पूँजीवादी राजनीतिक संस्कार

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ६ मंसिर


हिजोसम्म राजनीतिलाई समाज सेवाको दृष्टिकोणले हेर्ने गरिन्थ्यो । आज त्यो सम्भावना भएन । आदर्श समाज निर्माणको लागि भनी राजनीति गरिने समय हामी माझ अब रहेन । कर्ममा विश्वास गर्ने कर्मनिष्ठहरु नै कम्युनिष्ट हुने हिजोको चलनमा गिरावत आएको छ । त्यसैले आज सच्चा कम्युनिष्ट खोज्नका लागि यताउता खोज्न जानुपर्ने स्थिति आइपरेको छ । देशका मै हुँ भन्ने कम्युनिष्ट पार्टीहरुले जनयुद्धपछिको शान्ति सम्झौतामा सेना समायोजनको बहानामा करोडौं होइन कि अरवौंको सम्पत्ति जुराएको समाचार प्रकाशमा आएपछि जनताले कम्युनिष्ट कसलाई भन्ने कसलाई मान्ने भन्ने अन्योलपूर्ण स्थिति आइपरेको छ । आज यीनै कम्युनिष्ट शक्ति सत्तामा पुगेर पूँजीवादी अर्थतन्त्रको आधारमा देशलाई अगाडि बढाउने मार्ग तय गरेको पाइन्छ । त्यसले गर्दा पनि जनयुद्ध पूँजीवादी सत्ता प्राप्त गरेर सिंहदरवार व बालुवाटार छिर्ने निहुँ बाहेक अरु होइन भन्ने स्पष्ट देखिन्छ ।

यति साँघुरो घेरामा कम्युनिष्टको नाममा कमाऊ अभियान चलिरहँदा पनि पटक्कै बिरोधका स्वर अगाडि नआउनुमा सारा जनता पुँजीवादको गर्वभित्र समाजवादको जन्म हुन्छ भनी चूप लागेको पो हो कि भन्ने मनसाय प्रकट भइरहेको भान पर्दछ । तर कुरो त्यसो होइन । साना तिना आन्दोलन, अभियान र चेतनामुलक कार्यक्रमहरुबाट नै भोलिको विशाल आन्दोलनको लागि बल मिलेको हुन्छ । आज भ्रष्टाचार र अनियमितताको जालो सबैतिर व्यास्त छ र सबैलै त्यस अनुसार भाग पाएर सबै चूप छन् । जब आपसमा पनि भाग खोसिन्छ । पाइने भाग आफूले खान नपाउने स्थिति आउँछ अनि आपसमा झै झगडा अगाडि बढेर एक अर्काको पोल पोलापोल हुने समय आइलाग्छ । त्यो बेला भने को कति पानीमा छ भन्ने कुरा सबैसामु स्पष्ट हुने नै छ । आज खोल ओढेर कम्युनिष्ट र कांग्रेस भनी भ्रष्टाचार र अनियमित काम गरी पार्टीमा हैसियत कायम राख्न सफल केही व्यक्ति त्यो बेलासम्म अवश्य पाखा लाग्नु पर्ने स्थिति आइलाग्छ । ऐतिहासिक काम कुराहरुलाई बुझेर आफ्नो चरित्र निर्माण गरी अगाडि आएका केही नेताहरु बाहेक आउरे बाउरे र समर्थकहरुले केही पनि नपाउने भएपछि को सदा उही पार्टी, राजनीति र अवसर पाउँला कि भनेर बस्ने गर्छन् र ? त्यो समयसम्म जो जहाँ लाग्नु पर्ने हो त्यतातिर गइसकेको हुनेछन् ।

आम नागरिकको बुझाई के छ भने राजनीतिका पात्रहरु नै खराब भएर यो अस्तव्यस्त स्थिति कायम भएको हो । तर पार्टी राजनीतिभित्र यदि अनुशासन र पारदर्शीतालाई जोड दिने हो भने त्यो संस्कार र संस्कृति भोलि सत्तामा गए पनि वा कुनै राजनीतिक पद धारण गरेपनि उनमा कायम नै रहन्छ । स्वार्थी र व्यक्तिगत हैसियत बढाउने हेतूले मात्रै राजनीति र समाजसेवाको क्षेत्रमा लागेका केही मानिसहरु बाहेक समाज अगाडि लान जोड तोडले काम गरिरहेका धैरै मानिसहरुलाई अनुशासन र मर्यादाको पालनाले धेरै नै फाइदा पुर्‍याउने गर्दछ । अख्तियारले भ्रष्टाचार उन्मूलन आयोग जस्तै भएर काम गर्न सकेको खण्डमा यहाँ अनियमितता साह्रै कम हुने थियो र विश्व माझ शान्ति क्षेत्रको नामले परिचित यो नेपाल भूमि चाँडो विकास हुने थियो । तर सडक, बती र बाटोघाटो मात्रै विकास होइन मानिसको जीवनस्तरलाई अगाडि बढाउन सक्नु पर्दछ ।

पूँजीवादी सत्तामा गएर आमूल परिर्वनको आशा गर्नु बेकार हो । त्यो सम्भव नै छैन र कुनै पनि विश्वब्रम्हाण्डमा त्यो कुरा लागू पनि भएको छैन । सुविधा खोजेर असुविधा हटाउन सकिन्न । कठीन संघर्षमा निरन्तर अगाडि बढेर मात्रै व्यवस्था परिवर्तन गर्न सकिन्छ । जनयुद्ध र आन्दोलन यस्तै हतियार थियो । तर विदेशीको इशारामा चल्ने गरेका कैयौं आन्दोलन पछि गएर तुहेर गएको धेरै उदाहरणहरु छन् । कुनै सत्ताकै भरमा सञ्चालन गरिरहेका विद्रोह र आन्दोलन अनि विदेशीले उक्साएको भरमा भएका कयौं आन्दोलन र युद्धहरु विना निष्कर्ष टुंगिने गरेको उदाहरणहरु हामी पाउँछौं । २०५२ देखि २०६२ सम्म एक दशक लामो नेपालको जनयुद्ध पनि त्यस्तै थियो । आफ्ना जनतालाई चेतना बढाएर सचेत र संगठित गरी गरेको आन्दोलन र युद्ध भए एक दशक अवधिभित्र सफल भइसक्थे । तर पछि भारतकै इशारामा १२ बुंदे सहमति भारतमै बसेर भयो । त्यसले गर्दा कति आशाले आफ्नो ज्यान गुमाएका, छोराछोरी गुमाएका र अंगभंग भएकाहरु भने आज बिचल्लीमा परिरहेको अवस्था छ ।

त्यसैले पनि अरुले होइन कि पार्टी पंक्तिभित्रैका मानिसहरुले पनि यति धेरै क्षतिको हर हिसाव खोइ भनी नेतृत्व पंक्तिमा क्षतिपूर्ति माग गरिरहेको अवस्था छ । तर निश्चित व्यक्ति वा वर्ग धनी भएर उच्च पदमा पुगेपछि दुःख भोगेका, यातना सहेका र सेनाको गोलीले भुटेका परिवार आज सम्म पनि राहतको प्रतिक्षामा छन् । वास्तविक राहत पाउनका लागि आज पनि ती व्यक्तिहरु सत्तासँग होइन कि भगवानसँग पुकारिरहेका छन् । यो समयमा पार्टी एकीकरणले केही चर्चा पाउने गरेको छ । १५ महिनाको अवधिमा धेरै नै असन्तुष्टि बाहेक कुनै चिन्ह पाउन नसकेको एकीकरण भएको नेकपाले आज पुनः जिल्ला जिल्ला र गाउँ गाउँमा सिट मिलान र पदाधिकारी मिलानको लागि सकस देखिएको अवस्था छ । यस्तो हुनुमा पार्टी अनुशासन नहुनु र पैसा र बलको भरमा चुनाव जित्ने चलन र भारतमा जस्तै गुण्डा, ठग र तस्करका नाइकेहरले नै सदन कब्जा गर्ने जस्तो स्थिति नेपालमा पनि देखा परेकाले नै हो भन्दा फरक पर्दैन ।

भारतमा मात्रै फुलनदेवी जस्ता डाकूनीले सदनमा प्रवेश पाएको खबर हामी अखबरमा पढ्ने गथ्र्यौं । तर अब नेपालमा पनि प्रहरीको मोष्ट वान्टेड लिष्टमा परेको मान्छे, हत्या आरोपमा ज्यान मुद्दा परेर प्रहरीले खोजिरहेको व्यक्ति र कुख्यात गुण्डाहरु समेतले चुनाव जितेर आएका धेरै उदाहरण छन् । पैसाको भरमा चुनाव जित्ने र सिद्धान्त र कुनै दर्शनको आधारमा प्रचार अगाडि बढाइनु भन्दा पनि जागिर दिने, केटी मिलाई दिने, बिवाह गराउने तथा पैसाको लोभ देखाएर वा भोज भतेरमा पैसा खर्च गरेर चुनाव जित्ने गलत सोच अगाडि आएकाले पनि यो समयमा सच्चा मानिसहरु होइन कि गलत मानिसहरुले नै बढी जसो चुनाव जित्नको लागि तयार हुने गर्दछ ।
भारतमा ८० प्रतिशत अपराधी र भ्रष्टाचारीहरु सदनमा जित्ने गरेको तथ्यांक अगाडि आएको छ भने नेपालमा पनि सोही मात्रामा चुनावमा भ्रष्ट गुण्डा र हत्याराहरु नै अगाडि देखिन्छ । राम्ररी मूल्यांकन गरी हेर्ने हो भने आधि जस्तो अपारदर्शी रुपमा पैसा कमाइरहेका, भ्रष्टाचारी, तस्करी एवं कालो धन्दा गर्ने वर्गबाटै यो चुनाव जितेर आएका छन् । उनीहरुबाट देशले के आशा गर्नु र ? त्यसैले निर्वाचन निष्पक्ष र धाँदलीरहीत गर्न निर्वाचन आयोगलाई अझ स्वच्छ र मार्यादित संस्थाको रुपमा विकास गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *