भने होइन । किसानहरुको मेहनत पसिनाको सबैतिर स्वागत हुनु पर्ने थियो । तर मेहनत गरी खाने वर्गलाई नै शोषण गर्ने सोच केही पूँजीवादी ब्यक्तिहरुले बनाएको हुनुपर्दछ । यस्तो घडीमा नेपालले पनि किसान आन्दोलनलाई समर्थन गरी सो अनुसार काम अगाडि बढाउनु पर्ने देखिन्छ ।

नेपालमा अखिल नेपाल किसान संघ भने जस्तै भारतमा भारतीय किसानहरुको विभिन्न खालका संगठनहरु छन् । त्यसमा पनि हाल नेपाल भित्र चल्ने गरेको तराईको उखू किसानहरुको आन्दोलन र अन्य कार्यहरुमा नेपाली युवाहरुको सक्रियताले आज यो आन्दोलन छिट्पुट मात्रै भएपनि आगामी दिनहरुमा कसैले पनि यो कामको लागि भने हौसला नै दिने निश्चित देखिएको छ । अहिले उखू किसानहरुको आन्दोलन जस्तै गहुँको लागि र आलुको लागि किसानहरुलाई चाहिने रासायनिक मल सरकारले ल्याउन सकिरहेको छैन । ठूल्ठूला ब्यापारी र ब्यवसायीहरुलाई ठेक्का दिएर सरकार कृषि कार्यको उन्नतिबाट भाग्ने गरेकाले पनि यो वर्ष अन्य वर्ष भन्दा निकै ढिला मात्रै कृषक मल आउन थालेको हो । अहिले पनि बजार कृषि मल पूर्ति गर्न सकिरहेको छैन । निकै ढिला भएर पनि त्यसको बिरोध गर्न राजनीतिक पार्टीहरु अगाडि आउने गरेका छैनन् । समय छँदै किसान वर्गको लागि मलजल ब्यवस्था गर्ने जिम्मेवारी लिएको हाम्रो देशको सरकार निकम्बा साबित भएको छ । किसानमारा सरकार भनेर हिजो जसरी नारा लग्ने गरेको थियो । अहिले सबै मौन छन् । कोरोनाले मौन भएको हो भनूँ भने निकै मानिसहरु भेला भएर भोज भतेर, बिहेदेखि अत्यन्तै ठूल्ठूला सिनेमाहल पनि निर्वाध रुपमा चल्न थालेका छन् ।

यस्तो अन्याेलको स्थितिमा पहिला जस्तै पम्पले खेतमा पानी पटाउने, कृषि मलको समयमै बन्दोबस्त गर्ने नभए जुत्ताको माला लगाएर किसान नेता भनिने नक्कली किसान नेता वा बचत संस्थाका अध्यक्ष वा शोषक बिरुद्ध जाई लाग्ने गरिन्थ्यो । अहिले त मानिसमा संवेदना हराएको अवस्था छ । नजिक आफू रहेको मान्छे छ भने मल पाउने नभए मल छैन भन्ने हिजोको चलन आज पनि यथावत नै छ । त्यसैले पनि निर्दोषीलाई दोष लगाउनु र दोषीलाई निर्दोष सावित गरी आफू नामूद हुनुमा पनि चुनौती थप्ने गरेका छन् । किसानहरुको नैसर्गिक अधिकारको रुपमा रहेको पानी समयमा खेतमा पटाउने, नयाँ नयाँ बिउ बिजनको बन्दोबस्त लगायतका कृषि उत्पादनसँग सम्वन्धित क्षेत्रमा सरकारले पनि उचित अनुदान र मल कारखाना खोल्ने जस्तो कुरालाई अगाडि बढाउन सकेको खण्डमा किसान जनताको दीर्घकालीन समस्या समाधानको लागि केही गरेको महसुर यो बेला जनताले गर्न आइने थियो । होइन भने हामी साधारण किसान, मजदुर र काम गरी खाने जनताका कुरालाई एक अर्काको बीच आरोप प्रत्यारोप मै सीमित गरी निकै विवादमा तानिने छन् । कृषि उत्पादनसँग सम्वन्धित विभिन्न पक्षको ध्यान दिने कुरा पनि निकै पर पुग्नेछ ।
समय छँदै केही गर्ने हो भने मानिसले प्रगति गर्न सकिन्छ । होइन सही समयमा यता उता लाग्ने तर समय बिते पछि मात्रै अन्य प्रगतिका कुरा गर्ने गर्न थाल्यो भने सो कुरालाई थप बधावा दिनु पर्ने हुन सक्दछ । आर्थिक रुपमा कमजोर हामी साधारण किसान वर्गले पनि अन्य मुलुकमा भएको आन्दोलनबाट प्रेरणा लिएर नेपालभित्र पनि केही गर्नु पर्दछ है भन्ने भावना जगाउन सक्नु पर्दछ । यसको लागि तमाम युवा पुस्ताले वर्तमान समयको माग अनुसार नयाँ कृषि औजार, मल काखाना र अन्य कुराको लागि पनि संघर्ष थाल्न ढिला भइसकेको महसुस गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *